कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

शिवश्रीको आईपीओ विवादमा

काठमाडौँ — शिवश्री हाइड्रो पावर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) विवादमा परेको छ । सूचना लुकाएको भन्दै अन्डरराइटर (प्रत्याभूतिकर्ता) र कम्पनीबीच विवाद बढेपछि आईपीओ निष्कासन अन्योलमा परेको हो । यही कारण सेयरका लागि आवेदन दिने समय सकिएको एक महिनासम्म पनि बाँडफाँट हुन सकेको छैन । 

शिवश्रीले ३३ लाख ५१ हजार १ सय ४० कित्ता (३३ करोड ५१ लाख १४ हजार रुपैयाँ) सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १४ लाख ६७ हजार कित्ता आह्वान भएकोमध्ये नबिकेर बचेको सेयर पनि थप गरी आईपीओ निष्कासन गर्न गत असोज १ मा बोर्डबाट अनुमति पाएको थियो । त्यतिबेला नबिकेको ११ लाख ३६ हजार कित्ता पनि सर्वसाधारणकै सेयरमा थपिएको थियो ।


कम्पनीले असोज १६ देखि सर्वसाधारणका लागि सेयर निष्कासन गर्‍यो । छिटोमा असोज २४ सम्म र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा कात्तिक १५ सम्म आवेदन दिन सक्ने प्रावधान थियो । पहिलो चरणमा सेयर नबिकेपछि एक महिना (कात्तिक १५ सम्म) नै आवेदन संकलन गरियो । सो अवधिमा जम्मा ७ करोड २० लाख रुपैयाँ (७ लाख २० हजार कित्ता) बराबरको सेयरका लागि मात्र आवेदन पर्‍यो । करिब १६ हजार आवेदन परेको थियो ।


त्यसपछि कात्तिक २७ सम्म संस्थापका सञ्चालकका लागि आवेदन आह्वान गरियो । त्यसमा कुनै पनि आवेदन परेन । अहिले यो कम्पनीको करिब सवा २६ करोड रुपैयाँ बराबरको सेयर बिकेको छैन । सेयर बिक्री नहुने देखिएपछि सेयर प्रत्याभूतिकर्ता मुक्तिनाथ क्यापिटल र सीआईबीएल क्यापिटलले कम्पनीलाई पत्र लेखेर सूचना लुकाएकाले आफूहरूले सेयर किन्न नसक्ने बताए । यो विवाद धितोपत्र बोर्डसम्म पनि पुगेको छ ।


सेयर रजिस्ट्रार सिद्धार्थ क्यापिटलले कम्पनी र अन्डरराइटरबीच विवाद देखिएकाले बाँडफाँट के गर्ने भनेर बोर्डमा सोधेको थियो । बोर्डबाट ‘ग्रिन सिग्नल’ पाएपछि बिक्री प्रबन्धकले सेयर बाँडफाँटको तयारी गरेको छ । ‘सेयर वितरणको मोडल धितोपत्र बोर्डमा पठाएका छौं,’ सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले भने, ‘अब छिट्टै बाँडफाँट गर्छौं ।’


अन्तिम समयमा आएर अन्डरराइटरले सेयर खरिद नगर्ने बताएपछि केही समस्या देखिएको शिवश्री हाइड्रो पावर कम्पनीका अध्यक्ष बच्चु पौडेलले स्वीकार गरे । ‘सूचना लुकाएको भन्दै अन्तिम समयमा आएर सेयर खरिद नगर्ने कुरा आयो, जुन कानुनसम्मत होइन,’ उनले भने, ‘कम्पनीले अन्डरराइटरलाई कुनै सूचना लुकाइएको छैन । हामीले सेयर निष्कासन गर्नुअघि पटकपटक छलफल गरिरहेका थियौं ।’


प्रकाशित : मंसिर २३, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?