कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्याज आयात घट्यो

नुमा थाम्सुहाङ

काठमाडौँ — वसुन्धाराकी रेश्मा तामाङलाई अचेल प्याज किनेर खान मन लाग्दैन । तीन जनाको उनको परिवारले साताभर प्याज नै खाएन । 

प्याज आयात घट्यो

‘एक साता भयो प्याजबिना तरकारी खाएको,’ उनले भनिन्, ‘१८० रुपैयाँले किनेर खाएको याद छ । अब त घट्यो होला भनेर किन्न गएको किलोको २ सय रुपैयाँ पुगिसकेछ । चाइनिज प्याज सस्तो छ भन्छन् तर किनेको छैन ।’


भारतले प्याज निर्यातमा बन्द गरिसकेपछि त्यसको विकल्पमा चीनबाट प्याज आयात गरिरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । ‘भारतले त्यहाँ नै प्याजको अभाव भएर वा अरू कारणले निर्यात बन्द गरेको छ,’ उनले भने, ‘मंसिर महिनासम्ममा सीमाबाट चोरीका भारतीय प्याज नेपाल आए पनि पक्राउ परेको घटनाहरूले त्यो पनि बन्द भएको छ ।’


भन्सार विभागको तथ्यांकलाई हेर्दा पनि प्याजको आयात घट्दो छ । साउनदेखि कात्तिकसम्म ४ करोड १९ लाख ९५ हजार किलो बराबरको १ अर्ब ५८ करोड ७७ लाख ९४ हजार रुपैयाँको प्याज नेपाल भित्रिएको छ ।


सबैभन्दा बढी प्याज आयात हुने छिमेकी राष्ट्र भारत र दोस्रोमा चीन रहेको छ । गत साउनमा नामिबियाबाट ३ लाख ८७ हजार रुपैयाँ १२ हजार केजी प्याज भित्रिएको थियो । साउनमै भारतबाट ४५ करोड ७७ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख ८६ हजार किलो प्याज भित्रिएको छ । भदौमा भने ५४ करोड ५७ लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड ४९ लाख १२ हजार किलोको प्याज नेपाल आएको छ । साउन र भदौमा चीनबाट भने १७ लाख १५ हजार रुपैयाँको ४ हजार किलो प्याज नेपाल आएको छ ।


चीनबाट प्याजको आयात बढेको देखिए पनि भारतबाट भने घटेको छ । असोजमा भारतबाट ३४ करोड २० लाख ५७ हजार रुपैयाँ बराबरको ६९ लाख ९९ हजार किलो प्याज आएको तथ्यांकले भन्छ । यही महिना चीनबाट १६ लाख ९७ हजार रुपैयाँ बराबरको ३ लाख १४ हजार प्याज आएको हो । कात्तिकमा भने भारतबाट २१ करोड ८६ लाख १८ हजार रुपैयाँ बराबरको ४७ लाख ८० हजार किलो प्याज आएको छ । चीनबाट भने ३६ लाख ५७ हजार रुपैयाँ बराबरको ४२ हजार किलो प्याज आएको देखिन्छ ।


साउनमा १ करोड ४९ लाख २ हजार किलो प्याज आयात भएकामा भदौमा १ करोड ४९ लाख १६ हजार किलो भित्रिएको छ । यी दुई महिनामा प्याजको आयात सामान्य देखिए पनि असोज र कात्तिकमा भने क्रमश: ७३ लाख १३ हजार किलो र ४८ लाख २२ हजार किलोले घटेको देखिन्छ । साउनमा मात्रै ४५ करोड ९८ लाख ३० हजार रुपैयाँको प्याज आएकोमा भदौमा भने ५४ करोड ७५ लाख ३२ हजार रुपैयाँ बराबरको प्याज आयात भएको विभागको तथ्यांकले देखाउँछ । विभागकै तथ्यांकअनुसार अघिल्लो महिनाको तुलनामा पछिल्लो दुई महिनामा भने मूल्यको हिसाबले पनि आयातमा कमी आएको छ । असोजमा ३८ करोड ९४ लाख ६१ रुपैयाँ र कात्तिकमा १९ करोड ९७ हजार रुपैयाँको मात्र प्याज भित्रिएको छ ।


अहिले दैनिक चीनबाट ४०/४५ टन प्याज आइरहेको छ । पहिला दिनकै ८०/९० टन प्याजको बिक्री हुने उनले बताए । ३/४ दिन अगाडि भारतबाट १०/१२ टन प्याज कालीमाटी बजारमा आएको श्रेष्ठले जानकारी दिए । नेपालमा प्याज आयात कम भए पनि सटेज नै नहुने उनको भनाइ छ । ‘नेपाली भान्सामा प्याज अनिवार्य छैन, यसको आयात कम भए पनि सटेज भने हुँदैन,’ उनले भने, ‘भारतको प्याजको तुलनामा चिनियाँ प्याज महँगो छ । तर, उपभोक्ताले त्यसको विकल्पमा प्रयोग भने गरिरहेका छन् ।’ बुधबारसम्ममा चिनियाँ प्याजको थोक मूल्य १४०/१४५ रुपैयाँ कायम रहेको छ । भारतीय प्याजको अहिले २ सय रुपैयाँको आसपासमा रहेको उनले बताए ।



प्रकाशित : पुस ३, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?