१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नेपालमै गाडी ‘एसेम्बल’ गर्न सम्झौता

काठमाडौँ — नेपालमै चारपांग्रे सवारी साधन उत्पादनका लागि लगानी बोर्ड र कोरियाली कम्पनी मोट्रेक्सबीच सम्झौता भएको छ । बोर्डले मोट्रेक्ससँग गाडी एसेम्बल प्लान्ट स्थापनाका लागि परियोजना लगानी सम्झौता गरेको छ । बुधबार आयोजित कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र मोट्रेक्सका प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपालमै गाडी ‘एसेम्बल’ गर्न सम्झौता

सन् २००१ मा कोरियामा स्थापना भएको मोट्रेक्स कम्पनीले नेपालमा १० अर्ब ५४ करोड रुपैयाँ लगानी गर्ने बोर्ड कार्यालयले जनाएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बोर्ड बैठकले उक्त रकम बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत दिइसकेको छ । सरकारले गत चैत १५ र १६ गते आयोजना गरेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा कोरियाली कम्पनीको लगानी स्वीकृत पाएको थियो । बोर्ड कार्यालय स्रोतका अनुसार कोरियाली कम्पनीलाई गाडी एसेम्बल गर्न लागि रूपन्देहीमा जग्गा उपलब्ध गराउने तयारी छ । ‘करिबकरिब जग्गाको क्षेत्रफल पनि निश्चित भइसकेको छ,’ बोर्ड कार्यालय स्रोतले भन्यो ।


कोरियाली कम्पनीले बोर्डमा पेस गरेको प्रस्तावमा पहिलो वर्ष ५ हजार, दोस्रो वर्ष १० र तेस्रो वर्ष १५ हजार थान सवारी एसेम्बल गर्ने उल्लेख छ । अबको १८ महिनामा उद्योग स्थापना गरिसक्ने उसको योजना छ । उद्योग स्थापनाको सुरुको वर्षमा २ हजार र पछि २० हजार वटा चारपांग्र्रे सवारी साधन उत्पादन गर्ने लक्ष्य राखेको बोर्डले जनाएको छ । मुख्यगरी कार, ठूला सवारी साधन उत्पादन गर्ने उसको प्रस्ताव हो । विद्युतीय सवारीलाई बढी प्राथमिकता दिने उसको प्रतिबद्धता रहेको बोर्ड कार्यालयले जनाएको छ ।


प्रकाशित : मंसिर २६, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?