डोजरले कोतर्यो पेट्रोलियम पाइपलाइन
काठमाडौँ — सडक विस्तार गर्ने क्रममा पेट्रोलियम पााइपलाइनमा डोजरले करिब एक फिटमा क्षति पुर्याएको छ ।
नेपाल आयाल निगमका अनुसार वीरगन्जको गण्डक चोकबाट करिब २ सय मिटरमा सडक विस्तार गर्ने क्रममा ठेकेदारको लापरबाहीले पाइपलाइनमा सामान्य क्षति भएको हो । पाइपलाइन बिछयाएको ठाउमा भारतको सीमादेखि अमलेखगन्जसम्ममा खतराको सकेत राखिएको छ । तर, खतराको संकेतलाई बेवास्ता गर्दै डोजर लगाउँदा पाइपलाइनमा क्षति पुगेको हो ।
‘ठेकेदारले एकदमै हेलचेक्रयाइँ गरेको देखिन्छ । डोजरले मुख्य पाइपलाइनमा एक फिट कोतरिदिएको छ,’ निगमका एक उच्च अधिकारीले भने, ‘निगमको सुरक्षागार्डले तत्काल सेनालाई खबर गरेपछि ठूलो घटना हुनबाट बच्यो ।’ ती अधिकारीका अनुसार सुरक्षागार्डले नेपाली सेनालाई खबर गरेपछि सेनाले तत्काल डोजरलाई रोकेर पुन: माटोले पुर्न लगाएका थिए । पेट्रोलियम पाइपलाइनमा उच्च गतिमा डिजेल आयात हुन्छ । निगमका अनुसार एक पटक पम्प गरेपछि ४ देखि ५ लाख लिटर तेल आउँछ ।
‘उक्त तेल पाइपबाट बाहिर बग्ने बित्तिकै त्यो क्षेत्र नै ध्वस्त हुन्थ्यो,’ ती अधिकारीले भने । उनका अनुसार पाइपलाइनमा भएको सामान्य क्षतिले तत्काल असर नगरे पनि यस्तै लापरबाही भए ठूलो घटना हुन सक्छ । मोतीहारीबाट पम्प भएपछि करिब ५ लाख लिटर आउँछ । पम्प भएको तेल बीचमा रोक्न सरकारसँग कुनै मेकानिजम छैन । बीचबाटो पाइपमा क्षति भए त्यसले सोही क्षेत्रलाई असर गर्ने निगमको भनाइ छ ।
निगमका अनुसार वीरगन्ज महानगरपालिकाले गण्डक चोकको वाइपासमा सडक निर्माण गरिरहेको छ । घटनाको सम्बन्धमा महानगरपालिका र त्यसअन्तर्गतको सडक विभागलाई जानकारी गराए पनि चासो नदिएको निगमको कर्मचारीहरू गुनासो छ ।
‘जेठमा पनि सडक विस्तारको क्रममा परवानीपुर नजिक डोजरले फाइबर फुटाइदिएको थियो । अहिले पुन: त्यस्तै समस्या देखियो,’ निगमका अर्का अधिकारीले भने, ‘सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि सुनुवाइ भएन । संवेदनशील कुरामा पनि बेवास्ता हुँदै आएको छ ।’ जेठमा वीरगन्ज–पथलैया व्यापारिक सुधार आयोजनाले सडक विस्तारको क्रममा लगाएको डोजरले फाइबरको पाइप फुटाइदिएको थियो ।
पाइपमा रहेको अप्टिकल फाइलबरले भारतबाट नेपाल आउने तेलबारे विभिन्न प्रकारको तथ्यांक तथा सूचना दिने गर्छ । त्यसले पाइपलाइन उद्घाटन केही दिन सरेको थियो । भदौ अन्तिममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त उद्घाटन गरेपश्चात पाइपलाइन सञ्चालन भइरहेको छ ।
प्रकाशित : मंसिर २६, २०७६ ०८:३६