१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

धान बेच्न आएनन् किसान

विनु तिम्सिना

(विराटनगर) — किसानहरूले धान बेच्न नल्याएका कारण नेपाल खाद्य संस्थानको विराटनगरस्थित कार्यालयमा यो वर्ष धान खरिद प्रक्रिया सुरु हुन सकेको छैन । मंसिर सकिन लाग्दासमेत किसानहरूले बिक्रीका लागि धान नल्याएपछि संस्थान के गर्ने भन्ने अन्योलमा परेको छ । 

खाद्य संस्थानको विराटनगरस्थित अञ्चल कार्यालयले सरकारले निर्धारण गरेको समर्थन मूल्यमा यो सिजनमा १० हजार क्विन्टल धान खरिद गर्ने जिम्मेवारी पाएको छ । तर, हालसम्म किसानहरू धान बेच्न संस्थानको सम्पर्कमा नआएको कार्यालयका लेखा प्रमुख हरिप्रसाद भण्डारीले बताए ।


यसअघि वास्तविक किसानहरूसँग भन्दा पनि बिचौलिया व्यापारीहरूसँग संस्थानले धान खरिद गरेको भन्दै धेरै गुनासाहरू आएकाले संस्थानले यस पटक भने सुनसरी र मोरङका सबै स्थानीय तहहरूमा धान खरिदको सूचना पठाएको उनले जानकारी दिए ।


‘हरेक वर्ष वास्तविक किसानहरूसँग भन्दा बिचौलिया व्यापारीसँग संस्थानले धान खरिद गर्‍यो भन्ने गुनासो आउँछ,’ उनले भने, ‘यस वर्ष वास्तविक किसानसँग धान खरिद गर्ने भन्दै हामीले सुनसरी र मोरङका सबै स्थानीय तहमा धान बिक्रीको सूचना पठाएका छौं ।’


किसानका नाममा बिचौलियाले फाइदा नलिउन् भन्नका लागि संस्थानले एक बिघा खेती गर्ने किसानसँग एक सय मन अर्थात् चार हजार किलोग्रामका दरले धान खरिद गर्ने सीमा निर्धारण गरेको उनले जानकारी दिए । धान बेच्नका लागि किसानहरूले नागरिकता र धान फलाएको खेतको धनीपुर्जासमेत ल्याउनुपर्ने प्रावधान राखिएको उनले बताए । खाद्य संस्थान विराटनगरले खासगरी मोरङ कारागार, सुनसरीको झुम्का कारागार, धनकुटा कारागार र तेह्रथुम कारागारमा चामल आपूर्ति गर्दै आएको छ । चारै जिल्ला कारागारसँग सोना मन्सुली चामल दिने सम्झौता गरेकाले संस्थानको किसानहरूसँग सोना मन्सुली जातको धान मात्रै खरिद गर्ने गरेको छ ।

प्रकाशित : मंसिर २६, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?