कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दूध ६ रुपैयाँ बढ्दा दुग्धवस्तु ५० रुपैयाँ महँगो

सरकारी स्वामित्वमा सञ्चालित डीडीसीले समेत ५० रुपैयाँसम्म बढाएको छ
राजु चौधरी

काठमाडौँ — सरकारले दूधमा प्रतिलिटर ६ रुपैयाँ बढाउँदा दुग्धवस्तुको मूल्य भने ५० रुपैयाँले महँगो भएको छ । निजी डेरीहरूले मात्रै हैन सरकारी स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थान (डीडीसी) ले समेत दुग्धजन्य पदार्थमा ५० रुपैयाँसम्म बढाएको छ ।

दूध ६ रुपैयाँ बढ्दा दुग्धवस्तु ५० रुपैयाँ महँगो

डीडीसीले दूधको मूल्य भदौ २१ गतेदेखि लागू हुने गरी प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको थियो । त्यसलगत्तै निजी डेरी उद्योगहरूले असोज १ गतेबाट दुग्धजन्यवस्तुको मूल्यवृद्धि गरेका हुन् । डीडीसीले पनि कात्तिक २९ गतेदेखि लागू हुने गरी पनिर, घिउ, नौनी, दही, मिठाईलगायतको मूल्य बढाएको छ । डेरी एसोसिएसनका अनुसार पनिरमा प्रतिकिलो ५० रुपैयाँ बढेको छ । नयाँ मूल्यअनुसार एक किलो पनिर खरिद गर्दा ६५० रुपैयाँ तिनुपर्छ । घिउमा प्रतिलिटर ५० रुपैयाँ बढेर ९ सय ५० रुपैयाँ, नौनीमा ५० रुपैयाँ बढेर ८ सय ५० रुपैयाँ पुगेको एसोसिएसनले जनाएको छ । यस्तै दहीमा प्रतिलिटर १० रुपैयाँ बढाइएको छ । मूल्यवृद्धि गर्ने व्यवसायीहरूले भने यसलाई स्वाभाविक मान्छन् ।


‘१० लिटरको दूधबाट १ किलो पनिर बन्छ,’ एसोसिएसनका महासचिव प्रह्लाद दाहालले भने, ‘दूधको मूल्य बढेपछि दुग्धजन्य वस्तुको मूल्यवृद्धि स्वाभाविक हो ।’ यी वस्तुबाहेक अन्यमा दुग्धजन्य वस्तुमा पनि करिब १० प्रतिशतले मूल्य बढेको एसोसिएसनले जनाएको छ । डीडीसीले पनिरमा निजी डेरीभन्दा बढी मूल्य निर्धारण गरेको छ । यसले ५ सय ग्रामको पनिरको मूल्य ३८५ रुपैयाँ निर्धारण गरेको छ । २ सय ग्रामको पनिरको मूल्य १६० रुपैयाँ तोकेको डीडीसीका बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले बताए । उनले मूल्य डेरी उद्योगकै अनुसार निर्धारण गरेको दाबी गरे । ‘अभाव हुँदा केही बढ्न सक्छ । बिक्री नहुँदा घट्न सक्छ,’ उनले भने, ‘मूल्य डेरी उद्योगअनुसार हो ।’ डीडीसीले पनि घिउ प्रतिकिलो मूल्यमा ९५०, बटरको ८५०, २५० ग्रामको बटरलाई २५० रुपैयाँ मूल्य तोकेको छ ।


फ्रेस मिल्कमा १० रुपैयाँ बढाएको डीडीसीले जनाएको छ । ५० रुपैयाँ पर्ने २ सय एमएल फ्रेस मिल्कको मूल्य बढेर ६० रुपैयाँ, २ सय रुपैयाँ पर्ने मिठाईको बट्टा (१० पिस मिठाई) को मूल्य बढेर २२० रुपैयाँ पुगेको झाले बताए । आधा लिटर प्याकेट दहीको मूल्यमा पनि १० रुपैयाँ बढाएको डीडीसीले जनाएको छ । दूधको मूल्य बढेपछि प्रशोधन खर्च, प्याकेजिङ, प्रशासन, बिक्री खर्चसहित जोडेर मूल्य निर्धारण गरिएको झाको दाबी छ । डेरी उद्योगहरूले मूल्य बढाएपछि खुद्रा व्यापारमा थप २/४ रुपैयाँ बढीमा बिक्री हुन्छ ।


