विद्युत् विस्तार बढ्यो, व्यवस्थापन सुध्रिएन

विप्लव भट्टराई

(इलाम) — झापा सीमावर्ती रोङ गाउँपालिकादेखि भारतको दार्जिलिङस्थित सिंहलीला नेसनल पार्कसँग जोडिएको माईजोगमाईको तुम्लिङसम्म विद्युत् विस्तार भएको छ । माई नगरपालिकादेखि देउमाई नगरपालिकाको राँके हुँदै पाँचथरको रविसम्म पनि विद्युत् विस्तार भएको छ ।

विद्युत् विस्तार बढ्यो, व्यवस्थापन सुध्रिएन

यति धेरै क्षेत्रमा विद्युत् विस्तार भए पनि दुई मात्र सबस्टेसन छन् । एउटै सबस्टेसनमार्फत २ सय ५० किमिभन्दा धेरै क्षेत्रमा विद्युत् विस्तार गरिएको हो । हरेक ५० किमि क्षेत्रमा एउटा सबस्टेसन हुनुपर्ने प्राविधिक बताउँछन् ।

‘यति ठूलो क्षेत्रमा एउटा सबस्टेसनले हेर्नुपर्ने भएपछि दुर्घटनाको जोखिम हुन्छ । गुणस्तरमा पनि कमी हुन्छ,’ विद्युत् प्राधिकरण इलाम शाखाका प्राविधिक तारा एक्तेनले भने । कतैको लाइन काटेर मर्मत गर्दा सम्बन्धित व्यक्ति सबस्टेसनमा आएर निवेदन दिनुपर्ने र मर्मतपछि पुनः सबस्टेसनमै आएर जानकारी गराउनुपर्ने प्रावधान छ । सुरुमा निवेदन दिएपछि काटिएको लाइन सम्बन्धित व्यक्ति आएपछि मात्र जोडिनुपर्ने हो । तर लामो प्रसारण लाइनका कारण त्यो सम्भव छैन ।


फोनको भरमा लाइन काट्ने र जोड्ने गर्दा पनि कतिपय अवस्थामा दुर्घटना हुने गरेको छ । विद्युत् उपयोग गरेर चलाइने उद्योगदेखि हरेक सामग्री सञ्चालनमा पनि कठिनाइ हुने गरेको छ । ‘सबस्टेसन थप गर्न माग गरिए पनि कार्यान्वयन हुन सकेको छैन,’ प्राधिकरण शाखा प्रमुख पंकज गोहितले भने ।


जिल्लामा ७० प्रतिशत विद्युत् वितरण भएको छ । स्थानीय सरकारसँगै प्रदेश र केन्द्र सरकारले पनि विस्तारको काम धमाधम गरिरहेका छन् । तर दुई सबस्टेसनमार्फत थप विद्युत् विस्तार गर्दा समस्या चुलिँदो छ । एउटै सबस्टेसनले लामो दूरीमा विद्युत् प्रवाह गर्दा घाटा पनि हुने गरेको छ । यसले प्राधिकरणलाई समस्यामा पारेको छ ।


काबेली करिडोरअन्तर्गत इलाम नगरपालिकाको गोदक राजदुवालीमा सबस्टेसन छ । यहाँ सञ्चालित आयोजनाको विद्युत् यो सबस्टेसनमा जोडिन्छ । आवश्यक विद्युत् इलाम र फिक्कल स्टेसनमा प्रवाह हुन्छ । जिल्लामा विद्युत् उत्पादन बढ्दै गएको छ । उत्पादनको तुलनामा खपत न्यून छ । तर पनि गुणस्तरीय नभएको गुनासो छ ।


इलामको उत्पादन क्षमता १ सय मेगावाट हाराहारी छ । केही विद्युत् योजना अझै निर्माणको क्रममा छन् । गोदक सबस्टेसन सञ्चालनपछि भने विद्युत् अवरोध भइरहने समस्या हटेको छ । आफ्नै उत्पादन भएकाले भारतबाट आएको विद्युत्भन्दा धेरै कारणले पटकपटक विद्युत् काटिने झन्झट हटेको प्राधिकरणको भनाइ छ । तर, लामो दूरीको ग्रामीण क्षेत्रमा विद्युत् विस्तार हुनु र सबस्टेसन कम भएकाले भने हावाहुरी चल्ने सिजनमा समस्या बढ्ने गरेको छ । कतिपय स्थानमा धेरै दिनसम्म विद्युत् अवरोध हुँदा उपभोक्ता मारमा पर्छन् ।


ठाउँठाउँमा अवरोध

फिक्कल सबस्टेसनबाट पशुपतिनगर र कन्याम फिडर छुट्याउने लाइन विस्तार गर्न खोज्दा स्थानीयले अवरोध पुर्‍याएका छन् । सबस्टेसनदेखि बजारसम्मको क्षेत्रमा करिब २० वटा पोल गाड्न अवरोध पुगेको हो । यहाँ गाडिएका ५ वटा पोल पनि उखेलिएपछि काम अघि बढ्न सकेको छैन । प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत थालिएको काममा अवरोध भएपछि प्राधिकरणले नगरपालिकासँग समन्वय गरेर काम अघि बढाउने पहल गरेको छ ।


