१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

ट्रंक लाइनले उद्योगीलाई समस्या

उद्योगीकै सहमतिअनुसार जोडिदएका हौं : प्राधिकरण
माधव ढुंगाना

(भैरहवा) — मागबिनै विद्युत् प्राधिकरणले उच्च दरको विद्युत् लाइन (ट्रंक लाइन) जडान गरेपछि यहाँका १६ ठूला उद्योग चर्को महसुलको मारमा परेका छन् । ट्रंक लाइनअन्तर्गत प्राधिकरणले असुल्न खोजेको महसुलका कारण उद्योग सञ्चालन गर्न समस्या हुन थालेको उद्योगीको गुनासो छ । 

उद्योगमा जडित ट्रंक हटाएर पुरानै ३३ केभीएको साधारण लाइन जडान गरिदिन उद्योगीहरूको माग छ । उच्च दरको लाइनबाट परिरहेको समस्याबारे पटकपटक सरकारी निकायलाई जानकारी गराए पनि कसैले चासो नदेखाएको उनीहरूको गुनासो छ । समस्या समाधानका लागि पहल नगरे उद्योग बन्द गरेर आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन् ।


‘हामीसँग सल्लाहै नगरी प्राधिकरणले एकतर्फी रूपमा उच्च दरको ट्रंक विद्युत् लाइन जडान गरिदिएको हो,’ पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहूले भने, ‘प्राधिकरणले अहिले हाम्रा उद्योगलाई ट्रंक विद्युत् लाइनअन्तर्गत समावेश गरी महँगो महसुल असुल्न थालेको छ ।’ ०७४ चैतमा जडित उक्त लाइनको बिल प्राधिकरणले गत कात्तिकमा दिएको उनले बताए । प्राधिकरणले १९ महिनाको महसुल बक्यौता देखाएर करोडौं असुल्ने तयारी गरेको उनको दाबी छ ।


साधारण लाइनको महसुलभन्दा ट्रंक विद्युत्को महसुल दर ६६.६७ प्रतिशत महँगो पर्ने गरेको उद्योगीले बताए । उक्त दरको विद्युत् महसुल तिरेर कुनै पनि उद्योग सञ्चालन गर्न नसकिने व्यवसायीको भनाइ छ । चर्को विद्युत् महसुल तिरेका यहाँका उद्योगले सस्तो दरको महसुल तिरेका मुलुकका अन्य समान प्रकृतिका उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन् । विद्युत् प्राधिकरणले आफ्नो आन्तरिक विद्युत् लोडको व्यवस्थापन मिलाउने क्रममा उद्योगलाई मार पर्ने गरी समस्या उब्जाएको उनीहरूको आरोप छ ।


भैरहवा–बुटवल उद्योग करिडोरअन्तर्गत सडकदेखि पूर्वतर्फका पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज, पञ्चकन्या स्टिल प्रालि, सोना प्याकेजिङ, एसआर स्टिल प्रालि, नव नेपाल प्लास्टिक इन्डस्ट्रिज, शुभलक्ष्मी पोलिमर्स, नेसनल ट्रेड रबर इन्डस्ट्रिज, सोना पोलिमर्स इन्डस्ट्रिज, यशोदा फुड प्रालि, प्रिया प्याकेजिङ इन्डस्ट्रिज, एजी हेल्थ इन्डस्ट्रिज, एभरेस्ट रोलिङ इन्डस्ट्रिज प्रालि, लुम्बिनी फ्लोर मिल, फेरो स्टिल प्रालि र लुम्बिनी पीएसी इन्डस्ट्रिज प्रालि ट्रंक विद्युत् लाइन जडानबाट समस्यामा परेका हुन् । ‘पहिला मेरो उद्योगमा मासिक १५/१६ लाख रुपैयाँ विद्युत् महसुल आउँथ्यो । ट्रंक विद्युत् लाइनअन्तर्गत कात्तिकको बिलमा २६ लाख रुपैयाँ महसुल आएको छ,’ एभरेस्ट रोलिङ इन्डस्ट्रिज प्रालिका सञ्चालक अरुण गोयन्काले भने, ‘अब मैलै समान खालका अन्य उद्योगसँग कसरी प्रतिस्पर्धा गर्न सक्छु ! कि सामान्य लाइन जडान हुनुपर्‍यो, नत्र उत्पादन बन्द गर्नुपर्छ ।’ माग सुनुवाइ नभए उद्योग बन्द गरेर तालाचाबी विद्युत् प्राधिकरणलाई बुझाउने योजना रहेको उनले बताए ।


प्राधिकरणको भैरहवा वितरण केन्द्रले आन्तरिक लोड व्यवस्थापन तथा फेज सिक्वेन्स मिलाउने क्रममा सबै उद्योगलाई १० देखि १५ दिनसम्म बन्द गर्न लगाएको थियो । त्यसपछि ०७४ को चैतमा ट्रंक विद्युत् लाइन जडान गरेको थियो । त्यसको बिल गत कात्तिकमा पठाएको हो । ट्रंक विद्युत् लाइन जडान गर्ने बेलामा विद्युत् महसुल दरबारे कुनै जानकारी नगराइएको र चौबीसै घण्टा विद्युत् प्रसारण हुनुका साथै कम भोल्टेज, ट्रिपिङ (बारम्बार विद्युत् आपूर्ति बन्द हुने) लगायतका समस्या समाधान हुने आश्वासन प्राधिकरणले दिएको व्यवसायीले बताए ।


उद्योगीले माग नगरेको विद्युत् लाइन प्राधिकरणले जबर्जस्ती जडान गरेर महँगो विद्युत् दर असुल्न खोजेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेको आरोप छ । ‘सरकारले उद्योगीलाई सहयोगको वातावरण बनाउनुको साटो आफ्नो खर्च धान्न जसरी पनि कर संकलन गर्ने ध्येयले निचोर्ने प्रवृत्ति देखायो,’ उनले भने ।


विद्युत् प्राधिकरण भैरहवा शाखाले भने ती उद्योगका विद्युत् ट्रंक लाइनमा परिणत भएपछि सबै उद्योगलाई प्राधिकरणले पत्राचार गरी जानकारी गराएको र ट्रंक लाइन विनियमावली एवं प्राधिकरणको बोर्ड बैठकले निर्णय गरेअनुरूप विद्युत् महसुल लगाइएको जनाएको छ । ट्रंक लाइन जोडिएपछि बिहान र बेलुका गरी दैनिक आठ घण्टा उद्योग बन्द गरी विद्युत् प्रयोग नगर्न सबै उद्योगलाई पत्राचार गरेको र सबैले सहमति जनाएकामा पछि हेर्दा उद्योग बन्द नगरी चौबीसै घण्टा विद्युत् प्रयोग गरिएको पाइएपछि त्यही आधारमा ट्रंक बिलिङ गरिएको प्राधिकरण भैरहवा शाखाका प्रमुख जितेन्द्र झाले बताए ।


प्रकाशित : पुस १५, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?