२५ मेगावाट सौर्य ऊर्जा उत्पादन हुँदै

कृष्ण थापा

(नुवाकोट) — विदुर नगरपालिका–६ देवीघाट कोलनीमा देशकै ठूलो सौर्य ऊर्जा परियोजना निर्माण भैरहेको छ । नेपाल विद्युत् प्राधिकरणले देवीघाटमा जडान गर्न लागेको २५ मेगावाट ग्रिड सोलार प्रोजेक्टले तीन महिनाभित्र १० मेगावाट उत्पादन गर्नेछ ।

दुई चरणमा प्लान्ट निर्माण गर्ने आयोजनाले जनाएको छ । यसका लागि विदुरनगरपालिका ६ वडाभित्र पर्ने देवीघाट जलविद्युत् केन्द्रको कोलनी, रातोमाटे, २ नम्बर कफी क्षेत्रबाहेक फोरवे चौर, केराघारीलगायतका स्थानमा जग्गा सम्याउने कार्य भैरहेको छ । इन्जिनियर विजय मरासिनीले सामग्री आइसकेकाले अब प्यालन राखिने बताए । देवीघाट जलविद्युत् आयोजना निर्माणको क्रममा कर्मचारी आवासका लागि बनाइएको कोलनी भत्काएर जमिन सम्याएर सोलारको नमुना लिने कार्य सकिएको छ । चीनको राइसेन इनर्जी कम्पनीले ईपीसी मोडलमा सोलार पावर जडान गर्न लागेको हो ।


सोलार प्यानल, इनभर्टर, केबल, सुरक्षा लागि आवश्यकीय सामान आइसकेका छन् । सोलार पावर ६ वटा ब्लकमार्फत बिजुली निकालिनेछ । सोलार प्यानल राखी दिउँसो उत्पादित विद्युत् देवीघाटको सबस्टेसनबाट सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । दैनिक सरदर ५ घण्टा सोलारबाट बिजुली उत्पादन हुने प्राधिकरणले जनाएको छ । २५ मेगावाटका लागि ५ सय रोपनी जग्गामा २५ मेगावाट ग्रिड सोलार बन्ने मरासिनीले बताए । प्लान्ट सञ्चालनमा आएपछि राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग पुग्नेछ । ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनाअन्तर्गत नेपाल सरकार र विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सोलार पावर निर्माण गर्न लागेको हो । सोलार प्लान्टको लागत ३ अर्ब ८० करोड रुपैयाँ छ ।


हाल नुवाकोटमा ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए, २१ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट र ५ मेगावाटको तादी खोला सातबिसेमा जलविद्युत् उत्पादन केन्द्र सञ्चालनमा छन् । ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी निर्माणाधीन छ ।


प्रकाशित : पुस १, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्

बीपी–महेन्द्रको ‘दोषी चश्मा’

यादव देवकोटा

तयारी२०१७ मंसिरको आखिरी दिन । राजा महेन्द्र पुसे संक्रान्तिको दिन देशलाई बहुदलीय प्रजातान्त्रिक व्यवस्थाबाट निर्दलीय मनोमानीमा कैद गर्ने आखिरी ताकको पूर्ण बन्दोबस्त गर्दै थिए । पूर्वनिर्धारित भेटघाट (आफ्ना सचिवसँगको समेत) हरू पन्छाएर उनी आफ्ना भाइहरूसँग दिनभर नारायणहिटीमा बसे (माथेमा, दयारामभक्त, ‘अनुभव र अनुभूति,’ पृ. ३२६) ।

साँझ आठ बजे भाइहरूबाट छुट्टिएपछि आफ्ना विश्वासपात्र जनरल समरबहादुर कुँवरलाई बोलाएर सोधे, ‘नीरशमशेर राणा र सुरेन्द्रबहादुर शाहमध्ये हामीले विश्वासमा लिएर काम गर्न सकिने को हो ?’ प्रधानसेनापति नीरशमशेरसँग महेन्द्रले बीपी फालेर आफू अघि बढ्न चाहेको बारे त्यसअघि नै अनेकौं चरणमा अप्रत्यक्ष राय लिइसकेका थिए । नीर भन्थे, ‘सरकार, त्यसो गरिबक्सनु उचित होला र ?’ सेनाका सेकेन्डम्यान शाह पनि निर्वाचित सरकार फालेर सत्ता हातमा लिने कुरामा प्रस्ट जवाफ दिँदैनथे । अन्ततः समरबहादुर फौजी विप्लवको फिल्ड कमान्डरका रूपमा खटाइए ।

त्यो सुक्खा बादल
२०१७ पुस १ । काठमाडौं उपत्यकाको जाडो अघिल्ला वर्षहरूका तुलनामा असाधारण तवरले बढी थियो । आकाश ठूलठूला सुक्खा बादलका टुक्राहरूले ढाकिएको थियो । त्यो बिहान भयंकर जाडो थियो । घाम लाग्ने आशै थिएन (भट्टराई, कृष्णप्रसाद, ‘मेरो म,’ पृ. ५१) । प्रधानमन्त्री बीपी कोइराला आफ्ना सहकर्मीसहित थापाथलीमा तरुणको भेलालाई सम्बोधन गर्न पुगेका थिए । उनीपछि श्रीभद्र शर्मा बोल्दै थिए । जनरल सुरेन्द्रबहादुर शाहले बीपी, गणेशमान लगायतलाई भने, ‘हुकुम भएको छ ।’ सैन्य फौजले अघिपछि घेर्दै बीपीसहितलाई सिंहदरबार लग्यो ।

