मौसम सुन्तलाको, रोगले समस्या 

यस वर्ष केही जिल्लामा सुन्तला उत्पादन बढेको छ भने केहीमा घटेको छ । समग्रमा सुन्तला खेतीबाट भने किसान खुसी छन् । ग्रामीण सडकको पहुँचसँगै सुन्तलाले सहज बजार पाएको छ । 

(पोखरा) — सुन्तला यतिबेला सबैभन्दा बढी बिक्री हुने फल हो । गाउँसहर जताजतै सुन्तला बेचबिखन भइरहेको छ । गण्डकी प्रदेशका ११ मध्ये ९ जिल्लामा सुन्तला खेती हुन्छ । ती जिल्लामा पनि सबैभन्दा बढी उत्पादन स्याङ्जामा हुने कृषि विकास निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

मौसम सुन्तलाको, रोगले समस्या 

यस वर्ष केही जिल्लामा सुन्तला उत्पादन बढेको छ भने केहीमा घटेको छ । समग्रमा सुन्तला खेतीबाट किसान पनि खुसी छन् । ग्रामीण सडकको पहुँचसँगै सुन्तलाले बजार पाएको छ । किसान पनि व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित छन् ।


स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसाका रामप्रसाद भण्डारी र उनका भाइ भूपराजले व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । बाबुले साढे तीन दशकअघि थालेको सुन्तला खेतीलाई उनीहरूले निरन्तरता दिएका हुन् । उनीहरूले ९० रोपनीमा १५ सय सुन्तलाका बोट लगाएका छन् । त्यसमध्ये ८ सय ४५ बोटले उत्पादन दिइरहेका छन् । सुन्तलाबाट वार्षिक २५ लाख रुपैयाँ आम्दानी गर्ने गरेको रामप्रसादले बताए । रोजगारीका लागि विदेश गएका उनले भने जस्तो नभएकाले चार वर्षपछि फर्किएर सुन्तला खेती गरेका हुन् ।


यी दाजुभाइ उदाहरण मात्र हुन् । गण्डकी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक सुन्तला खेतीबाट मनग्गे आम्दानी लिने किसानको संख्या ठूलै छ । कृषि विकास निर्देशनालय गण्डकीको ०७५/०७६ को तथ्यांकअनुसार प्रदेशभर ९ हजार १ सय ५२ हेक्टरमा सुन्तला खेती हुन्छ । त्यसमध्ये फल्ने सुन्तलाले ढाकेको क्षेत्रफल ५ हजार ८ सय १३ हेक्टर छ । त्यहाँ ५४ हजार ५ सय ७२ मेट्रिक टन सुन्तला उत्पादन हुने वरिष्ठ कृषि अर्थविज्ञ भानुभक्त भट्टराईले बताए । प्रदेशमा १८ हजार ३ सय ४ किसान सुन्तला खेतीमा आबद्ध छन् । उत्पादित सुन्तलामध्ये ३० प्रतिशत किसान आफैंले राख्छन् । प्रत्येक वर्ष २ अर्ब ६७ कारेड ४० लाख २८ हजार बराबरको सुन्तला बिक्री हुने उनको भनाइ छ । बर्सेनि १५ प्रतिशत उत्पादन बढ्दै गएको छ । स्याङ्जामा १ हजार ८ सय ७४ हेक्टर क्षेत्रफलमा सुन्तला लगाइएको निर्देशनालयका निमित्त निर्देशक नीलकण्ठ पोखरेलले बताए । तनहुँमा १ हजार ६ सय ७०, पर्वतमा ७ सय ३०, कास्कीमा १ हजार ३५०, पूर्वी नवलपरासीमा ७७, लमजुङमा ५२९, म्याग्दीमा ४५८, बागलुङमा ४७२ र गोरखामा ९९८ हेक्टरमा सुन्तला खेती हुन्छ ।