उपभोक्ताकर्मीहरूले भने मूल्यवृद्धि अस्वाभाविक भएको बताउँछन् । दूधको मूल्य बढेको बहानामा सरकारी निकायबाटै उपभोक्ता ठगी भएको उनीहरूको दाबी छ । ‘डीडीसी र डेरी उद्योगले बिक्री गर्ने दूध तथा दहीको गुणस्तर बर्सेनि खस्किँदै गएको छ । खाद्य प्रविधिले गरेको परीक्षणमा डीडीसीकै विरुद्ध करिब आधा दर्जनभन्दा बढी मुद्दा दर्ता भएका छन्,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘दूधको प्रतिलिटर मूल्य देखाएर किलोमै ५० रुपैयाँ बढाउनु ठगी हो ।’ मूल्यको सन्दर्भमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गर्नुपर्छ । गुणस्तरको हकमा भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन गर्नुपर्छ । तर, यी विभाग सुस्त हुँदा उपभोक्ता मूल्यसँगै गुणस्तरमा पनि ठगिएका तिमिल्सिनाको आरोप छ । ‘अनुगमन र कारबाही नहुनु भनेकै मिलेमतो हो,’ उनले भने, ‘आपूर्ति र खाद्य प्रविधिको पनि मिलेमतो देखिन्छ ।’


आइसक्रिमको हकमा सिजन नभएकाले मूल्य वृद्धि नभएको एसोसिएसनको दाबी छ । माघदेखि आइसक्रिमको मूल्य पनि करिब १५ प्रतिशतले बढाउने तयारीमा व्यवसायीहरू छन् । हाल सरकारले दूधको प्रतिलिटर खुद्रा मूल्य ७६ रुपैयाँ निर्धारण गरेको छ । खुद्रा पसलमा किन्नेहरू प्रतिलिटर ८० रुपैयाँ तिर्न बाध्य छन् । तर, मूल्य र गुणस्तर सम्बन्धमा अनुगमन हुन सकेको छैन ।


दूधको खपत २५ प्रतिशत घट्यो

चिसो मौसमसँगै दुग्धजन्य पदार्थको खपतमा कमी आएको छ । एसोसिएसनका अनुसार दही, आइसक्रिमलगायतको बिक्री न्यून छ । दूधको मात्रै प्रयोग हुँदा बजारमा दूधको खपतमा कमी भएको हो । ‘दही बिक्री नहुँदा दूधको खपतमा करिब २५ प्रतिशतले घटेको छ,’ उनले भने । व्यवसायीका अनुसार दूधको उत्पादन औसतमा दैनिक ६२ लाख लिटर हो ।


उत्पादित दूधमध्ये करिब ५० प्रतिशत किसान आफैंले उपभोग गर्छन् । बाँकी ३१ लाख लिटर दूधमध्ये १७ प्रतिशत औपचारिक र ३३ प्रतिशत अनौपचारिक माध्यमबाट बिक्री हुन्छ । अनौपचारिक रूपमा बिक्री हुने दूध होटल, घर तथा प्याकेजिङबिनै बिक्री हुन्छ । औपचारिक रूपमा बिक्री हुने दूधमा करिब २५ प्रतिशतले कमी आएको हो । हाल नेपालमा करिब २ सय डेरी उद्योगहरूले औपचारिक रूपमा दूध बिक्री गर्दै आएका छन् । करिब २ हजार डेरीले अनौपचारिक रूपमा बिक्री गर्दै आएको महासचिव दाहालको दाबी छ ।





प्रकाशित : मंसिर २८, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?