जब प्रधानमन्त्री बीपीसहित मन्त्री र नेताहरू समातिए, रातभरका अनिदा महेन्द्र दिउँसो साढे तीन बजे रेडियो नेपालबाट गर्जिए, ‘अराष्ट्रिय तत्त्वहरूले धेरै मात्रामा प्रोत्साहन पाई राष्ट्रिय एकतामा समेत बाधा पुर्‍याउने वातावरण आउन लागेकाले, ...समाजमा चाहिने परिवर्तनको सट्टा जनतामा अशान्त र दूषित वातावरण मात्र पैदा गरेकाले, ...उपर्युक्त वातावरण हटाई शान्ति–सुरक्षा कायम राख्न र देशलाई संक्रमण स्थितिबाट बचाउन ... मन्त्रिमण्डल र संसदका दुवै सदनहरूसमेत हामीबाट आज यो घोषणाद्वारा विघटन गरिबक्सेका छौं ।’

महेन्द्रीय राष्ट्रवाद
त्यसको भोलिपल्टै अधिराजकुमार हिमालयको नेतृत्वमा विशेष अधिकारप्राप्त सूचना तथा प्रचार आयोग गठन भयो, जसका सदस्य दयारामभक्त माथेमाले लेखेका छन्— आयोग मातहत रहेको प्रचार विभाग अन्तर्गतका गोर्खापत्र र रेडियो नेपालका निर्देशकहरूलाई कांग्रेसविरोधी प्रचार गर्नु अहिलेको मुख्य काम रहेको निर्देशन दिइयो । बैठकमा राजाका भाइ (हिमालय) ले प्रस्तावै राखे– साहित्यकार, लेखकहरूलाई पैसा दिनुपरे दिएर भए पनि सरकारको कदमको पक्षमा लेखाउनुपर्‍यो । त्यसपछि पत्रपत्रिका, भाषण तथा लेखहरूमा जोडतोडले कांग्रेसको विरोध हुन थाल्यो (पृ. ३२९, ३१) ।
‘देशमा सर्वत्र हाहाकार मच्चियो; सामाजिक स्थिति धमिलिन थाल्यो; मुट्ठीभर व्यक्तिले आफ्नो स्वार्थपूर्ति गर्न थाले; राष्ट्रियता, राष्ट्रिय एकता, स्वतन्त्रता एवं सार्वभौम सत्तामा धक्का पर्न थाल्यो र देशको अस्तित्व नै मेटिने सम्भावना भयो’ भन्दै महेन्द्र भाषण गर्न थाले । अनि त्यसैलाई लिपपोत गरेर महेन्द्रलाई सत्यं शिवं सुन्दरम्को प्रतिमूर्तिका रूपमा व्याख्या गर्ने–गराउने काम अघि बढ्यो । महेन्द्रको कदम राष्ट्र जोगाउने र बीपीको सरकार राष्ट्र सिद्ध्याउने दिशामा अग्रसर रहेका सुगारटाइ दोहोरिइरहे । राजनीतिक दलमा लागेकाहरूलाई अराष्ट्रिय तत्त्व भनेर महेन्द्रले नै लाञ्छित गरेका थिए । बीपीसहितका राजनीतिक प्राणीहरूलाई अराष्ट्रिय तत्त्व घोषणा गरेपछि त्यसको विकल्पमा राष्ट्रवादी तत्त्वको नायकका रूपमा महेन्द्रलाई स्थापित गर्न पद, पैसा, प्रतिष्ठा, प्रलोभन, त्रास वा दबाब दिएर साराका सारा लेखक, कवि, कलाकार, बुद्धिजीवी, सरकारी सञ्चार माध्यम, हन्डी दिएर सञ्चालन गराइएका पत्रिकाहरूलाई परिचालित गरियो ।

राणाकालमा देशनिकाला गरिएका, प्रवासमा रहेका, दार्जिलिङे नेपालीहरूमार्फत राणाशासनको अँध्यारोबारे भारतीय पत्रपत्रिकामा विरोध भएको बुझेका चतुर महेन्द्रले पढेलेखेका लेखक, कवि, कलाकार प्रवासी नेपाली समेतलाई काठमाडौं झिकाए । प्रज्ञा प्रतिष्ठान, नाचघर गठन गरे र आफ्नो स्तुतिका भाकादारहरूलाई छानी–छानी प्राज्ञ र हाकिम बनाए । कसैलाई बक्सिसमा धनसम्पत्ति, कसैलाई पदप्रतिष्ठा, कसैलाई प्रलोभन । अनि त्यही स्कुलको उत्कर्षमा लेखियो— ‘चौतारीमा राजा भेटियो’ । बालकृष्ण समहरूले लेखे— ‘हाम्रो राजा हाम्रो देश, हाम्रो भाषा हाम्रो भेष’ । तिनै बालकृष्णहरू खटाइए र तयार गरिए राष्ट्रिय विभूतिका मानक र पात्रहरू । इतिहासकारका रूपमा वीरगाथा लेख्न खटाइए बालचन्द्र शर्मादेखि ढुण्डीराज भण्डारीसम्म ।

