कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तयारी कपडाको आयात बढ्यो

नेपालबाट सबैभन्दा बढी धागो टर्की निर्यात हुन्छ । तर त्यहाँ मूल्यको गिरावटले एक महिनासम्म धागो निर्यात हुन सकेन ।
नुमा थाम्सुहाङ

काठमाडौँ — पछिल्लो समय तयारी कपडाको आयात बढेको छ । भन्सार विभागको पछिल्लो तीन वर्षको चौमासिक तथ्यांकअनुसार तयारी कपडा र धागोको आयात तीन गुणा वृद्धि भएको छ । 

तयारी कपडाको आयात बढ्यो

आव ०७४/७५ को पहिलो चार महिनामा ४ अर्ब २२ करोड ४० लाख ८७ हजार रुपैयाँको तयारी कपडा आयात भएकामा आव ०७५/७६ मा १३ अर्ब ८८ करोड ७६ लाख ४० हजार रुपैयाँको आयात भएको छ । चालु आवको पहिलो चौमासमा मात्र आयात वृद्धि भएर १५ अर्ब ५ करोड २६ लाख ४७ हजार रुपैयाँ पुगेको हो ।


‘सरकारले चोरीपैठारी कपडाका आयातमा कडाइ गरेकाले भन्सार भएर आउने धागो र कपडाको आयात बढेको हो,’ नेपाल कपडा उत्पादक संघका अध्यक्ष शैलेन्द्र प्रधानले भने, ‘तर, अझै पनि पूर्ण रूपमा अवैध आयात नियन्त्रण हुन सकेको छैन ।’


आयात प्रतिस्थापन गर्न नेपाली कपडामा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) कम हुनुपर्ने उनको भनाइ छ । ‘सीमाबाट चोरी गरी ल्याएको कपडासँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सक्दैन,’ उनले भने । नेपाली व्यसायीलाई भ्याट लगाउने हो भने २० लाख र ५० लाख रुपैयाँको थ्रेसहोल्ड हटाउनुपर्ने उनको तर्क छ ।


आव ०७४/७५ को पहिलो चार महिनामा ३ अर्ब २३ करोड ६० लाख ६४ हजार रुपैयाँ बराबरको धागो वस्तु आयात भएकामा बढेर आव ०७५/७६ को सोही अवधिमा ४ अर्ब ७० करोड ६० लाख ९३ हजार रुपैयाँ बराबरको भित्रिएको हो । तर, चालु आवमा भने धागो आयातमा कमी आएको छ । चालु वर्षको चौमासमा ४ अर्ब ७ करोड ६१ लाख ३१ हजार रुपैयाँको मात्र धागो आयात भएको छ । टर्कीमा तीन महिनाअघि मूल्यको गिरावट भएको र उताबाट माग कम भएकाले नेपालमा उत्पादित धागो निर्यातको परिमाण घटेको नेपाल धागो उत्पादक संघका सचिव उत्तम गौतमले बताए । ‘अहिलेसम्म नेपाली धागोको उत्पादन राम्रो भइरहेको छ । नेपालबाट सबैभन्दा बढी धागो टर्की निर्यात हुन्छ,’ उनले भने, ‘तर त्यहाँ मूल्यको गिरावटले एक महिनासम्म धागो निर्यात हुन सकेन ।’


नेपाली कपडा उद्योगका लागि धागो आयात बढ्नु राम्रो भए पनि तयारी कपडाको आयात वृद्धिले यहाँका कपडा उद्योगलाई प्रतिस्पर्धा गर्न गाह्रो अवस्था सिर्जना गराएको उनको भनाइ छ । ‘सरकारले पछिल्लो समय भन्सार मूल्यांकनमा र चोरीपैठारीबाट आउने सामानलाई कडाइ गर्‍यो,’ उनले भने, ‘जसले गर्दा पहिला नदेखिएको तथ्यांक पनि देखिएको हो । केही मात्रामा बढ्नुपर्ने हो । तर, तयारी पोसाकमा अचम्मले नै आयात बढेको देखियो ।’


नेपाली कपडाको उत्पादन राम्रै भए पनि आयात प्रस्थिापन गर्न नेपाली उद्योगीका समस्या समाधानतर्फ सरकार लाग्नुपर्ने उनको भनाइ छ । ‘स्थानीय कपडा उत्पादनलाई सरकारले प्रोत्साहन गर्न जरुरी छ,’ उनले भने । भन्सारबाट हुने चोरी पैठारी नियन्त्रण गर्न सीमा खटिएका प्रहरीसँग मिलेर राजस्व गस्ती सञ्चालन गरिएको भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेले बताए । ‘धागो र कपडा हामी सबै चिन्छौं । यसमा छली गरेर एकको नाममा अर्को ल्याएको पाइए कारबाही गर्छौं,’ उनले भने । चोरीपैठारी हुने सम्भावित नाकामा सुराकी परिचालन पनि गरिएको उनको भनाइ छ ।


‘सुराकीबाट कतिपयलाई पक्राउ गरेका छौं,’ उनले भने, ‘न्यून बिजकीकरण गर्नु एक प्रकारको भन्सार चोरी नै हो । यो पनि व्यवसायीले नै गर्छन् । अनुसन्धानका क्रममा त्यस्तो भेटिए पेनाल्टी तिराउँछौं ।’ तयारी कपडामा २० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्छ । धागोमा ५ प्रतिशत र उद्योगका लागि आवश्यक कच्चा धागोमा १ प्रतिशत मात्र आयात कर लाग्छ । सुतीमा भने भ्याट नलाग्ने घिमिरेले जानकारी दिए ।

प्रकाशित : पुस ११, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?