कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

झरीले करोडौंका इँटा नष्ट

माधव ढुंगाना

(भैरहवा) — रूपन्देहीका चार दर्जनभन्दा धेरै इँटा व्यवसायी यस वर्षको पहिलो सिजनका लागि इँटा उत्पादनको तयारीमा थिए । यसका लागि स्वदेश र भारतको बिहार, उत्तरप्रदेश र उडिसादेखि मगाइएका ८ हजार बढी मजदुर व्यवस्थापनमा जुटेका थिए । जमिनमा काँचो इँटा तयार पार्ने (पथाउने), घाममा सुकाउने, र पोल्ने भट्टासम्म ओसार्ने काम भइरहेको थियो । शुक्रबार बिहानैदेखि रातिसम्म परेको झरीले सबै इँटा गलेर नष्ट पारेको छ ।

झरीले करोडौंका इँटा नष्ट

माघको पहिलो हप्तादेखि आगो लगाएर इँटा उत्पादन गर्ने सबै व्यवसायीको योजना बेमौसमी झरीले चकनाचुर भएको छ । ‘पहिलो सिजनमा उत्पादनका लागि तयारी गरिएको मेरो उद्योगमा मात्रै २५ लाख गोटाभन्दा धेरै इँटा गलेर नष्ट बनाएको छ,’ लुम्बिनी इँटा उद्योग व्यवसायी संघ रूपन्देहीका महासचिव तथा स्थानीय व्यवसायी अजय कुमार गुप्ताले भने, ‘अब लगातार घाम लागे पनि जमिन सुकेर काँचो इँटा तयार पार्न कम्तीमा २० दिन पर्खिनुपर्छ ।’


इँटा व्यवसायमा काम गर्ने मजदुर स्वदेशमा पर्याप्त नपाइने भएकाले ७५ प्रतिशत मजदुरका लागि भारतमा निर्भर रहनुपर्ने बाध्यता नेपाली इँटा व्यवसायीलाई रहेको उनले बताए । भारतीय मजदुरका लागि अग्रिम पेस्की रकम उपलब्ध गराउनुपर्ने हुन्छ । यति गर्दा पनि बोलाएको समयमा उनीहरू उपलब्ध हँदैनन् । कतिपय मजदुर एक पटक घर गएपछि फर्केर आउँदैनन् । यहाँ बसुन्जेल सबै मजदुरलाई खाने बस्ने र दैनिक पारिश्रमिकको व्यवस्था व्यवसायीले मिलाउनुपर्छ । बेमौसमी झरीले काचो इँटा त नष्ट भएर आर्थिक नोक्सानी बेहोर्नुपरेको त छँदै छ । यसबाहेक २० दिनसम्म करिब २ सय मजदुरबिना काम पालेर राख्ने कि घर फर्काउने ? भन्ने चिन्तामा गुप्ता छन् ।


रूपन्देहीमा चालु अवस्थामा रहेका ५१ जना इँटा व्यवसायीलाई शुक्रबारको बेमौसमी झरीले ल्याएको साझा पीडा हो यो । लुम्बिनी इँटा उद्योग व्यवसायी संघका अनुसार रूपन्देहीमा दर्ता भएका ५३ वटा उद्योगमध्ये ५१ वटा चालु अवस्थामा छन् । शुक्रबारको झरीले रूपन्देहीमा साढे ३ करोड गोटा काँचो इँटा झरीले गलेर नष्ट भएको र यसबाट ३५ करोडभन्दा धेरैको आर्थिक नोक्सानी भएको प्रारम्भिक अनुमान संघले गरेको छ । ठूलो इँटा उद्योगमा प्रतिउद्योग करिब ३ सय र सानोमा डेढ सय जना मजदुरले काम गर्ने गर्छन् ।


संघका अनुसार वर्षको पहिलो सिजनअन्तर्गत माघको पहिलो हप्तादेखि इँटा पोल्ने काम सुरु हुन्छ । कामदारको अभावले गर्दा दोस्रो सिजनका लागि फागुनमा होली पर्वपछि इँटाको काम सुरु हुने गर्छ । स्वदेशमा कामदार पाइँदैन । न त पोल्नका लागि घाममा सुकाएर राखिएका कच्चा इँटा भट्टीसम्म पुर्‍याउनका लागि घोडा र खच्चड नै । प्रत्येक व्यवसायीले सिजन सुरु भएपछि भारतको उत्तर प्रदेश, बिहार र उडिसासहित परिवारसहितका मजदुर, घोडा, खच्चड ठेकेदारमार्फत मगाउनुपर्छ । अग्रिम पेस्की दिनुपर्छ । अधिकांश मजदुर किसान हुन्छन् । धान काटेर, दाइँ गरेर गहुँ छरेपछि बल्ल मजदुर कामका लागि आउँछन् ।


पहिलो सिजनमा इँटा पोलेपछि मजदुर पुसको तेस्रो सातातिर घर फर्किन्छन् । तिनै मजदुर आएपछि मात्रै बल्ल दोस्रो सिजन फागुनदेखि वैशाखसम्म उत्पादन गर्ने गरिन्छ । ‘इँटा व्यवसायी बर्सेनि बेमौसमी झरीबाट प्रताडित हुनुपर्ने नियति नै बनेको छ,’ इँटा उद्योग व्यवसायी संघ प्रदेश ५ का अध्यक्ष थानेश्वर घिमिरेले भने, ‘यस व्यवसायका लागि उपयुक्त नीति नहुँदा र व्यवसायीको कुरा नसुन्दा बेमौसमी झरीले दिनेभन्दा धेरै पीडा सरकारीस्तरबाट हुने गरेको छ ।’

प्रकाशित : मंसिर ३०, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?