महेन्द्र अभिनन्दन/स्मृति ग्रन्थ, त्यस बखत लिखित पत्रपत्रिकाका लेख, इतिहास, साहित्य, कविता, प्रतिष्ठानका नियुक्तिहरू हेरियो भने त्यस समय नै आफ्नो सग्लो परिचय बनाउन सकेका सार्वजनिक बौद्धिकमध्ये पारिजातबाहेक आफूलाई निर्दलीय पञ्चायतसँग बेच्न बाँकी सग्लो मानिस कोही देखिन्न । जसले निर्दलीय पञ्चायतसामु आफूलाई बेचेनन्, ती अराष्ट्रिय तत्त्व भए । बाँकी जो बचेका थिए, या त तिनले आफूलाई ‘बहुदलीय पञ्चायती’ सत्तासँग बेचे या ‘गणतान्त्रिक पञ्चायत’ सँग । एउटा सिंगै जिन्दगी सत्ताको खालमा ननारिइकन गरिखाने धूलामैला मानिसहरूका पक्षमा, देशको समतामूलक विकासका पक्षमा उभिएर निखारिएका लेखक, कवि, कलाकार, बुद्धिजीवीको संख्या गन्न उभिइयो भने आज पनि एकै हातका औंला पर्याप्त हुन्छन् ।

निरपराध मानिसहरूलाई बिनाअभियोग जेलको चिसो छिंँडी देखाउने, देशलाई स्पष्टतः तानाशाही र लोकतन्त्रका पक्षधरमा विभाजित गराउने महेन्द्रलाई शान्तिका पुजारी, राष्ट्रिय एकताका सूत्रधारका रूपमा महिमामण्डित गर्दै कविता र निबन्ध लेखाइए । निरक्षर र अनपढ मानिसहरूलाई राजाज्ञा नै देवाज्ञा लाग्ने समय थियो । राजाले सत्य मात्रै बोल्छन् या राजाले जे बोल्छन्, त्यो देववचन हो भन्ने मानिसलाई किन पनि लाग्थ्यो भने, राजा विष्णुका अवतारका रूपमा प्रचारित थिए । मानिसहरूको त्यही अज्ञानताको फाइदा उठाएर महेन्द्र बीपी सरकारविरुद्ध देश सिद्ध्याउने तत्त्वको आरोप लगाउँथे । जसले स्वतन्त्रताको माग गरे, तिनलाई ‘आफ्नो क्षुद्र स्वार्थका लागि राष्ट्रिय हितलाई लात मारी हिँड्ने देशका शत्रुहरू’ करार गर्थे । उनी मातहतका रेडियो र पत्रपत्रिका त्यही भाष्यको प्रचार गर्थे ।

सिंगो तीस वर्ष त्यही भाष्यको प्रचार भयो । पाठ्य–पुस्तक, पत्रपत्रिका, सञ्चार माध्यममार्फत महेन्द्र राष्ट्रवादी, राजा राष्ट्रियताको प्रतीक, महेन्द्रको कदमसँग असहमत भई वागी विचार राख्नेहरू देश–बेचुवा, विदेशी दलाल भन्ने भाकाहरूको वितरण भयो । राजालाई राष्ट्रवादी देखाउन उनका पूर्वजहरूको इतिहास अलौकिक वीरगाथाहरूले लिपपोत पारियो । दौरा–सुरुवाल लगाउने राष्ट्रवादी, नलगाउने राष्ट्रद्रोही । इतिहासका नायकहरू, वीरपुरुषहरू । पहाडियाहरू राष्ट्रवादी, मधेसीहरू आयातित भारतीयहरू । पहाडिया अनुहारको मानिस भेटेपछि सिक्किमदेखि बर्मासम्मबाट खोजी–खोजी ल्याएर नागरिकता दिइयो र दक्षिणी सीमानजिक बस्ती बसालेर जमिन दिइयो । त्यसबाट काला अनुहार विदेशी र देशको मामिलामा विश्वास गर्न नसकिने भाष्य तयार पारियो । यो भाष्यमा स्वर मिलाउनेहरू राष्ट्रवादी । नमिलाउनेहरू अराष्ट्रिय तत्त्व, विदेशी दलाल । जस्तो कि आज पनि अपनाइएको छ, सत्ताको जुवाका सोइलाहरूमा बाँधिएका जोतारामा आफ्नो विवेकको घाँटी नार्न तयार नहुने र सत्ताइतर विचार बोक्नेहरूलाई डलरवादी, विदेशी दलाल भन्दै अपमानित गर्ने खेलो । महेन्द्रीय पञ्चायतले तयार गरेको पाखण्डी राष्ट्रवादी भाष्यले डामिएका नयाँ–नयाँ चेलाचपेटाहरू आज पनि सत्ताको अडेस लगाएर मानिसहरूलाई सत्ता–नियोजित राष्ट्रवादी प्रज्ञाचक्षुको शिक्षा दिन तल्लीन छन् ।

