१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

लुम्बिनी चिनी उद्योग बन्द

नवीन पौडेल

(परासी) — पश्चिम नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी उद्योग बन्द भएको छ । व्यवस्थापनमा समस्या देखाउँदै उद्योग बन्द गरिएको हो ।

चीन सरकारको सहयोगमा ०४६ माघबाट उद्योग सञ्चालनमा आएपछि यस क्षेत्रमा उखु खेतीले व्यावसायिक रूपमा फड्को मारेको थियो । चिनीको मूल्य समायोजन नभएको, उखु प्रशस्त मात्रामा उपलब्ध नभएको भन्दै गत वर्ष नै कारखाना बन्द हुने अवस्थामा पुगेको थियो ।


सञ्चालक मनीष अग्रवालको निधन गत वर्ष भएको थियो । ०६२ माघदेखि सरकारले निजीकरण गरेर उद्योग अग्रवाललाई हस्तान्तण गरेको थियो । ४६ बिघा जमिन र कारखानाका पूर्वाधारसहित २५ वर्षका लागि ४२ करोड १२ लाख रुपैयाँमा अग्रवाललाई दिएको कारखानाका प्रबन्धक कुस सुवेदीले बताए । ‘यो सिजनबाट उद्योग सञ्चालनमा आउँदैन,’ उनले भने, ‘प्राविधिक रूपमा पनि मर्मत गर्नुपर्ने र व्यवस्थापकीय पक्षले पनि नचलाउने निर्णय गरेकाले कारखाना बन्द भएको हो ।’


यस कारखानाले उखु खरिदबापत गत सिजनको ७ करोड रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी छ । अहिले उद्योग बन्द भएपछि बाँकी रहेको रकम भुक्तानी नपाउने चिन्तामा किसान परेका छन् । तत्काल बाँकी रकम भुक्तानीको वातावरण मिलाउन उनीहरूले जिल्ला प्रशासनसँग आग्रह गरेका छन् ।


उखु उत्पादक किसान समिति नवलपरासीका अध्यक्ष उमेश यादवले भुक्तानीका लागि बारम्बार ताकेता गरेको भए पनि उद्योगले अहिलेसम्म रकम नदिएको बताए । ‘चिनीको मूल्य कम भएको, बिक्री नभएको बहाना बनाएर उद्योगले किसानको रकम रोकेको थियो,’ उनले भने, ‘अब उद्योग नचलेपछि बाँकी रकम भुक्तानीमा अन्योल देखियो । प्रशासनले तत्काल भुक्तानीको वातावरण मिलाएर किसानलाई न्याय दिनुपर्छ ।’

प्रकाशित : मंसिर ३०, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?