पोखराका व्यापारी केही दिनदेखि बागलुङको सिगानास्थित सुन्तला बगान धाउन थालेका छन् । गत वर्षदेखि बागलुङ नगरपालिका–८ को सिगाना, काठेखोला गापा–५, ६ र ७ सहितका क्षेत्र सुन्तला जोनमा समावेश गरिएको छ । यो वर्ष यहाँका झन्डै १ सय घरले व्यावसायिक उत्पादन थालेका छन् । बजार सहजै पाइने भएपछि किसान हौसिएको बागलुङ–८ का अध्यक्ष राजन जीसीले बताए । ‘वडा तहमै वर्षको १० हजार बिरुवा थप्दै लैजाने योजनामा काम भएको छ,’ उनले भने । गत वर्ष सिगानामा ७० लाख रुपैयाँको सुन्तला फलेकामा यस वर्ष १ करोडभन्दा बढीको बिक्री हुने उनको अनुमान छ । स्थायी शिक्षकको जागिर छाडेर दशकअघि सुन्तला अभियानमा लागेका टोपबहादुर खड्काले वार्षिक ४ लाख रुपैयाँसम्म कमाउँछन् । बागलुङ नगरपालिकाले पनि सुन्तला उत्पादनका लागि सिगानालाई आफ्नो मुख्य क्षेत्रका रूपमा सूचीकृत गरेर हरेक वर्ष अनुदानसमेत दिन थालेको छ ।


बागलुङमा गत वर्षसम्म पाँच सय हेक्टरमा सुन्तला फलेकामा यो वर्ष उत्पादन बढेको छ । काठेखोलाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ र भकुन्डे, जैमिनी नगरपालिकाको दमेक र सर्कुवालगायत स्थानमा सुन्तला खेती विस्तार हुँदै छ । बागलुङमा तीन हजार टन सुन्तला फल्ने तत्कालीन जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । चालु वर्ष करिब २० देखि ३० प्रतिशत उत्पादन बढ्ने बाली संरक्षण अधिकृत सुजित पौडेलले बताए । यसबाट किसानले झन्डै २० करोड रुपैयाँ कमाउने उनको भनाइ छ । ग्रामीण बस्तीसम्म सडक पहुँच पुगेपछि सुन्तलाको बजारीकरणमा पनि सजिलो भएको छ । यसले परम्परागत जीवनशैलीमा परिवर्तन आउन थालेको छ । ‘समुदायले ऋण खोजेर खनेको कच्ची सडक अहिले उपयोगी भएको छ । ‘सबैका घरमा धेरथोर सुन्तला छन् । सडक पुगेपछि सुन्तलासँगै अन्य कृषि उपज पनि बजार पुर्‍याउन सजिलो भएको छ,’ बेनी नगरपालिका–३ भकिम्ली मरेकका वीरबहादुर थापाले भने ।


सुन्तला स्थानीय बजारबाहेक पोखरा, नारायणगढ, बुटवल र काठमाडौं पुग्न थालेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला जोन कार्यालयको अभिलेखअनुसार जिल्लामा ३ हजार ७ सय ७७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ । गत वर्ष ४ हजार ५ सय ४८ बोटमा ३ हजार ६ सय टन सुन्तला जिल्ला बाहिर गएको थियो ।


रोगले समस्या

उचित रेखदेख नहुँदा कास्कीमा सुन्तला बगैंचा मासिँदै गएका छन् । १ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा सुन्तला बगैंचा भए पनि आधाभन्दा बढी क्षेत्रफलमा उत्पादन हुँदैन । कास्कीमा ८१० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भइरहेको छ । गाउँबाट बसाइँ सरेर सहर झर्ने क्रम बढ्दो छ । बसाइँ सराइ बढ्दा गाउँका सुन्तला बगैंचा अलपत्र छन् ।

मानिसको बसोबास नभएको ठाउँमा रोगकिराको प्रकोप चाँडै फैलने पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरिया बताउँछन् । बगैंचाको उचित स्याहार नहुँदा कास्कीमा सिट्रस ग्रिनिङ ब्याक्टेरिया बोटमा फैलिन थालेका छन् । ब्याक्टेरियाले बोटलाई बिस्तारै पहेंलो बनाउँछ । फलसमेत आधा हरियो र आधा पहेंलो हुन्छ । बोट बिस्तारै टुप्पोबाट मर्दै जान्छ ।