महेन्द्र विकासवादी ?
मानिसहरू भन्छन्, ‘महेन्द्र राष्ट्रवादी थिए । नेपालमा विकासका जति पनि आधारहरू बने, त्यो महेन्द्रकै पालामा भयो । महेन्द्रले जति गरे, पछिकाले त्यही पनि बेचेर खाए ।’ देश रहे मात्रै राजा रहन्छ भन्ने बुझेका महेन्द्र नेपालको अस्तित्व रहनुपर्छ भन्नेमा सचेतै थिए । पूर्व–पश्चिम राजमार्गदेखि विकासका केही आधार बनाउने काम महेन्द्रका पालामा भएकै पनि हो । ती कलकारखानादेखि राजमार्ग विदेशी सहयोगबाटै बनाइएका थिए । थपमा, मानिस अल्झाउने ससाना देखावटी कामबाहेक महेन्द्रले लादेको तीसवर्षे पञ्चायतको समयकाललाई बाँकी विश्वको तीव्रतर गतिको विकासको यात्रासँग दाँजेर हेर्ने हो भने, नेपाल विकासमा बाँकी विश्वसँग सर्वाधिक गतिमा छुटेको त्यही तीसवर्षे पञ्चायतकालमा हो । सन् साठीको दशकदेखि नब्बेको दशकसम्म विकासको गतिमा बत्तिएका बाँकी देशहरूसँग दाँज्दा नेपालले महेन्द्रीय पञ्चायतको कथित स्वर्णिम दिनमा विकासको कुन हविगत ब्यहोरेको थियो, थाहा लागिहाल्छ ।

भैदियो चाहिँ के भने, महेन्द्रका पालामा तयार भएका तैबिसेक संरचनाहरूको दोहन गरेर वीरेन्द्रले बाँकी पञ्चायती दिनहरूको गुजारा चलाए । बहुदलकालमा विकासको तीव्रतर गति प्रजातन्त्रमा मात्र सम्भव छ भन्ने बुझाउन काम गर्नुपर्नेमा नवउदारवादका कारिन्दाहरूको योजनामा देशलाई सुताएर पञ्चायतकालीन संरचना पनि बेचेर खाए र मानिसहरूको मनमा बरु योभन्दा त महेन्द्र नै विकासवादी थिए भन्ने पारिदिए । तर, पञ्चायतकालीन तीसवर्षे समय र यताको तीस वर्षको समयबीच नेपाली नागरिकको शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी, चेतना, सञ्चार, सिर्जनात्मकताबीच गम्भीर तुलनात्मक अध्ययन गर्ने हो भने देखिइहाल्छ, हिजो हामी कहाँ थियौं र आज कहाँ छौं । निश्चय नै संसारको विकासको गति जहाँ छ, त्यहाँ पुग्न हामी जुन गतिका साथ अघि बढिरहेका छौं, यो ज्यादै सुस्त छ ।

महेन्द्रीय राष्ट्रवादको असलियत
२०१७ मंसिर २३ गते प्रधानसेनापति नीरशमशेरको निम्तोमा भारतीय सेनापति के.एस. थिमैया नेपाल भ्रमणमा आएका थिए । महेन्द्रले ‘कू’ गर्नु अघिल्लो दिन भारतीय राजदूतको साथ लागेर थिमैया सिकारको बहानामा काठमाडौं छाडेर चितवन पुगेका थिए (देवकोटा, ग्रीष्मबहादुर, ‘नेपालको राजनीतिक दर्पण,’ भाग २, पृ. ६५३) । आफ्नो कदममा उल्झन बन्न सक्ने ठानिएका नीरशमशेरलाई उनै थिमैयाको भ्रमण व्यवस्थापनमा अल्झाएर उनीसँगै लगाइदिएका थिए महेन्द्र्रले । आफूले बीपीको सरकार फाल्न लागेको बारे भारतसँग केही पहिलेदेखि नै प्रस्टसँग कुरा गरिरहेका थिए । त्यसको प्रस्ट संकेत नेपालका लागि तत्कालीन भारतीय राजदूत हरीश्वर दयालले कांग्रेस नेताहरूलाई दिइसकेका थिए ।

पुस १ को केही दिनअघि दयालले कांग्रेस नेताहरूलाई व्यक्तिगत तवरले सचेत गराएका थिए, ‘लोकतन्त्र का मौत आनेवाली है । नरेश एक वा दो दिन के अन्दर बडा कदम चाल रहे हैं (सिंह, मंगलादेवी, ‘नारी संघर्षका पाइलाहरू,’ पृ. २७३) ।’ महेन्द्रको ‘फौजी कू’ पछि भारतीय संसद लोकसभामा पुस २ गते सांसदहरू ब्रजनारायण सिंह, इन्द्रजित सिंह लगायतले ‘कू’ मा भारतीय प्रधानमन्त्रीको समर्थन भएको, महेन्द्रको बीपीविरुद्धको ‘कू’ लाई सघाउन नेपाली सेनाको सम्मान लिने बहानामा सेनापति थिमैयालाई नेपाल पठाएको आरोपउपर जवाफ दिँंदै संसदमा जवाहरलाल नेहरूले भनेका थिए, ‘हामीलाई बराबर यो खबर प्राप्त थियो कि नेपाल नरेश त्यहाँको स्थितिबाट सन्तुष्ट हुनुहुन्न र उहाँ कुनै कारबाही गर्न सक्नुहुन्छ । तर घटना अवस्थामा भारतीय राजदूतको उपस्थिति राजधानी काठमाडौंमा थिएन । प्रधान जनरल थिमैयालाई पनि थाहा थिएन कि नेपालमा त्यस्तो केही हुनेछ (देवकोटा, उही, विभिन्न पृष्ठ) ।’ राजदूतलाई थाहा भएको कुरा सेनापतिलाई थाहा नभएको भन्ने नेहरूको कथनले दिएको त्यसको भित्री चरणमा अझै थप संलग्नताको खुल्ला सन्देश बुझ्न गाह्रो पर्दैन ।