यस्तै गोदकस्थित काबेली करिडोरको सबस्टेसन छेउमा अवरोध छ । मंगलबारे र दानाबारीतर्फ जाने विद्युत्को फिडर छुट्याउन अरू सबै काम भए पनि पोल गाड्न सम्बन्धित जग्गाधनीले नदिएपछि ६ महिनादेखि काम हुन सकेको छैन । यस क्षेत्रमा १२ वटा पोल गाड्न बाँकी छ । यो फिडर छुट्याउन सके लोड कम हुने र गुणस्तरीय विद्युत् प्रभाव गर्न सहज हुने सपरभाइजर प्रमोदकुमार यादवले वताए ।


पश्चिमी इलाम र दक्षिणी पाँचथरमा सेवा पुर्‍याउने उद्देश्यले चिसोपानी पञ्चमीमा सबस्टेसन निर्माण हुने भए पनि त्यसको काम अघि बढ्न सकेको छैन । सबस्टेसनका लागि जग्गासमेत तय भएको अवस्थामा ठेकेदारले नै काम अघि नबढाएको प्राधिकरणले जनाएको छ । यहाँ सबस्टेसन नबन्दा त्यस क्षेत्रमा विद्युत् विस्तारमा अवरोध पुग्नुका साथै इलाम सबस्टेसनको लोड पनि अधिक भएको छ । इलाम र फिक्कल सबस्टेसनबाट विस्तारित विद्युत्का लागि ३ सय २५ ट्रान्सफरमर जोडिएको छ ।


धराप बन्दै काठेपोल

जोखिम हटाउँदै गुणस्तरीय सेवा प्रभाव गर्ने उद्देश्यले प्राधिकरणले पुराना काठेपोल हटाउने नीति लिएको छ । नयाँ विस्तार भएका ठाउँमा स्टिल पोल नै प्रयोग गरिएको छ । तर इलाममा मात्र अझै २० हजार वटा पोल पुराना छन् । ४० हजार पोलमध्ये आधा मात्र स्टिल पोल छन् ।


काठेपोलका कारण कतिपय स्थानमा जोखिम बढेको गुनासो आउने गरेको छ । सेवा क्षेत्र धेरै भएकाले सबैतिर ध्यान पुर्‍याउन नसकिएको प्राधिकरणले बताएको छ । कतै स्कुसका लहरा त कतै रुखपातले ग्रामीण क्षेत्रको लाइन जेलिने गरेको छ ।


पुराना पोल विस्थापित गर्न मात्रै करिब ६७ करोड रुपैयाँ खर्च हुने अनुमान छ । जिल्लाको विद्युतीकरण हुन बाँकी ३० प्रतिशतका लागि अरू ५१ करोड रुपैयाँ लाग्नेछ । तर चालु आवमा प्राधिकरण शाखालाई साढे ९ करोडको मात्र सिलिङ दिइएको छ । यही रकमबाट नयाँ लाइन विस्तारदेखि मर्मत सम्भार र पुराना पोल हटाउने काम गर्नुपर्ने बाध्यता छ ।


हरेक वर्ष १ हजार हाराहारीमा काठेपोल हटाइने गरेको छ । ‘यही गतिमा काम गर्ने हो भने गुणस्तरीय र जोखिमयुक्त विद्युत् विस्तार गर्न वर्षौं लाग्छ,’ गोहितले भने । केन्द्रले तोकेको मापदण्डबाहेक काठेपोल भने पूर्ण रूपमा निषेध गरेको कार्यालयको भनाइ छ ।


हेलचेक्रयाइँले ज्यान जाँदै

छतमा बसेर पढ्दै गर्दा अचानक ११ केभीएको लाइनमा हात पर्दा पाँचथरका एक युवकको केही महिनाअघि सदरमुकामस्थित धोबीधारामा ज्यान गयो । पोल ढल्किएर घर नजिकै आएकाले दुर्घटना भएको थियो । विद्युत् कार्यालयबाट करिब ४ सय मिटर मात्र टाढा लापरबाहीकै कारण ती युवकले ज्यान गुमाउनुपर्‍यो ।


गत वर्ष इलाम नगरपालिकाको सोयाकमा ८५ वर्षीय १ वृद्धको कुलो बनाउन गएको अवस्थामा ज्यान गयो । गाउँमा वितरण गर्न लगिएको लाइन केही दिनदेखि लत्रिएर भुइँमा थियो । हावाहुरीका कारण पोल ढलेर तार लत्रिएपछि लाइन काटियो ।


प्रकाशित : पुस ४, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?