२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

विदेशी लगानी भित्रिनेभन्दा बाहिरिने बढी

नेपालमा एफडीआईको आकार करिब २ खर्ब रुपैयाँको छ; यो विदेशबाट आएको पुँजी र त्यसले कमाएको सञ्चित नाफासमेत हो
यज्ञ बञ्जाडे

काठमाडौँ — गत आवमा १३ अर्ब रुपैयाँ विदेशी लगानी नेपाल भित्रियो । विदेशी लगानीको लभांशबापतको रकम भने २८ अर्ब रुपैयाँ मुलुकबाट बाहिरियो । पछिल्ला वर्षमा विदेशी लगानीको यस्तै प्रवृत्ति बढ्दो छ । ०६६/६७ देखि ०७५/७६ सम्मको १० वर्षमा ८५ अर्ब १५ करोड रुपैयाँ कुल विदेशी लगानी नेपाल भित्रिएकामा लभांश शीर्षकमा १ खर्ब ४ अर्ब १३ करोड रुपैयाँ मुलुकबाट बाहिरिएको छ ।

विदेशी लगानी भित्रिनेभन्दा बाहिरिने बढी

अपेक्षित रूपमा विदेशी लगानी आउन नसक्नु तर विगतमा गरिएको विदेशी लगानीको प्रतिफल राम्रो रहेकाले भित्रिनेभन्दा बाहिरिने रकम धेरै हुँदै गएको हो । राष्ट्र बैंकका अनुसार विदेशी लगानीको लभांशबापत नेपालबाट हरेक वर्ष औसत साढे १० अर्ब रुपैयाँ बाहिरिँदै आएको छ । लगानी भने औसतमा साढे ८ अर्ब आएको देखिन्छ । विदेशी लगानी बढाउन अनेक प्रयास भए पनि अपेक्षित रूपमा लगानी बढ्न भने सकेको छैन ।


पछिल्ला तीन वर्षदेखि लगातार विदेशी लगानीभन्दा बढी लभांश बाहिरिएको सरकारी तथ्यांक छ । १० वर्षमा तीन वर्ष एफडीआई घटेको छ भने सात वर्ष बढेको छ । चालु आर्थिक वर्षको पहिले चार महिनामा भने विदेशी लगानी लगातार बढ्दो छ, जसमध्ये गत कात्तिकसम्म ४ अर्ब ९२ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । गत वर्ष एफडीआई करिब साढे २५ प्रतिशतले घटेको थियो ।


आव ०७२/७३ मा लभांशबापत वार्षिक साढे ४ अर्ब रुपैयाँ बाहिरिएको थियो । त्यसपछिका वर्ष लभांश बाहिरिने क्रम एक्कासि बढेर १४ अर्ब ७८ करोड रुपैयाँ पुग्यो । त्यस वर्ष नेपालमा १३ अर्ब ५० करोड रुपैयाँ एफडीआई आएको थियो । अघिल्लो वर्षको तुलनामा १५४ प्रतिशतले बढेर आव ०७४/७५ मा ३७ अर्ब ६४ करोड रुपैयाँ लभांश बाहिरियो । उक्त वर्ष नेपालमा १७ अर्ब ५१ करोड रुपैयाँ एफडीआई आएको थियो । अघिल्ला दुई वर्षमा एनसेल, नबिल बैंकलगायत केही ठूला कम्पनीको लभांश बाहिरिएको देखिन्छ । चालु आर्थिक वर्षको पहिले चार महिनामा लभांशबापत १ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको छ ।


विदेशी लगानी रहेका व्यवसायले राम्रो प्रतिफल आर्जन गरिरहेकाले एफडीआईमार्फत भित्रिनेभन्दा बाहिरिने रकम धेरै भएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । ‘यो राम्रो संकेत हो,’ भट्टले भने, ‘पछिल्लो समय विदेशी लगानीकर्तामा नेपालमा लगानीको प्रतिफल राम्रो छ भन्ने सन्देश गएको छ ।’ पुराना लगानीले पनि लभांश आर्जन गर्ने भएकाले पछिल्लो समयमा वार्षिक रूपमा भित्रिने लगानीभन्दा बाहिरिने लभांश धेरै देखिएको उनले बताए ।


कति लभांश बाहिरियो भनेर हेर्नुभन्दा त्यो लगानीले कति कमाइ गर्‍यो भनेर कुल उत्पादन (आउटपुट) का आधारमा विश्लेषण गर्नुपर्ने राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाको भनाइ छ । ‘विदेशी लगानीबाट धेरै उत्पादन भएको रहेछ भने केही बढी लभांश गए पनि राज्यलई असर पर्दैन,’ थापाले भने, ‘आउटपुट थोरै रहेको लगानीबापत पनि धेरै लभांश बाहिर जानु फाइदाजनक हुँदैन ।’ नेपालमा सञ्चार, वित्तीयलगायत क्षेत्रमा रहेको विदेशी लगानीका उद्योगले राम्रो उत्पादन प्राप्त गरेकाले लभांश पनि धेरै लगेको उनले बताए ।