बीपी–महेन्द्र टकराव
शान्ति–सुरक्षा, अमन–चैन आदिलाई आवरण बनाइए पनि खासमा महेन्द्र बीपीले आफूनिकटका मानिसहरू लगाएर सार्वजनिक तवरले आफूविरुद्ध गरेका गालीगलौजपूर्ण भाषण, वक्तव्यबाजीप्रति क्रुद्ध थिए र त्यही क्रुद्धताले बीपीलाई बरखास्त गर्नेसम्मको उक्साहट महेन्द्रमा बढाएको थियो भन्ने उनी र उनी निकटहरूबाट प्रकट धारणाबाट बुझ्न सकिन्छ । महेन्द्रका सचिव दयारामभक्त माथेमाले पुस १ को केहीअघि मात्रै बीपीलाई भेट्दा भएको कुराकानीको निचोडमा भनेका थिए, ‘तपाईंका कार्यकर्ताले राजा र दरबारको विरोधमा मनपरी बोलेर, अखबारहरूमा जथाभावी वक्तव्य छपाएर कसैको भलो हुँदैन (माथेमा, उही, पृ. ३२४) ।’ त्यसैको संकेतस्वरूप ‘कू’ को अठचालीस घण्टाजति अघि भएको भेटमा महेन्द्रले बीपीसँग असन्तोष प्रकट गरेकै पनि रहेछन्, ‘पीएम, तपाईं कांग्रेसीहरूले मेरो ज्यादै बदनाम गर्नुको कारण के हो ? बीपीबाबु, अब तपाईं र ममध्ये एक जना रहनुपर्‍यो (कोइराला, विश्वेश्वरप्रसाद, ‘आत्मवृत्तान्त,’ पृ. २७५) ।’

दोषी चश्मा
राजाले सीधै अब कि तँ छैनस् कि म भन्दासमेत बीपी भने लाचारीको बिछ्यौनामा बसेर मन्त्रिपरिषद बैठकमै भनिरहेका थिए, ‘त्यसलाई रोक्ने वा प्रतिकार गर्ने हामीसँग कुनै उपाय छैन । यसलाई ब्यहोर्नैपर्छ (कोइराला, उही, पृ. २७३) ।’ उपाय नभएको होइन, बीपीको दीर्घचेतको चश्मा दोषी भएको थियो, सत्तामा अडेस लागेका कारण ।

पौने दुई वर्षअघि मात्रै प्रचण्ड बहुमत ल्याएर सरकार बनाएका बीपी प्रजातन्त्र नै खाएर महेन्द्रले मनोमानी गर्दै छन् भनेर अनेक मन्त्री, राजनीतिक नेता, कूटनीतिक नियोगका मानिसहरूले भनिरहँदा पनि राजाले केही गर्दैनन्, गरे नै भने पनि पो के नै गर्न सकिन्छ र भन्ने खालको निराशाको जुन खाले चरममा पुगेर आत्मसमर्पण गरिरहेका थिए, त्यसको विकल्पमा सारा पार्टी पंक्ति परिचालन गरेर केही सहरमा सरकारका पक्षमा ठूलठूला प्रदर्शन गराएको भए, त्यसले महेन्द्रको उत्तेजित भइरहेको ‘ढ्याके चश्मा’ को ‘पावर’ घटाइदिने थियो । उसमाथि कम्युनिस्ट पार्टी र गोर्खा परिषदले प्रधानमन्त्री बीपीलाई महेन्द्रले गडबडी गर्न लागे हामी तपाईंकै पक्षमा उभिन्छौं भनेर बलियो ढाडस दिएका थिए । तर, बीपी ढोडजस्तो आत्मबलको भरोसामा उभिएका थिए क्यार, नीच मारेर महेन्द्रको मार थाप्ने घडीको प्रतीक्षा गरिबसे !

उनै बीपीको चर्चित कथा छ— ‘दोषी चश्मा’ । उक्त विम्बात्मक कथामा बीपी मानिसका चेतनाको लघुदृष्टि, त्यसले पैदा गर्ने गडबडी र अस्वस्थ परिणामबारे उत्कृष्ट तवरमा पेस हुन्छन् । ‘केशवशरणको चश्मा दोषी थियो । अलिक टाढाको मानिस तिनी चिन्न सक्दैनथे (कोइराला, विश्वेश्वरप्रसाद, ‘दोषी चश्मा,’ पृ. १) ।’ नजाने त्यो उनले आफैलाई विम्ब बनाएर लेखे या आफ्नो सरकार बरखास्त गराएर आफूलाई जेलको बाटो देखाउने राजा महेन्द्रबारे !