कास्कीका कालिका, माझठाना, रूपाकोट, हंसपुर, थुम्की, सल्यान, भरतपोखरीलगायत ठाउँमा प्रशस्त सुन्तला फल्थ्यो । सिट्रस ग्रिनिङ रोगका कारण ती क्षेत्रमा सुन्तला सखाप भइसकेका छन् । पानीको सुविधा भएको र उत्तरपट्टि फर्केर चिस्यान कायम भएका बगैंचामा मात्र सुन्तला जोगिएको कडरिया बताउँछन् ।


‘म्याग्दीखोला, रघुगंगा र कालीगण्डकी नदीको दुवै किनारका बस्तीमा सुन्तला खेतीको अनुकूल वातावरण छ,’ सुन्तला जोन कार्यालयकी नायब प्राविधिक सहायक रूपा विकले भनिन्, ‘यस वर्ष उत्पादनको तथ्यांक संकलन भइरहेको छ ।’ अन्नपूर्ण गाउँपालिका उपाध्यक्षसमेत रहेकी किसान केशमाया पुनले पूरै गाउँलाई सुन्तलाको बगैंचा बनाउने लक्ष्य रहेको बताइन् । पर्वतमा स्थानीय तहसँगको साझेदारीमा कृषि ज्ञान केन्द्रले विभिन्न वडामा सुन्तलाको क्षेत्र विस्तार गरेको छ । कुस्मा नगरपालिकाबाहेकका सबै पालिकामा यस वर्ष मात्रै दुई सय हेक्टर क्षेत्रफल विस्तार गरिएको केन्द्र प्रमुख वासुदेव रेग्मीले जानकारी दिए । तिनमा यस वर्ष मात्रै ५४ हजार बिरुवा रोपिएको हो । त्यसअघि आठ सय हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको थियो । बाँसखर्क, शालिजा, नाङ्लीबाङ, देउपुर, तिलाहार, बाजुङ, शंकरपोखरी, भंगरा, थापाठाना, कुर्घा, लिमिठाना र पाङराङमा सुन्तला खेती हुन्छ । साथै भोक्सिङ, होस्राङ्दी, भोर्ले, हुवास, टकलाक, बहाकीठाँटी, बाच्छामा पनि यसको खेती हुने गरेको छ ।


केही वर्षयता सुन्तला खेतीमा सुधार, रोगकिराको नियन्त्रण, क्षेत्रफल विस्तार, आधुनिक उपकरण र अनुदानका कार्यक्रम थपिँदै गएपछि क्षेत्र विस्तार गर्न किसान जागरुक भएका छन् । ‘पहिला सबै घरले धान र कोदो मात्रै लगाउँथ्यौं,’ फलेबास–३ का गणेशबहादुर थापाले भने, ‘२ वर्षदेखि ४० जना मिलेर व्यावसयिक सुन्तला खेतीमा लागेका छौं ।’


गोरखामा यस वर्ष सुन्तला उत्पादन घट्ने भएको छ । गत वर्षको तुलनामा झन्डै १० प्रतिशत सुन्तला कम फल्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको सुन्तला जात फलफूल जोनका प्रमुख अजय अधिकारीको भनाइ छ ।


फूल फुल्ने बेला खडेरी पर्दा उत्पादनमा असर परेको हो । जिल्लाका ८६५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको छ । गत वर्ष ७ हजार ६ सय टन सुन्तला उत्पादन भएको थियो । त्यसबाट किसानले करिब ३८ करोड रुपैयाँ भित्र्याएका थिए । ताङ्लीचोक र भट्टबेंसीमा उत्पादन राम्रै देखिए पनि अन्यत्र सुन्तला कम फलेको अधिकारीले बताए । जिल्लाका करिब १ हजार २ सय किसान व्यावसायिक सुन्तला खेतीमा छन् ।


(दीपक परियार, पोखरा, बिना थापा, कास्की, प्रकाश बराल, बागलुङ, घनश्याम खड्का, म्याग्दी, अगन्धर तिवारी, पर्वत र हरिराम उप्रेती, गोरखा)

प्रकाशित : पुस १३, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?