२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

चार महिनामा ५ अर्ब विदेशी लगानी

नेपालमा एफडीआईको आकार करिब २ खर्ब रूपैयाँको छ, यो विदेशबाट आएको पुँजी र त्यसले कमाएको सञ्चित नाफासमेत हो

काठमाडौँ — चालु आर्थिक वर्षको चार महिनामा करिब ५ अर्ब रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो १६ प्रतिशत बढी हो । ०७५ कात्तिकसम्म यस्तो लगानी ४ अर्ब २३ करोड रुपैयाँ थियो । गत वर्षको तुलनामा यो वर्ष पहिलो चार महिनामा विदेशी लगानी बढेको छ । सो अवधिमा लगानी वृद्धिदर भने साघुरिँदै गएको छ । 

चार महिनामा ५ अर्ब विदेशी लगानी

राष्ट्र बैंकको तथ्यांकअनुसार गत साउनमा १ करोड २९ लाख रुपैयाँ विदेशी लगानी मुलुक भित्रियो । ०७५ साउनको तुलनामा चालु आवको सोही अवधिमा विदेशी लगानी ३८१ प्रतिशत बढेको थियो । गत भदौसम्म १ अर्ब ९८ करोड रुपैयाँ विदेशी लगानी आयो । त्यो करिब ६१ प्रतिशतको वृद्धि थियो । त्यसपछिका दुई महिना असोज र कात्तिकमा विदेशी लगानीको वृद्धिदर क्रमशः १५९ र १६ प्रतिशत रह्यो । यसको अर्थ पछिल्ला महिनामा विदेशी लगानी वृद्धिदर घट्दो दरमा छ भन्ने हो ।


मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएको समयमा पनि गत वर्षभर ठूलो मात्रामा लगानी घटेको थियो । यसकारण गत वर्षको तुलनामा यो वर्ष लगानी वृद्धिदर धेरै देखिएको हो । यो वर्ष परिस्थिति बदलिएको छ । मुलुकमा लगानी वातावरण सुध्रिँदै गएकाले विदेशी लगानी बढ्ने जानकारहरू बताउँछन् ।


यो वर्षमा भित्रिएको एफडीआईमध्ये धेरै जलविद्युत्, पर्यटन र सिमेन्ट उद्योगमा आएको छ । यसले ती क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको पुष्टि हुन्छ । प्रशस्त सम्भावना हुँदाहुँदै पनि प्रायः जलस्रोत उपयोग हुन नसकेको, पर्यटन विकासका लागि पर्याप्त अवसर रहेको तथा सिमेन्ट उत्पादनको सम्भावना अत्यधिक देखिएकाले यी क्षेत्र विदेशी लगानीकर्ताको रोजाइमा परेको विज्ञहरूको भनाइ छ ।


पछिल्ला वर्षमा निरन्तर आर्थिक वृद्धिदर उच्च बन्दै गएको, लगानीसम्बन्धी नीति बनेको, राजनीतिक दल तथा नेताबाट आर्थिक विकासको प्रतिबद्धता आएकोलगायत कारण विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित भएको उनीहरू बताउँछन् । विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्न सरकारले उद्योग विभागमा छुट्टै एकल विन्दु सेवा सुरु गरेको छ । लगानी सम्मेलनमार्फत अन्तर्राष्ट्रिय जगत्लाई लगानीका लागि प्रोत्साहन गरिएको छ । उल्लिखित कारणले विदेशी लगानीमा सुधार आएको जानकारहरू बताउँछन् ।


नेपालमा खासगरी जलविद्युत्, पर्यटन, प्राविधिक शिक्षा र स्वास्थ्यमा विदेशी लगानीको सम्भावना प्रशस्त छ ।


ती क्षेत्रमा लगानी बढाउन एकद्वार लगानी नीति र लगानी परिचालन तथा व्यवस्थापनसम्बन्धी व्यवस्थामा सरलीकरण एवं प्रभावकारी बनाउनुपर्ने र कर प्रशासन सुधार्नुपर्नेमा विज्ञहरूको जोड छ । हरेक वर्ष नेपाल आउने विदेशी लगानी सोही वर्षको प्रतिबद्धताभन्दा थोरै हो ।


यसले विदेशी लगानी प्रतिबद्धताअनुसार आएको छैन भन्ने देखाउँछ । आव ०६६/६७ मा लगानीकर्ताले ९ अर्ब रुपैयाँ विदेशी लगानी प्रतिवद्धता गरेका थिए । सो वर्ष २ अर्ब ८५ करोड रुपैयाँ मात्र लगानी भित्रियो । आव ०७४/७५ मा ५५ अर्ब ७६ करोड रुपैयाँ लगानी प्रतिबद्धता भएकामा १७ अर्ब ५१ करोड रुपैयाँ मात्र आएको छ । यस्तै आव ०७५/७६ मा २५ अर्ब ४८ करोड लगानी प्रतिबद्धता रहेकोमा करिब आधा मात्र लगानी भित्रिएको थियो ।


हाल नेपालमा एफडीआईको आकार करिब २ खर्ब रुपैयाँको छ । यो विदेशबाट आएको पुँजी र त्यसले कमाएको सञ्चित नाफा समेत हो । राष्ट्र बैंकको तथ्यांकअनुसार नेपाल आएको विदेशी लगानीमध्ये सबैभन्दा बढी भारतको छ । यो चुक्ता पुँजीका आधारमा हो । सञ्चित नाफासमेत जोड्ने हो भने भारतभन्दा अरू राष्ट्रको लगानी धेरै देखिन्छ ।


भारतपछि क्रमशः चीन, आयरल्यान्ड, सिंगापुर, जापान, यूएईलगायत राष्ट्रबाट धेरै लगानी नेपाल आएको छ । हाल नेपालमा तीन सय हाराहारी उद्योगमा विदेशी लगानी आएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रकाशित : पुस २३, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?