बीपीको दोषी चश्मा
२००७ सालमा राजा, राणा र कांग्रेसबीच दिल्लीमा भएको भनिएको सुलहको जुन प्रस्ताव थियो, त्यसमा सशस्त्र युद्धरत नेपाली कांग्रेसको कुनै पनि किसिमको अडान या विचारको प्रतिनिधित्व या संलग्नता थिएन । खासमा पहिले नेहरूले प्रस्ताव गरी त्रिभुवनमार्फत पठाएका बुँदाहरू मोहनशमशेरले आफ्नो हुर्मत जोगाउन नौटंकी गरी सामान्य संशोधनसहित जे घोषणा गरे काठमाडौंमा, त्यसलाई भारतमा शरणार्थी बनेका त्रिभुवनले उतैबाट समर्थन गरे । बेलायत भ्रमणमा रहेका नेहरूले लन्डनबाटै वक्तव्य जारी गरिदिए— नेपालका प्रधानमन्त्रीले राजनीतिक सुधारको जुन घोषणा गरेका छन्, म त्यसको स्वागत गर्छु । कालान्तरमा मोहनशमशेरको त्यही घोषणा अनि त्यसउपर त्रिभुवन र नेहरूको अनुमोदनलाई कांग्रेसले स्वीकार गर्‍यो ।
२००७ फागुन ६ गते नेपाली कांग्रेसले बोलाएको ‘बृहत् कार्यकर्ता भेला’ मा भद्रकाली मिश्रको विषयलाई लिएर कार्यकर्ताहरूले चर्को आलोचना गरे । मिश्र भारतीय राजदूत सी.पी.एन. सिंहले दिल्लीमार्फत कांग्रेसमाथि लादेका भारतीय प्रतिनिधि भएकाले उनलाई मन्त्री बनाउन नहुने भन्दै विरोध भएको थियो । मिश्रले ‘दिल्ली सहमति’ अघिसम्म कांग्रेसको सदस्यता लिएका थिएनन् । लडाइँ थामिएर सरकार बन्ने चरणमा नेहरूको निर्देशनमा मिश्रलाई मन्त्री बनाउन कांग्रेसको सदस्यता दिइएको भन्दै कार्यकर्ता आक्रोशित भएका थिए (सिंह, गणेशमान, ‘मेरा कथाका पानाहरू,’ भाग २, पृ. २७१) । यी घटनाहरूले कांग्रेस र यसको नेतृत्वमा जारी सशस्त्र संघर्षको खास अधिकारी दाबी गर्ने बीपी आफ्नो लक्ष्य, विचार, क्रान्तिको आखिरी परिणामको दृढतामा रत्तीभर प्रस्ट थिएनन् भन्ने देखाउँछन् ।

मोहनशमशेरको नेतृत्वको सरकारबाट राजीनामा दिएपछि बीपी आफ्नै नेतृत्वमा सरकार बन्नेमा ढुक्क थिए । तर बने मातृकाप्रसाद । त्रिभुवन भन्थे— युवराज (महेन्द्र) ले तिमीहरू (बीपी) लाई धुरुधुरु रुवाउँछ । उनकै मन्त्रिपरिषदका सदस्यहरू भन्थे— महेन्द्रले सत्ता लिँदै छन् । मस्तराम बीपी भन्थे— तपाईंसँग के प्रमाण छ ? त्यसै भन्दिने जे पनि ? आफैलाई जेलको छिँंडीमा पटक–पटक सुताउने राजतन्त्रसँग आफ्नो घाँटी जोडिएको भन्छन् बीपी, देशमा खतरा आइलागेको कारण देखाएर । उनको घाँटी जोडिएको राजतन्त्रले उनको बुझाइविपरीत त्यसको थप तीन दशक पनि देशलाई थेग्न सकेन । यसमा पनि बीपीको दृष्टिचेत दोषी देखिन्छ ।

पुष्पलालले बीपीलाई पञ्चायतविरुद्ध संयुक्त संघर्षको प्रस्ताव राखेका थिए । २०३० को त्यस्तै प्रस्तावबारे बीपीले सारनाथमा जवाफ दिए पुष्पलाललाई, ‘नेपालका कम्युनिस्टहरूसँग मिलेर जाँदा मलाई गाह्रो हुन्छ । जानु त पर्ने हो, पर्खनुस् (शेरचन, अमिक, ‘फर्केर हेर्दा,’ पृ. १२) ।’ यसको अर्थ, उनी जमिनी यथार्थबाट संघर्ष उठाउनभन्दा बाहिरियाको चित्त खुसी पारेर शक्तिमा फर्कन सकिन्छ भन्ने निर्क्योलमा पुगेको देखिन्छ, जुन सोच उनको ‘दोषी चश्मा’ का रूपमा प्रमाणित हुन केही वर्ष पनि पर्खनुपरेन । बरु पुष्पलालले भनेझैं बीपीले संयुक्त संघर्ष अस्वीकार गरेको सोह्र वर्षपछि कांग्रेस–कम्युनिस्ट संयुक्त आन्दोलनका कारण, बीपीको सरकार बरखास्त गरी महेन्द्रले लादेको पञ्चायत बिदा भयो । बरु पुष्पलालमा देशको राजनीतिको दूरदृष्टि देखिन्छÙ वैचारिक दृढता र दीर्घकालीन कार्यक्रम देखिन्छ । संविधानसभा, गणतन्त्रजस्ता जुन कार्यक्रम उनी नेतृत्वको कम्युनिस्ट पार्टीले अघि सारेको थियो, समय लाग्यो, तर देशले त्यहाँ नपुगी धरै पाएन । यस्तो थियो, बीपीको राजनीतिक चेतको दृष्टिदोष ।

