कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

१२८ दिनअघि नै धावनमार्गको काम सकियो

चिनियाँ राजदूत होउ यान्छीले थुप्रै रात अनुगमन गरेकी थिइन्
सुरज कुँवर

काठमाडौँ — चिनियाँ कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ करपोरेसन (एभिक इन्टरनेसनल) ले मुलुकको एक्लो अन्तर्राष्ट्रिय विमानस्थलको ३१ वर्ष पुरानो धावनमार्ग जीर्णोद्धारको काम समयसिमाभन्दा १ सय २८ दिनअघि नै सम्पन्न गरेको छ ।

१२८ दिनअघि नै धावनमार्गको काम सकियो


एभिकलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले १६ महिना (०७५ चैत ११ देखी ०७७ बैसाख २३) भित्र धावनमार्गको निर्माण सम्पन्न गर्न सुम्पेको थियो । तर, एभिकले नौं महिनामै ३ हजार ५० मिटर लामो धावनमार्ग झन्डै २० सेन्टिमिटर खनेर उच्च गुणस्तरको बिटुमिन राख्ने काम तथा ट्याक्सी–वे र ड्रेनेजको मर्मत तथा एयरफिल्ड लाइटको काम सम्पन्न गरेको छ ।

एभिकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि चिनिया राजदूत होउ यान्छीको उपस्थितीमा आयोजित कार्यक्रममा विमानस्थलको धावनमार्ग, ट्याक्सीवे, एयरफिल्ड लाइट र ड्रेनेजको काम सम्पन्न भएको प्रमाणपत्र प्राधिकरणलाई हस्तान्तरण गर्‍यो ।

एभिकले नेपाल सरकारले बुधबारदेखि थाल्ने नेपाल भम्रण वर्ष २०२० अभियानलाई सघाउन तोकिएको समयसिमा भन्दा ५ महिना अगावै काम सकेको जनाएको छ । ‘यो परियोजनामा अत्याधिक धेरै कामदार र उपकरणको प्रयोग गर्‍यौं,’ एभिकले भनेको छ, ‘नेपाल सरकारले पनि परियोजना निर्माणमा गरेको समन्वयले हामी तोकिएको समयसिमाभन्दा १ सय २८ दिनअघि नै काम सम्पन्न गर्न सफल भयौं ।’

यो परियोजनाको लागत ४ अर्ब २७ करोड रुपैयाँ थियो । नौ महिनाको अवधिमा एभिकले सय हाराहारीमा चिनियाँ र २ सय ५० नेपाली गरी ३ सय ५० प्राविधिक तथा कामदार र करिब सयवटा आधुनिक उपकरण प्रयोग गरेको थियो । यसले अधिकांश उपकरण चीनबाटै ल्याएको थियो ।

अब सुधार गरिएको धावनमार्गमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीका २ सय ३० टन क्षमताका जहाजले अवतरण तथा उडान गर्न सक्नेछन् । यसअघि प्राधिकरणले १ सय ९० टनभन्दा बढी उडान तौल निषेध गरेको थियो । चिनियाँ कम्पनीले धावनमार्गको आयु २० वर्षसम्म हुने भनेको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै पर्यटन मन्त्री भट्टराईले चिनियाँ कम्पनीहरु संलग्न भैरहवा र पोखरा विमानस्थलको काम पनि अब समयमा सम्पन्न हुनेमा आशावादी भएको बताए । उनले काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले थुप्रैपटक राती गएर गरेको अनुगमनको प्रशंसासमेत गरे । ‘अब हाम्रो विमानस्थल २४ घन्टासम्म संचालन गर्ने क्षमताको भएको छ’ उनले भने ।

धावनमार्गको काम एभिकले चैत ११ गतेदेखी असार १६ सम्म राति १० बजेदेखी बिहान ८ बजेसम्म विमानस्थल आंशिक बन्द गरेर १० घन्टा गरेको थियो । दोस्रो चरणको काम बर्खा सकिएपछी भदौ १५ देखि पुस १० सम्म राति नै गरेको थियो ।

प्रकाशित : पुस १३, २०७६ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?