१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कचौराको आवाजले तान्छ पर्यटक

‘कचौराको आवाजबाट म्युजिक थेरापी गरिन्छ । जसले मानिसको दिमागलाई शान्त बनाउँछ ।’
नुमा थाम्सुहाङ

काठमाडौँ — स्पेनका लुकास लोपेजले ठमेलबाट मधुरो आवाज निस्कने कचौरा किने । हेर्दा सानो कचौरा भए पनि यसको आवाज मिठो लागेकाले किनेको उनले बताए । ‘यसबाट निस्कने आवाज निकै मनपर्‍यो,’ उनले भने, ‘एउटाबाट नै विभिन्न प्रकारको आवाज निकाल्न सकिँदोरैछ त्यसैले किने ।’

कचौराको आवाजले तान्छ पर्यटक

विभिन्न आकारमा पाइने गोलो खालको कचौरा ‘सिंगिङ बल’ नामले परिचित छ । यसैको आवाजमा विदेशी पर्यटक तानिएको वसन्तपुर झोछें, एए क्राफ्टका अच्युत अर्यालले बताए । ‘यो मनपराउनुको अर्को कारणमा यसको आवाजबाट म्युजिक थेरापी पनि गरिन्छ,’ उनले भने, ‘जसले मानिसको दिमागलाई शान्त बनाउँछ ।’


थोक व्यापार गर्ने उनले महिनामा ढलोट र कासको गरेर एक टन सिंगिङ बल बेच्छन् । दुई सय ग्रामदेखि १५ केजीसम्मको कचौरा उनको पसलमा छ । कासको प्रतिकिलो २५ सय रुपैयाँ र ढलोटको १ हजार रुपैयाँ पर्ने उनले बताए । यसबाट गरिने थेरापी र विभिन्न आवाजले गरेर पर्यटकहरूले मनपराउने गरेको उनी बताउँछन् । एउटा कचौराबाट धेरै प्रकारको आवाज निकाल्न सकिन्छ । कचौराको मोटाइ, गहिराइ, धातु र बजाउने मानिसमा भर पर्ने उनको भनाइ छ ।


ठमेल, क्रिएटिभ आर्टका सुरेन्द्र मुनिकारले पनि ३० वर्षदेखि सिंगिङ बल बेच्दै आएका छन् । पहिलाको तुलनामा यसको आकर्षण बढ्दै गएको उनले बताए । उनले भक्तपुर, पाटन र काठमाडौंमा बनेका कचौराहारू बेचिरहेका छन् । ‘विदेशीहरूले खोज्ने भनेको नेपाली हास्तकलाका सामान नै हुन्,’ उनले भने, ‘मेसिनले बनाएको भन्दा बढी हातले बनेको नै रुचाउँछन् ।’ महिनामा उनले १ लाख रुपैयाँसम्मको कारोबार गर्दै आएका छन् ।


‘अहिले ट्रेकिङ जाने विदेशी पर्यटकको चाप बढी छ,’ उनले भने, ‘नेपालबाट फर्किंदा उनीहरूले उपहार र म्युजिकका रूपमा किन्छन् ।’ एउटा काठबाट यसलाई छोएर, आफ्नै हातको प्रयोगले एकै पटक धेरै प्रकारको साउन्ड निकाल्न सक्नु पनि यसको विशेषता भएको बताए । पित्तल, कास र सात धातुबाट बनेका कचौरा बिक्री गरिरहेका उनको पसलमा १ हजार रुपैयाँदेखि १ लाख २५ हजार रुपैयाँसम्मको कचौरा छन् ।


‘सिंगिङ बलको बजार बढ्दो छ,’ ठमेल स्वस्तिका ह्याज्डिक्राफ्टका माधव ढकालले भने, ‘सबैको मूल्य बढ्दो छ । यसमा पनि केही प्रभाव परेको देखिन्छ । मेरो पसलबाट युरोपियन पर्यटकहरूले बढी सामान किन्छन् ।’ महिनामा ३ लाख रुपैयाँका सामान बेच्दा १ लाख रुपैयाँसम्म नाफा रहने उनले सुनाए । नेपाल र भारतमा बनेको सिंगिङ बल बिक्री गरिहेका उनी भन्छन्, ‘यसबाट निस्कने आवाज नै यसको आकर्षण हो । म्युजिसियनहरूले पनि यसको आवाजमा चासो देखाएको पाइन्छ ।’


यसको प्रचारप्रसार गर्न सके स्वास्थ्य र पर्यटन व्यवसाय दुवैका लागि फाइदा पुग्ने ठमेल, बद्धभिजन ह्यान्डिक्राफ्टका सुशील पाण्डे बताउँछन् । नजिकिँदै गरेको भ्रमण वर्षमा सरकारले पर्यटन व्यवसायलाई सहयोग पुर्‍याउन यस्ता कुराहरूको फाइदाबारे प्रचार गर्नुपर्ने उनको भनाइ छ । ‘मूलत: अमेरिकी र युरोपेली पर्यटकहरूले नै किन्छन्,’ उनले भने, ‘हेर्दा सानो भाँडाबाट ध्यान गर्न मिल्छ भन्ने उनीहरू नै पत्याउँदैनन् । यसको फाइदा र प्रयोगबारे हामीले प्रचार गर्न सके व्यापार अझ राम्रो हुन्थ्यो ।’


महिनामा १ लाख रुपैयाँसम्म कारोबार गरिरहेका उनले प्रतिगोटा ४ सय रुपैयाँदेखि १५ हजार रुपैयाँसम्मको विभिन्न धातुका सिंगिङ बल बिक्री गरिहेका छन् । सम्भावना धेरै भएकाले पर्यटकहरूको गाइड बुकमा पनि नेपाली हस्तकलाबारे केही जानकारी दिनुपर्ने उनले बताए ।


पाटन, कटेज क्राफ्टका सञ्चालक कल्याणकृष्ण ताम्राकारले दुई किसिमबाट सिंगिङ बल बनाइने बताए । ‘ह्याम्बरले पिटेर र ढलाइ गरी दुई किसिमले बनाइन्छ,’ उनले भने, ‘तामा, टिन, जिंक, आइरन, लिड र थोरै मात्रामा सुन र चाँदी गरी सात प्रकारको धातुबाट यसलाई बनाउँछौं । यसमा दु:ख धेरै छ, ६५० डिग्रीको आगोमा काम गरी यसलाई पगालेर आकार दिने काम गर्छौं ।’


बलको आकार र गुणस्तरअनुसार समय लाग्ने उनी बताउँछन् । उनको कटेजमा एक दिनमा २५० केजीको १/२ सय वटा ३५० ग्रामदेखि १० किलोसम्मको बल बनाइन्छ । १३ सेन्टिमिटरदेखि ६० सेन्टिमिटरसम्मको आकारको बल बनाउने उनले बताए । म्युजिक थेरापिस्टसमेत रहेका उनले सिंगिङ बलको भाइब्रेसनबाट थेरापी गरिने बताए । ‘यसबाट निस्कने भाइब्रेसनबाट गरिने थेरापीले मानिसको शरीर र दिमागलाई शान्त बनाउन सहयोग पुर्‍याउँछ ।’

प्रकाशित : मंसिर २६, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?