कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

मानव विकास सूचकांक : नेपाल दुई स्थान माथि

प्रतिवेदनअनुसार गत वर्ष दक्षिण एसियाली ८ मुलुकहरुमध्ये छैटौं स्थानमा रहेको नेपाल यसपटक पनि त्यहीँ नै छ
कृष्ण आचार्य

काठमाडौँ — मानव विकास सूचकांकमा नेपाल अघिल्लो वर्षको तुलनामा दुई स्थानले माथि उक्लिएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले मंगलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०१८ का लागि नेपाल १४७ औं स्थानमा छ । ‘यसले देशलाई मध्यम मानव विकास सूचकांक श्रेणीमा राखिदिएको छ,’ यूएनडीपीको प्रतिवेदनमा भनिएको छ, ‘यो श्रेणी केन्या समान छ ।’

मानव विकास सूचकांक : नेपाल दुई स्थान माथि

१ सय ८९ मुलुकहरूमध्ये नेपाल सन २०१७ मा १४९औं स्थानमा थियो । त्यसभन्दा अघिल्लो वर्ष सन् २०१६ मा १४८ स्थानमा थियो । नेपालले यस पटक मानव विकास सूचकांक ०.५७९ रहेको छ । अघिल्लो वर्ष ०.५७४ अंक थियो । यूएनडीपीले मुख्यगरी औसत आयु, शैक्षिकस्तर र क्रयशक्तिका आधारमा प्रतिव्यक्ति आय सूचकहरूका आधारमा मानव विकास सूचकांक निकाल्ने गरेको छ । प्रतिवेदनअनुसार नेपालीको औसत आयु ७०.५ रहेको जनाएको छ ।


दुई स्थानले माथि उक्लिए पनि अन्य मुलुकहरूको गतिअनुसार विकास हुन नसक्दा नेपालको सुधार स्थिर छ । प्रतिवेदन अनुसार गत वर्ष दक्षिण एसियाली ८ मुलुकहरूमध्ये छैटौं स्थानमा रहेको नेपाल यस पटक पनि त्यहीँ नै छ ।


‘सन् १९९० देखि २०१८ सम्ममा नेपालमा जन्मदरको औसत आयु १६.१, विद्यायल शिक्षाको मध्यम वर्ष २.८ वर्षले र विद्यालय शिक्षाको अपेक्षित वर्ष ४.७ वर्षले वृद्धि भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय सन् १९९० देखि २०१८ बीचमा करिब १३०.५ प्रतिशत वृद्धि भएको छ ।’ मंगलबार अर्थमन्त्री युवराज खतिवडा, यूएनडीपी र योजना आयोगका अधिकारीहरूले प्रतिवेदन सार्वजनिक गरेका हुन् ।


प्रतिवेदनअनुसार दक्षिण एसियाली मुलुकहरूसँग तुलना गर्दा नेपालको उल्लेख्य सुधार देखिँदैन । गत वर्ष दक्षिण एसियाली ८ मुलुकहरूमध्ये नेपाल छैटौं स्थानमा थियो । यस पटक पनि छैटौं स्थानमै छ । विश्वमञ्चमा स्थान र सूचकांकमा मुलुकमाझ केही हेरफेर भए पनि दक्षिण एसियाली मुलुकहरूबीचको स्थान विगतमा झैं जहाँको त्यहीँ छ । दक्षिण एसियामा सबैभन्दा अगाडि श्रीलंका रहेको छ । गत वर्ष ७६ औं स्थानमा रहेको श्रीलंका यस पटक ७१ मा झरेको छ । गत वर्ष १०१ स्थानमा रहेको माल्दिभ्स यस पटक १०४ मा पुगे पनि दक्षिण एसियाली मुलुकहरूमध्ये दोस्रो स्थानमा छ । गत वर्ष १३० औं स्थानमा रहेको भारत यस पटक १२९ स्थानमा छ । भुटान विगतको १३४ स्थानमै स्थिर रहेको छ । गत वर्ष १३६ स्थानमा रहेको बंगलादेश यस पटक १३५ मा छ । पाकिस्तान र अफगानिस्तान दुवै यस पटक झन् पछि धकेलिएका छन् । गत वर्ष पाकिस्तान १५०औं स्थानमा रहेकामा यस पटक १५२औंमा पुगेको छ । अफगानिस्तान पनि १६८ मा रहेकामा यस वर्ष १७० मा पुगेको छ ।


प्रविधि, शिक्षा र जलवायु नयाँ असमानता

विश्वभरका मानिस गरिबी, भोकमरी र रोगबाट मुक्त हुँदै जाँदा असमानता घटे पनि नयाँ प्रकृतिको समस्या देखिन थालेको प्रतिवेदनले औंल्याएको छ । ‘हालसम्मकै बढी मानिसहरू गरिबी, भोकमरी र रोगबाट मुक्त हुँदै गएकाले आधारभूत आवश्यकतासम्बन्धी खाडल पुरिँदो छ,’ प्रतिवेदनमा भनिएको छ । तर, पनि समृद्धिको आवश्यकता बढ्दो रहेको प्रतिवेदनले जनाएको छ । ‘नयाँ प्रकारका असमानता पनि देखिने क्रममा छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘जुन विशेषगरी प्रविधि, शिक्षा र जलवायु संकटसँग सम्बन्धित छन् ।’


विशेषगरी जलवायु परिवर्तन र प्रविधिजन्य रूपान्तरणका हिसाबले असमानताको अवस्थामा परिवर्तन हुन सक्ने अनुमान प्रतिवेदनले गरेको छ । ‘यी दुई तत्त्वले आगामी शताब्दीको मानव विकासको नतिजा प्रभावित पार्न सक्छन्,’ प्रतिवेदनमा भनिएको छ । यसलाई यूएनडीपी प्रशासक आकिम स्टाइनरले असमानताको नयाँ अनुहार भनेका छन् । ‘यो असमानताको नयाँ अनुहार हो,’ आकिम स्टाइनरले भने, ‘यो मानव विकास प्रतिवेदनले भनेजस्तै असमानता समाधानबाट टाढा छैन ।’ अब उक्त प्रकृतिको नयाँ असमानताले विकास परिदृश्यसँगै उपलब्धिलाई नयाँ मोडतर्फ डोर्‍याउने दाबी गरिएको छ ।


परम्परागत प्रकृतिका लैंगिक विकास सूचकांक र घरेलु हिंसा क्षेत्रमा दक्षिण एसिया र पूरा क्षेत्रबीचको असमानता पनि दर्साएको छ । ‘पूर्वी एसिया र प्रशान्त क्षेत्र लैंगिक विकास सूचकांकको सूचीमा दोस्रो नम्बरमा छन् । जसमा दक्षिण कोरिया पहिलो स्थानमा छ,’ प्रतिवेदनमा भनिएको छ, ‘विश्वव्यापी रूपमा तुलना गर्ने हो भने लैंगिक असमानता दक्षिण एसियामा सबैभन्दा बढी छ ।’ घरेलु तहमा पनि असमानता रहेको प्रतिवेदनमा उल्लेख छ ।


प्रकाशित : मंसिर २५, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?