महेन्द्रको दोषी चश्मा
कांग्रेसको बहुमत आउँछ भन्ने निश्चित लागेको भए सम्भवतः महेन्द्रले चुनावै गराउने थिएनन् । त्यसैको परीक्षण गर्न उनी चुनावको घोषणाअघि देश दौडाहामा निस्किएका थिए । काठमाडौं, थानसिंह बेसी, नुवाकोट, सामरी भन्ज्याङ, कटुन्जे, ज्यामरुङ, दरबुङ फाँट, मनकामना, गोरखा बजार, पालुङटार, बन्दीपुर, दमौली, पोखरा, पश्चिम नुवाकोट, भीरकोट, गह्रौंकोट, तानसेन, खस्यौली, तौलिहवा हुँदै नेपालगन्ज, दाङ लगायत पुगेका थिए उनी । तत्तत् स्थानका कर्मचारी र सुरक्षा निकाय, गोर्खा परिषदसम्बद्ध नेताहरूसँगको कुराकानीबाट महेन्द्र कांग्रेसको बहुमत आउँदैन भन्ने निश्चयमा पुगेका थिए । त्यही भ्रमणका क्रममा हो, महेन्द्रले तौलिहवामा काठमाडौंलाई नेपाल नभन्नू, मेचीदेखि महाकालीलाई नेपाल भन्नू, राजधानीलाई काठमाडौं मात्रै भन्नू भनेर भाषण गरेको । उनलाई निकटस्थहरूले चुनावमा कसैको पनि बहुमत आउँदैन भनेर कान फुकेका थिए (खनाल, रेवतीरमण, ‘अनुभूति र अभिव्यक्ति,’ पृ. ४६) ।

महेन्द्रले कथं बीपीले चुनाव जितिहाले, कसरी आफ्नो हात माथि पार्ने भन्ने खेललाई आकार दिइसकेका थिए, संविधानमा आफूअनुकूल प्रावधानहरू राखेर । २००७ सालको परिवर्तनपछि ‘नेपाल सरकार’ लेख्ने गरिएकामा २०१५ वैशाख २ देखि महेन्द्रले ‘श्री ५ को सरकार’ लेख्ने आदेश जारी गराएका थिए । सेना आफ्नो मातहत रहने मात्रै होइन, संसदमा राजपरिवारबारे छलफल गर्न नपाइने, संकटकालीन अधिकार राजाले प्रयोग गर्ने र त्यसलाई संसदबाट अनुमोदन गर्न नपर्ने प्रावधान संविधानमा उल्लेख गरिएका थिए । आसन्न चुनावको सम्भावित बहुमतको ज्वरोले ग्रस्त बीपीको दोषी चश्माले महेन्द्रको चतुर्‍याइँको तस्बिर प्रस्टसँग देख्न सकेन । फलस्वरूप पुस १ मा महेन्द्रले आफूसँग रहेको त्यही विशेषाधिकार प्रयोग गरेर प्रजातन्त्र सिद्ध्याइदिए ।

भ्रष्टाचारको विरोध र सुशासनको हौवा पिटाएर शिशु प्रजातन्त्रको जननिर्वाचित डेढवर्षे सरकारलाई बलात् जेलको बाटो देखाएका महेन्द्रबारे उनैले टीका लगाएर प्रधानमन्त्री बनाएका डा. केआई सिंहले बडो कठोर टिप्पणी गरेका थिए— मेरो पालामा भ्रष्टाचार निर्मूल पारूँ भनी त्यसको मूल खोज्दै गएँ । जाँदा–जाँदा म त राजदरबारको मूलढोकामै पो पुगेंँ । जुन दिन त्यहाँ पुगेँं, मैले मेरो मन्त्रिमण्डल विघटन भएको सुन्नुपर्‍यो (सिंह, उही, पृ. १३२) । बीपीले महेन्द्रमाथि उस्तै खाले गम्भीर आरोप लगाएका छन्— फगत तीन करोड रुपियाँका लागि राजा देशलाई नै दाउमा हालिरहेका छन् (‘बीपी कोइरालाको डायरी,’ पृ. १५५) ।

महेन्द्रलाई लाग्थ्यो— सबै शक्ति हातमा लिएर, विरोधीहरूलाई तह लगाएर प्रयास गरियो भने देश विकास त चुट्कीको भरमा गर्न सकिहालिन्छ । बीपीले बित्थामा दुई वर्ष मलाई गाली गरेर निखारे । तर, जब सत्ता हातमा लिएर उनी अघि बढे, २०२२ तिरदेखि नै उनी अब पार लाग्दैन भन्नेमा पुगिसकेका थिए । जीवनको आखिरी कालमा आफूनिकट भएकाहरू सबै स्वार्थवश आफूसँग नजिकिएको, प्रजातन्त्रको विकल्पले गतिलो परिणाम नदिएको र बीपीको दाँजोमा उभिने अर्को मानिस आफूले नदेखेको बताउन थालेका थिए । आफूलाई राष्ट्रवादी ठान्ने महेन्द्रले २०१७ उप्रान्त जति पनि प्रधानमन्त्री या राजदूतहरू बनाए, कीर्तिनिधि विष्टबाहेक देशको हित भर्सेलामा पारेर विदेशी तावेदारीका लागि हाजिरी नलगाउने को–को भए त भनेर समयले सोध्यो भने, त्यसको जवाफ केवल मौनता मात्रै हुनेछ ।

आत्मालाप
भारतीय उपमहाद्वीपमा सम्भवतः सबैभन्दा बढी प्रभाव छाड्न सफल वीरगाथामा समर्पित महाख्यान महाभारतमा वर्णित एउटा घटना छ, अभिमन्युको । उनी चक्रव्यूह भेदन गरेर भित्र पस्न त जान्दछन् र पस्छन् पनि, तर त्यसलाई तोडेर बाहिर निस्कन जान्दैनन् । चक्रव्यूहभित्रै समर खेल्छन् र त्यही आफैले तोडेर भित्र पसेको चक्रव्यूहबाट बाहिरिन नजानेर मारिइन्छन् । महेन्द्र त्यस्तै छन्Ù आफै बीपीलाई तेजोवध गर्न प्रजातन्त्रलाई निखारेर पञ्चायतको चक्रव्यूहमा पस्छन्Ù पसेपछि यसरी फस्छन् कि चाकरी बजाएर जिन्दगी उजिल्याउने वफादारहरूको घेराले घेरिएको र आफैले सिर्जना गरेको निर्दलीय पञ्चायतको घेराबाट निस्कन सक्दैनन् ।

