ढल्केबर सबस्टेसन पुसभित्रै

काठमाडौँ — भारतसँगको विद्युत् व्यापारका लागि महत्त्वपूर्ण पूर्वाधार मानिएको ढल्केवर सबस्टेसनको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । सबस्टेसनमा राखिने तीन ट्रान्सफर्मरमध्ये एउटा चार्ज गरी पुसभित्रै सञ्चालन गर्ने गरी काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

ढल्केबर सबस्टेसन ४०० केभीमा स्तरोन्नति भएपछि नेपाल र भारतबीच १ हजार मेगावाटसम्म विद्युत्को आदानप्रदान गर्न सकिनेछ । यो सबस्टेसन स्वचालित हुनेछ ।


ढल्केबर सबस्टेसनको स्तरोन्नति सकिएपछि ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी विद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि पनि सहज हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘यसले मुलुकभित्र पूर्व–पश्चिम विद्युत् प्रवाह र भारतसँग विद्युत् व्यापारको लागि ठूलो भूमिका खेल्नेछ,’ उनले भने, ‘मुलुकभित्र खपत हुन नसकेको माथिल्लो तामाकोसीको विद्युत् सहज रूपमा भारत निर्यातका लागि पनि सहज हुन्छ ।’


माथिल्लो तामकोसीबाट असारभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । आयोजनाबाट उत्पादित विद्युत्लाई दोलखाको गोंगरबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत खिम्ती हुँदै ढल्केबर ल्याइनेछ । यसका लागि आयोजनाले गोंगर–खिम्ती प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुर्‍याएको छ । खिम्ती–ढल्केबर प्रसारण लाइन यसअघि नै सञ्चालनमा आइसकेको छ ।


ढल्केबरमा ९४५ केभीए क्षमताको ट्रान्सफर्मरहरू रहने प्राधिकरणले जनाएको छ । ढल्केबर सबस्टेसनको स्तरोन्नतिको काम सकिएलगत्तै ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइभ ४०० केभी क्षमतामा सञ्चालन गर्न सकिन्छ । नेपाल र भारतबीचको यो अन्तरदेशीय प्रसारण लाइनको स्तरोन्नति भएपछि सुक्खायाममा नेपालालाई आवश्यक पर्दा भारतबाट बढी विद्युत् ल्याउन र वर्षायाममा बढी भएको विद्युत् पठाउन पनि सहज हुने प्राधिकरणको भनाइ छ ।


प्रकाशित : मंसिर २२, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?