साताको सेयर : लघुवित्त र बिमाको सेयरमा आकर्षण

काठमाडौँ — पछिल्लो दुई सातायता बजारमा लघुवित्त र बिमा समूहका कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । केही महिनाअघिदेखि बजारमा बिमा र लघुवित्त कम्पनीका सेयर कारोबार घटेको थियो । पछिल्ला सातामा फेरि ती कम्पनीको सेयर कारोबार बढ्न थालेको हो ।

साताको सेयर : लघुवित्त र बिमाको सेयरमा आकर्षण

पछिल्लो एक सातामा निरन्तरजसो सेयर बजार बढिरहेको छ । यो अवधिमा सूचीकृत सबै समूहका कम्पनीको सेयर कारोबार बढेको छैन । केही राम्रा सीमित कम्पनीको सेयर कारोबार मात्र बढेको छ । यसलाई बजारका जानकारहरूले ‘सट्टेबाजी’ बजार बढेको रुपमा विश्लेषण गरेका छन् । सूचीकृत सबै कम्पनीको सेयर नबढेकाले सीमित समूह र कम्पनीका सेयर मात्र बढेकाले सट्टेबाजी भन्ने सकिने उनीहरूको भनाइ छ ।


यो साताको कुल कारोबारमा करिब साढे १७ प्रतिशत कारोबार हिस्सा लघुवित्त समूहको छ । गत साताभन्दा यो एक प्रतिशत विन्दुले बढी हो । सो अवधिमा बिमा समूहको कारोबार हिस्सा करिब १८ प्रतिशत छ । गत साता कुल कारोबारमा बिमा समूहको हिस्सा १७ प्रतिशत मात्र थियो ।


बजारमा बिमा र लघुवित्त समूहको कारोबार हिस्सा बढेसँगै बैंकिङको घटेको छ । यो साता २ अर्ब ५६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये बैंकिङ समूहको मात्र ८० करोड ५६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यो कुल साप्ताहिक कारोबारको करिब ३१ प्रतिशत मात्र हो । साप्ताहिक कारोबारमा कुल कारोबारमा बैंकिङ समूहको हिस्सा हालसम्मकै कम हो । गत साता यस्तो हिस्सा ३८ प्रतिशत थियो ।


सामान्य अवस्थामा बैंकिङ समूहले कुल सेयर कारोबारको करिब ५० प्रतिशतभन्दा धेरै हिस्सा ओगट्दै आएको छ । तर, पछिल्ला ५/६ महिनायता यस्तो हिस्सामा निकै उतारचढाव देखिँदै आएको छ । कहिले यस्तो हिस्सा बढेर ६४ प्रतिशतसम्म पुगेको छ भने कहिले ४२ प्रतिशतसम्म पनि झरेको छ । हाल बजारमा २७ वाणिज्य बैंकका सेयर सूचीकृत छन् । ग्लोबल आईएमई र जनता बैंकको मर्जरपछि सूचीकृत बैंक संख्या २६ मा झर्नेछ । सरकारको पूर्ण स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको सेयर सूचीकृत छैन ।


बैंक तथा वित्तीय संस्थाले पहिलो त्रैमासको अपरिष्कृत प्रतिवेदन सार्वजनिक गरिसकेका छन् । धेरैको लाभांश पनि घोषणा भइसहेको छ । यही कारण पनि बैंकिङ समूहको सेयरमा लगानीकर्ताको आकर्षक कम रहेको जानकारहरू बताउँछन् । यो साता करिब ३६ हजार ४ सय कारोबारबाट १ सय ९० कम्पनीका ८२ लाख ४६ हजार कित्ता सेयर किनबेच भए । सो अवधिमा कुल बजार पुँजीकरण करिब ५२ अर्ब रुपैयाँले विस्तार भएको छ ।


यो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँचै दिन खुला रह्यो । विगतमा जस्तै यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कारोबार भएन ।

प्रकाशित : मंसिर २८, २०७६ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?