१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

अलैंची मासेर धान रोप्ने तयारी

कुम्भराज राई

(ओखलढुंगा) — खिजिदेम्बा गाउँपालिका साब्राका डम्बरबहादुर खड्काले १० मुरी धान फल्ने खेत मासेर अलैंची लगाए । अलैंचीले पहिलो साल राम्रै उत्पादन दियो । प्रतिकिलो २ हजार ४ सयले बिक्री गरे । आम्दानी राम्रै दिने देखेपछि अरू खेत पनि मासेर अलैंची रोपे । तर, दोस्रो साल उत्पादन घट्यो । उत्पादन घटेसँगै बोट पहेंलो हुने र मर्ने रोग देखापर्‍यो । त्यति नै बेला अलैंचीको मूल्य पनि स्वात्तै घटेर प्रतिकिलो ५५० मा झर्‍यो । 

अलैंची मासेर धान रोप्ने तयारी

रावादोलुका धनबहादुर बस्नेतले पनि सबैले अलैंचीबाट आम्दानी गरेको देखेपछि तीन पाथी बीउ जाने धान खेतमा अलैंची रोपे । तर, न उत्पादन राम्रो भयो, न त मूल्य पाए । ‘अलैंची टिप्नका लागि एक जना कामदारलाई प्रतिदिन हजार रुपैयाँ ज्याला दिएर टिप्न लगाएँ ।’ धनबहादुरले भने, ‘एक जनाले बढीमा एक दिनमा दुईदेखि तीन किलो अलैंची टिप्छ । अनि अलैंची ५ सय रुपैयाँ किलोले बेच्दा लगानी पनि उठेन ।’


खिजिदेम्बा गाउँपालिका क्षेत्रमा मात्रै ५ सयभन्दा बढी किसानले अलैंची खेती सुरु गरे । सात वर्षअघि सुरु भएको अलैंची खेती यसरी विस्तार भयो कि किसानले धान फल्ने खेत मासेर रोपे । सुरुसुरुमा राम्रै उत्पादन र बजार मूल्य पाएका उनीहरू अहिले भने पछुताएका छन् । ‘अब फेरि अलैंची मासेर धान नै रोप्ने तयारीमा छु ।’ डम्बरबहादुरले भने, ‘अलैंचीभन्दा धानमै फाइदा रहेछ ।’


अलैंची लगाएपछि सबै खेतमा सबै उत्तिसका बोट फैलिएका छन् । अब ती रुखबिरुवा काटेर धान रोप्ने अवस्थाको खेत निर्माण गर्न निकै चर्को भएको स्थानीय टेकबहादुर खड्काले बताए । ठेकेदार समयमा नआएपछि उत्पादित अलैंची बेच्न गाह्रो भएको उनले बताए । कतिपयले घरघरमै अलैंची भण्डारण गरेर राखेका छन् । कतिपयले भाउ बढ्छ कि भन्ने आशाले पनि भण्डारण गरेका हुन् ।


अलैंचीमा लाग्ने रोगको विषयमा पनि सम्बन्धित सरकारी कार्यालयले खासै चासो दिएर समस्या समाधानमा पहल नगरेको स्थानीय तिलक गुरुङले बताए । ‘हामीले पनि उचित पहल गर्न सकेनौं होला । राज्यका निकायले पनि किसानको समस्या सम्बोधन गर्न चाहेनन् ।’ गुरुङले भने, ‘जसो गर्दा पनि आखिर किसान मारमा परे ।’


कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत हेमकुमार आलेले जिल्लाभरिकै अलैंची कृषकको अलैंचीको गानोमै संक्रमण हुने किसिमको रोग लागेको बताए । तर, समाधानको उपाय भए पनि सबैतिर समाधानको काम नभएको बताए । केन्द्रका अनुसार खिजिदेम्बा गाउँपालिका र सिद्धिचरण नगरपालिका क्षेत्रमा अलैंचीको खेती किसानले गर्दै आएका छन् ।


प्रकाशित : मंसिर २८, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?