विद्युतीय सवारी आयात घट्दो

नुमा थाम्सुहाङ

काठमाडौँ — विद्युतीय सवारी साधनको आयातको संख्या घटेको छ । भन्सार विभागको तीनवर्षे तथ्यांकलाई तुलना गरेर हेर्दा सुरुको वर्षको भन्दा आयातमा आधाले कमी आएको हो । 

विद्युतीय सवारी आयात घट्दो

आर्थिक वर्ष २०७३/७४ मा ११ हजार ४ सय ८० थान सवारी आयात भएकामा २०७४/७५ मा ५ हजार २ सय ३९ भित्र्याइएको छ । त्यस्तै आर्थिक २०७५/७६ मा भने ४ हजार ७ सय ५० मात्र सवारी आयात भएको छ । आयात हुने सबैभन्दा बढी तीनपांग्रे सवारी साधन १८ हजार २ सय ६४ एवं कार, जिप र भ्यान ३ हजार २ सय छन् । ठूला सवारी साधन भने आर्थिक वर्ष २०७५/७६ मा मात्र ५ वटा मात्र भित्रिएका छन् । सवारी आयात हुने राष्ट्रमा सबैभन्दा बढी चीन र भारत छन् भने तेस्रो मुलुकमा कोरिया, बंगालदेश, बेलायत, फ्रान्स, थाइल्यान्ड छन् । यी वर्षमा विभागले ४२ करोड ९१ लाख १४ हजार भन्सार महसुल संकलन गरेको छ ।


रकमका आधारमा आव २०७३/७४ मा ७९ करोड ५८ लाख ३८ हजार रुपैयाँको विद्युतीय सवारी भित्र्याइएको थियो । आव ०७४/७५ मा ७४ करोड ४९ लाख १८ हजार रुपैयाँ र गत वर्ष १ अर्ब ४३ करोड ९३ लाख २५ हजार रुपैयाँको सवारी आयात भएको भन्सार विभागको तथ्यांकमा छ ।


विभागकै तीन वर्षको चौमासिक तथ्यांकलाई हेर्दा विद्युतीय सवारी आयातमा पनि थपघट भएको देखिन्छ । चालु आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७५/७६ भन्दा केही मात्राले आयातको संख्यामा सुधार भए पनि आव २०७४/७५ को तुलनामा यो संख्या कम हो । चालु आर्थिक वर्षको चौमासमा २ हजार ३ सय ७७ सवारी साधन आयात भए पनि २०७४/७५ मा २ हजार ७ सय ८८ मात्र भित्र्याइएका छन् । गत वर्षको पहिलो चौमासमा यो संख्या घटेर १ हजार ९ सय ४२ मा झरेको छ ।


आव ०७४/७५ को पहिलो चौमासमा ३४ करोड १२ लाख २९ हजार रुपैयाँ, आव ०७५/७६ ३५ करोड ७९ लाख रुपैयाँ र चालु आर्थिक वर्षमा १ अर्ब २७ करोड ७६ लाख ३० हजार रुपैयाँका विद्युतीय सवारी साधन भित्रिएका छन् । यसबाट ३ करोड ६४ लाख ८१ हजार ४ सय ७७ रुपैयाँ भन्सार संकलन भएको छ । विद्युतीय सवारी साधनका लागि पर्याप्य पूर्वाधार नभएकाले यसको आयातमा प्रभाव परेको र यस्ता साधन उपत्यकाभित्र मात्र प्रयोगमा रहेकाले अहिलेको बजार मागअनुसार आयात सामान्य रहेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले बताए । दाहालले विद्युतीय सवारी अन्य सवारीभन्दा महँगो भएकाले आयात कम हुन सक्ने बताए ।


‘विश्वमा पहिले नै सुरु भए पनि नेपालमा यो वामे सर्ने अवस्थामा छ, यसका पहिला पर्याप्त पूर्वाधार तयार हुनुपर्छ,’ उनले भने, ‘पेट्रोल र डिजेलले चल्ने गाडीको स्थानमा विद्युतीय सवारी साधनले लिन्छ । अबको ३/४ वर्षमा विद्युतीय गाडी मात्र हुन्छन् । यसको मूल्यमा पनि बिस्तारै कमी हुने आशा पनि छ ।’ अहिले उपत्यकाभित्र छोटो दूरीका लागि मात्र प्रयोगमा आएको छ । यस्ता सवारी साधन बाहिर लैजान पर्याप्त चार्जिङ स्टेसन चाहिने उनको भनाइ छ । हरेक महिना सबै ब्रान्डका गरी २/३ सय विद्युतीय सवारी बिक्री भइरहेको उनी बताउँछन् ।


‘विद्युतीय गाडीको माग छ तर त्यसका लागि चाहिने आवश्यक सर्भिस सेन्टर पनि हुनुपर्छ,’ उनले भने, ‘अहिलेको बजार माग भनेको निजी र व्यावसायिक गरेर २८ हजारको मात्र हो । यिनीहरू गुड्ने बाटो राम्रो हुनुपर्छ ।’ ठूला सवारी साधन अप्ठ्यारो बाटाको कारण केहीले मात्र सञ्चालन ल्याए पनि प्रभावकारी नभएको उनको भनाइ छ ।


‘२०७३ सालतिर तराईमा चल्ने इरिक्साको आयात धेरै भएको थियो,’ भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेले भने, ‘अहिले भने बिस्तारै विद्युतीय कारहरूको आयात बढी छ ।’


विद्युतीय तीनपांग्रे सवारी साधनलाई १ प्रतिशत भन्सार महसुल लाग्छ भने कार, जिप र भ्यानलाई १० प्रतिशत लाग्छ । पूर्ण विद्युतीय सवारीमा ५० प्रतिशत भन्सार महसुलमा छुट छ । विद्युतीय सवारी साधनमा त्यसको क्षमताअनुसार अन्त:शुल्क लाग्ने भए पनि मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने बताए ।


पेट्रोलियम पदार्थको आयातलाई घटाउन विद्युतीय सवारी साधनको आयातलाई बढाउनुपर्ने उनको भनाइ छ । ‘यसको आयातले पेट्रोलियम पदार्थका लागि देशबाट बाहिरिएको खर्च कम हुन्छ,’ उनले भने, ‘स्वदेशकै विद्युत्को उपयोगले व्यापार घाटा पनि कम हुन सक्छ ।’ विद्युतीय गाडीको मर्मत खर्च पेट्रोलियम गाडीको भन्दा कम लाग्ने उनको भनाइ छ ।

प्रकाशित : मंसिर २७, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?