आफ्नै मस्तिष्क र इन्द्रियले सञ्चालित हुन थालेको घडीदेखि महेन्द्र आफूले पहिरिरहेको सोचाइको चश्मा दोषी देख्न थाल्छन् र भन्छन्— प्रधानमन्त्री बनाएर दुनियाँलाई देखाउन बीपीभन्दा योग्य मानिस मसँग कोही छैन ।

देशका नागरिकको एकतापूर्ण संघर्षलाई भन्दा बढी विदेशी आडभरोसालाई आधार ठान्ने बीपी विदेशीहरूको ढाप उनीहरूको स्वार्थको टाँगा गुडाउने अभिप्रायका लागि मात्रै हो भन्ने महसुस गरेको क्षण नै आफूले भिरिरहेको दोषी चश्मा फुकालेर अघि बढ्छन् । संकल्प गर्छन्— देशप्रेमको हितको मूल्यमा मेरो जिन्दगीको कुनै मोल छैन । २००३ माघ १२–१३ मा कलकत्ताको भवानीपुरस्थित खालसा हाइस्कुलमा भएको अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस (पछि नेपाली कांग्रेस) को सम्मेलनको समापन समारोहमा बीपीले भनेका थिए— ‘वास्तवमा नेपाल र भारत दुई देश हैनन् । सबै प्रकारले नेपाल भारतवर्षको एउटा अंग भएको देखिन्छ (गौतम, राजेश, ‘नेपालको प्रजातान्त्रिक इतिहास र नेपाली कांग्रेस,’ भाग १, पृ. ६०) ।’ तिनै बीपी २०३३ साल पुस १६ मा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि असाधारण देशभक्तका रूपमा प्रस्तुत हुन्छन् । जनतालाई केन्द्रमा राखेर, देशको हितका पक्षमा उभिने देशभक्तका रूपमा । उनी भन्छन्, ‘राष्ट्रको इतिहासमा यस्तो घडी आउँछ, जब यसका बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नुपर्छ । ममाथिको सम्भावित व्यक्तिगत खतरा राष्ट्रको खतराको सामुन्ने नगण्य छ ।’

अन्त्यमा,
बीपीमा नजिकको घटनाक्रम र त्यसले ल्याउने परिणामबारे सुझबुझ राख्नमा दृष्टिदोष देखिन्छ । तात्कालिक घटनाक्रमले जता लतार्‍यो, उतै लतारिने प्रवृत्ति देखिन्छ उनमा । तर, त्यसभन्दा माथि उनमा एउटा भव्य युगचेत थियो, प्रजातन्त्रको विकल्प अधिनायकवाद हुनै सक्दैन भन्ने । अल्पदृष्टिको कमजोरीलाई उनको प्रजातन्त्रप्रतिको असीम प्रतिबद्धताले, त्यही प्रजातन्त्र प्राप्तिका लागि भोगेको कठोर कारावास, प्रवासका दिनहरूको दृढतापूर्वक सामनाले छोपिदिएर विरलाकोटि नेताका रूपमा उनको कद अग्लो बनाएको छ । नत्र त आफ्नै निर्वाचित सरकारसम्म जोगाउन नसक्ने, राजाका षड्यन्त्रहरूको सामना गरेर त्यसलाई विफल बनाउन नसक्ने, सेनाको लोकतान्त्रीकरणको होस सैन्य–बन्दी बनेपछि मात्र आउने, संविधानसभाको युगीन आवाजलाई संसदीय चुनावसँग साटफेर गर्ने, सत्तामा छँदा अरूमाथि दमन गर्ने बीपी कमजोरीको उत्तिकै अग्लो रासमा उभिएका छन् ।

महेन्द्रमा भने तत्कालीन समयलाई देख्न सक्ने नजिकको दृष्टि तेज देखिन्छ भने आफ्ना कदमले ल्याउन सक्ने दीर्घकालीन असर खुट्याउन सक्ने क्षमता कमजोर । २०१७ सालमा उनले जुन बाटो समाते, त्यसले देशलाई दीर्घकालीन विकल्प दिएन । कालान्तरमा त्यो देशको तीसवर्षे आयुको बरबादीका रूपमा दर्ज भयो । उनैका छोरा उनले लादेको व्यवस्था थेग्न नसकेर पूर्ववत् बहुदलीय लोकतन्त्रको बाटामा फर्कनुपर्‍यो । बरु त्यसले विवाद र बहसभन्दा माथि मानिने परम्परागत राजतन्त्रको विकल्पमा गम्भीरतापूर्वक सोच्न नागरिकहरूलाई बाध्य बनायो । प्रकारान्तरले राजतन्त्र अन्त्यको जग नै महेन्द्रको दूरदृष्टिको क्षमता मठारिएको पुस १ को घटना मञ्चित गर्ने त्यही दोषी चेतको परिणाम बनिदियो ।
ट्वीटर : @gaunkmoanchhey

प्रकाशित : पुस १, २०७६ ०९:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×