विदेशी लगानी भएका केही पुराना उद्योग व्यवसायले राम्रो नाफा कमाउँदै आएकाले पछिल्ला वर्षमा बाहिरिने लभांश बढ्दै गएको छ । विदेशी लगानी अपेक्षित रूपमा बढ्न नसकेकाले अहिले लभांशको हिस्सा धेरै देखिएको जानकारहरू बताउँछन् । विदेशी लगानी भएका वित्तीय क्षेत्र, हवाई यातायात, पर्यटनलगायत क्षेत्रमा सञ्चालित व्यवसायले राम्रो आय प्राप्त गरेका छन् । मुनाफा बढ्दै जाँदा लाभांश पनि बढेको छ । गत वर्ष एनसेललगायत केही वित्तीय संस्थाबाट ठूलो रकम बाहिरिएको थियो । एफडीआईबापतको लभांश तत्काल नबाहिरिने भएकाले त्यसबाट मुलुकमा योगदान पुगेको हुन सक्ने जानकारहरूको तर्क छ ।


प्रतिबद्धताभन्दा कम लगानी

एक दशकमा नेपाल आएको विदेशी लगानी सोही अवधिको प्रतिबद्धताभन्दा थोरै हो । यसले विदेशी लगानी प्रतिबद्धताअनुसार आएको छैन भन्ने देखाउँछ । आव ०६६/६७ मा लगानीकर्ताले ९ अर्ब रुपैयाँ विदेशी लगानी प्रतिबद्धता गरेका थिए । सो वर्ष २ अर्ब ८५ करोड रुपैयाँ मात्र लगानी भित्रियो । प्रायः वर्षमा प्रतिबद्धताभन्दा कम मात्र लगानी आएको छ । आव ०७४/७५ मा ५५ अर्ब ७६ करोड रुपैयाँ लगानी प्रतिबद्धता भएकामा १७ अर्ब ५१ करोड रुपैयाँ मात्र आएको छ । यस्तै आव ०७५/७६ मा २५ अर्ब ४८ करोड लगानी प्रतिबद्धता रहेकामा करिब आधा मात्र लगानी भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ ।


धेरै विदेशी लगानी उद्योगमा

तथ्यांकअनुसार सबैभन्दा धेरै विदेशी लगानी औद्योगिक क्षेत्रमा आएको छ । गत वर्ष नेपाल भित्रिएको विदेशी लगानीको संरचनाले पनि यही देखाउँछ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्ष १५ अर्ब १४ करोड रुपैयाँ विदेशी लगानी उद्योग क्षेत्रमा आएको छ । यो क्षेत्रमा पर्ने सिमेन्ट, जलविद्युत्लगायतमा धेरै लगानी आएको छ ।


सो अवधिमा कृषिमा ४२ लाख, सेवा क्षेत्रमा ८७ करोड ७३ लाख र अन्यमा ६२ करोड २८ लख रुपैयाँ विदेशी लगानी भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ ।


विदेशी लगानी धेरै भारतबाट

हाल नेपालमा एफडीआईको आकार करिब २ खर्ब रुपैयाँको छ । यो विदेशबाट आएको पुँजी र त्यसले कमाएको सञ्चित नाफासमेतको जोडफल हो । राष्ट्र बैंकको तथ्यांकअनुसार नेपाल आएको विदेशी लगानीमध्ये सबैभन्दा बढी भारतबाट आएको छ । यो चुक्ता पुँजीको आधारमा हो । सञ्चित नाफासमेत जोड्ने हो भने भारतभन्दा अरू राष्ट्रको लगानी धेरै देखिन्छ । चुक्ता पुँजी खास विदेशबाट आएको रकम हो ।


भारतपछि क्रमशः चीन, आयरल्यान्ड, सिंगापुर, जापान, यूएईलगायत राष्ट्रबाट धेरै लगानी नेपाल आएको छ । हाल नेपालमा तीन सय हाराहारी उद्योगमा विदेशी लगानी आएको राष्ट्र बैंकको तथ्यांक छ । राष्ट्र बैंकले विदेशबाट लगानीका रूपमा आएको ऋण र सञ्चित रकम (कोष) लई जोडेर आउट स्ट्यान्डिङ एफडीआई (लगानीमा रहेको विदेशी लगानी) गणना गरेको छ । लगानीमा रहेको पुँजी हेर्दा सबैभन्दा धेरै लगानी ट्याक्स ह्याभन मानिने ‘वेस्ट इन्डिज’ राष्ट्रबाट आएको देखिन्छ ।


अघिल्लो वर्ष कुल लगानीको करिब साढे ४६ प्रतिशत एफडीआई ती राष्ट्रबाट आएको थियो । यो सबै सेवा क्षेत्रमा आएको हो । कर तिर्नु नपर्ने र आम्दानीको स्रोत नखोजिने भएकाले सो राष्ट्रबाट भित्रने एफडीआई धेरै रहेको जानकारहरू बताउँछन् ।

प्रकाशित : पुस १४, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?