कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

निगमका जहाजलाई अवतरणमा अब झनै सजिलो

सुरज कुँवर

काठमाडौँ — अन्तर्राष्ट्रिय गन्तव्यबाट फर्केर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल वायु सेवा निगमका जेट विमान (एयरबस ३२०) लाई अबका दिनमा झनै सहजता हुने भएको छ ।

निगमका जहाजलाई अवतरणमा अब झनै सजिलो

वायुसेवा कम्पनीहरुको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमका विमानका लागि आरएनपी–एआर स्पेशल अपरेशन स्वीकृत गरेको छ । यो प्रणाली अपानाइएपछि अबका दिन काठमाडौंमा खराब मौसम, तुवाँलो र हुस्सुको प्रभाव निगमका जहाजमा अझ न्यूनिकरण हुनेछ । निगमले अबका दिन आफ्ना विमान अझ बढी नियमित र समयमै संचालन हुने जनाएको छ ।


निगमका विमानले अब पराम्परागत भनिने भीओआर (भेरि हाई फ्रिक्वाइसी ओम्नी–डाइरेक्सनल रेडियो) अप्रोच प्रणाली अनुशरण गरेर काठमाडौंभित्र अवतरण गर्नु नपर्ने भएको छ । ‘अब काठमाडौंभित्रको मौ;म बिग्रिएको अवस्थामा हाम्रा विमानले सिमरामाथीको आकाशमै फेरो लगाउनुपर्ने बाध्यतामा सहजता मिलेको छ,’ निगमको एयरबसका क्याप्टेन दिपुराज जुहार्चनले भने, ‘हाम्रा न्यारोबडी जहाजकालागि क्याट–टू र रिक्वायर्ड नेभिगेसन पर्फमेन्स– एथोराइजेसन रिक्वायर्ड (आरएनपी–एआर) स्वीकृत भएको छ ।’ उनका अनुसार, यी दुवै सुविधा चाँडै निगमका वाइडबडी विमानकालागि पनि लागू हुने क्रममा रहेको छ ।


‘पहिले हामी जहाजलाई अवतरण गर्ने क्रममा ५.४ डिग्रीको कोणमा झार्थ्यौ अब २.८ डिग्रीको कोण बनाएर जहाज अवतरण हुने छन्,’ निगमको अपरेसन विभाग प्रमुखसमेत रहेका जुहार्चनले भने । प्राधिकरणले अनुमती प्रदान गरको यो प्रणालीले जहाजको इन्धन खपत कम हुने तथा अवतरणका क्रममा जहाज स्थिर अवस्थामा रही थप सुरक्षित रहने छ । काठमाडौंमा अवतरणका क्रममा भीओआर र आरएनपी–एआर प्रणाली अपाउने जहाजको एप्रोचमार्ग फरक छ ।


निगमलाई प्राधिकरणले स्विकृत गरेको जहाज अवतरण गर्ने प्रणाली रिक्यार्ड नेभिगेसन पर्फमेन्स–एथोराइजेसन रिक्वायर्ड (आरएनपी–एआर) हवाई शुरक्षाका दृष्टीकोणले शुरक्षित मानिन्छ । प्राधिकरणले निगमका दुईटा न्यारोबडी विमानकालागि अपरेसन स्पेशिफिकेसनमा स्ट्याण्डर्ड क्याटोगरी–२ अर्थात क्याट–टू को सुविधा पनि थपेको छ । यो सुविधाले अब निगमका जहाजले भारत, दुबई, कतार, मलेसिया लगायतका विदेशी विमानस्थललमा ३ सय मिटर भिजिविलिटीमै अवतरण गर्न सक्ने छन् । यसअघि परम्परागत प्रविधिमा आधारित प्रणाली अनुशरण गर्दै निगमका जहाजले ५ सय ५० मिटर भिजिविलिटी (दृश्यता) भएमात्रै अवतरण गर्ने अनुमति पाउँथे ।


साधरणतया विमानहरु इन्स्ट्रमेन्ट ल्याण्डिङ्ग सिस्टम (आइएलएस) अर्न्तगत क्याटोगरी–वान (क्याट–१) मा अवतरण गर्दछ्न । जस अनुसार जहाज अवतरण गर्ने क्रममा पाइलटकालागि ककपिटबाट कम्तीमा ५ सय ५० मिटर परसम्म र विमानबाट २ सय फिट जमिनको सतह देखिनुपर्छ । यदी यी दुबैमध्ये कुनै एक मापदण्ड नमिलेमा पाइलटले जहाज अवतरण गर्ने प्रक्रिया स्थगन गर्दै गो अराउन्ड (फर्किनुपर्ने विधि) अपनाउनु पर्ने हुन्छ । तर, निगमले क्याट–टू अनुमती अवतरण प्रक्रियाकालागि झन सजिलो छ ।

अब यसका विमानलाई जमिनबाटको १ सय फिट उचाई र रनवे भिजिअल रेन्ज (आरभीआर) धावनमार्गको भिजिविलिटी ३ सय मिटर भए पुग्ने छ । यी दुई मापदण्डको सहजताका कारण विदेशी विमानस्थलमा कम भिजिविलिटीमै अवतरण गर्न सजिलो हुने छ ।


काठमाडौंमा शुन्य भिजिविलिटीमा अवतरण गर्न सकिने सुविधा छैन । यो सुविधाकालागि काठमाडौं विमानस्थल क्याट–थ्री–बी प्रणाली जडान हुनुपर्छ । यदि काठमाडौंमा जहाज अवतरणकालागि क्याट–थ्री–बी प्रविधि भएमा ५० मिटरको भिजिविलिटीमा मात्रै अवतरण गर्न सकिन्छ । तर, काठमाडौंमा यो प्रणाली हालसम्भव देखिदैन् ।

निगमका सहायक प्रवक्ता सुलेख मिश्रले प्राधिकरणबाट प्राप्त यी दुई प्रणालीले निगमको उडान आधुनिकिकरण योजनामा उड्डयन सुरक्षा थप सुनिश्चित गरेको भनेका छन् ।

उनले खराब मौसमको प्रभावका कारण हुन सक्ने उडान रद्य, होल्डीङ र डाइभर्ट जस्ता अप्ठ्यारा न्यूनीकरण हुने बताए । निगमका दुईटा जहाज उडाउन ३१ जना पाइलट छन् । निगमले आरएनपी–एआरकालागि आफ्ना पाइलटलाई चार घन्टाको तालिम दिइसकेको छ ।

प्रकाशित : पुस ६, २०७६ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?