कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेशभर फौजी किराको प्रकोप

विनु तिम्सिना

(विराटनगर) — प्रदेश १ को पहाडी क्षेत्रमा देखिएको अमेरिकी फौजी किराले तराईका केही जिल्लामा समेत दु:ख दिएको छ । जेठ २२ मा तेह्रथुमको म्याङलुङ नगरपालिका र धनकुटाको पाख्रिबास नगरपालिकामा भेटिएको यो किराका कारण झापा, मोरङ र सुनसरीका किसान दिक्क छन् । 

प्रदेशभर फौजी किराको प्रकोप

तराईका जिल्लामा विस्तार हुँदै गएको मकै खेतीमा यो किराको संक्रमण बढी छ । उम्रिँदै गरेको मकैका बिरुवामा फौजी किराको लार्भाको संक्रमण भएसँगै मोरङका किसान चिन्तित छन् । धानबालीमा देखिएको फौजी किराको संक्रमण खेती उठाएपछि हट्ने अनुमान थियो । तर, पछि मकैबालीमा समेत देखियो ।


आफूले लगाएको अढाई बिघा जग्गाको मकैमा फौजी किराले दु:ख दिएको मोरङ जहदा गाउँपालिका–१ का किसान मायानन्द यादवले बताए । कुन विषादी प्रयोग गर्नै भन्ने नजान्दा किराले धेरैजसो मकैको बिरुवा नष्ट गरेको उनको गुनासो छ । बाली संरक्षण प्रयोगशालाले दिएको सुझाव कार्यान्वयन गरेपछि बिस्तारै किराको प्रकोप नियन्त्रणमा आएको उनले बताए ।


जहदा गाउँपालिकाका अर्का किसान महेन्द्र दास फौजी किराले आफ्नो डेढ बिघा जग्गामा लगाएको धेरैजसो मकैका बिरुवाको गुभो खाएकाले उत्पादन घट्ने चिन्तामा छन् । गत वर्ष उनले एक बिघामा मकै लगाएका थिए । त्यसबाट १ सय ८५ मन मकै उत्पादन गरेका थिए । उत्पादन राम्रो भएपछि हौसिएका दासले यस पटक डेढ बिघा मकै लगाएका थिए । तर, किराले ३० प्रतिशत मकैका बिरुवा नोक्सान गरेको उनले गुनासो गरे ।

वैशाखयता खोटाङ, धनकुटा, ओखलढुंगा, पाँचथर, भोजपुर, तेह्रथुमलगयत पहाडी जिल्ला र उदयपुर र झापामा लगाइएको मकै खेतीमा समेत फौजी किराको प्रकोप देखिएको छ । किराले ओखलढुंगाको ५ सय, उदयपुरको २२, भोजपुरमा २८९, पाँथरमा १ हजार ३ सय ४५, खोटाङमा २२२, धनकुटामा १८१ र झापामा ३ हेक्टरमा लगाइएको मकैमा नोक्सान पुर्‍याएको प्रदेश कृषि निर्देशनालय विराटनगरले जानकारी दिएको छ ।


उपयुक्त खानाको खोजीमा फौजी किरा एक रातमा १ सय किमि टाढासम्म उडेर जाने भएकाले बेलैमा यसलाई नियन्त्रणमा ल्याउनुपर्ने बाली संरक्षण प्रयोगशाला विराटनगरका बाली संरक्षण अधिकृत मुकेश यादवले बताए । अन्यथा बाली नै सखाप हुने डर रहेको उनको भनाइ छ । बालीमा निगरानी गर्न र लार्भा भेटिए तत्काल खबर गर्न किसानलाई उनले आग्रह गरे । कृषि निर्देशनालय र ज्ञान केन्द्रहरूसँग मिलेर किसानलाई फौजी किराबारे जानकारी गराएको उनले बताए । मोरङमा ५ सय, सुनसरी र झापामा ३/३ सय हेक्टर क्षेत्रफल मकैमा यो किराको प्रकोप देखिएको छ ।


‘झापा, मोरङ, सुनसरी ३ वटै जिल्लाका धेरै मकैबालीमा यो किराका लार्भा र वयष्क पुतली भेटिएका छन्,’ उनले भने, ‘यसले मकैमा पुर्‍याएको क्षति पनि धेरै छ । यो किरा यसरी नै फैलँदै जाने हो भने भविष्यमा मकै खेती त्यति सहज हुनेछैन । अन्य बालीमा पनि यसको असर बढ्दै जान सक्छ । त्यसैले बेलैमा सचेत हुन जरुरी छ ।’


फौजी किराले मकै मन पराउँछ । मकै नपाएको खण्डमा जुनेलो, धान, गहुँ, उखुलगायत बालीमा आक्रमण गर्छ । गत वर्ष प्रदेश १ मा २ लाख ७३ हजार २ सय १८ हेक्टरमा मकै खेती गरिएको थियो । यसबाट ९ लाख १७ हजार ७ सय ५० टन मकै उत्पादन भएको थियो ।

प्रकाशित : पुस ६, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?