बालापनको सुन्तले स्वाद

नुमा थाम्सुहाङ

काठमाडौं — सुन्तलाको केस्रा जस्तै सानो, स्वाद र बास्ना पनि त्यस्तै । कुनै फरक नै नपाइने । त्यो जमानामा १ रुपैयाँमा गुलियो खालको चार वटा मिठाई पाइने भनेपछि केटाकेटी हुरुक्कै हुन्थे । 

बालापनको सुन्तले स्वाद

त्यही समयमा पाइने अन्य मिठाईभन्दा सस्तो पनि । घर र विद्यालय छेउको सानो घुम्ती पसलमा सुन्तला मिठाई खाने र किन्नेको बेग्लै जमात हुने संगीतकार अर्जुन पोखरेलको सम्झना छ ।

त्यतिबेला उनी ६/७ वर्ष थिए जतिबेला यो मिठाईको आकर्षण केटाकेटी हुँदा थियो । यसको पुनरागमनले सबैको बालापन फर्कने उनी सुनाउँछन् ।


गुलियोले बच्चाहरूको मन तान्ने भएकाले अरू मिठाईभन्दा सस्तो पाइने उनले बताए । ‘दसैं तिहारमा भेला गरेर जोगाएको पैसाले पनि किनेर खाएको सम्झना छ,’ उनले भनिन्, ‘घरमा अरू खानेकुरा भए पनि पैसाले यो मिठाई किनेर खानुको मज्जा नै बेग्लै थियो ।’


आजभन्दा ३०/३५ वर्ष अगाडि आएको यो मिठाईले सबैको जिब्रो र मनमा बास पाएको थियो भने बीचमा हराउँदा यसलाई सम्झने पनि धेरै नै थिए । ‘म ८/९ वर्षकी हुँदा एकदम धेरै खान्थें,’ २९ वर्षीया उदयपुरकी रेस्मा तामाङले सम्झना गर्दै भनिन्, ‘सानो सुन्तलाको केस्राजस्तै पाइने अनि स्वाद नि धेरै मन पर्ने । गोजीमा पैसा हुने बित्तिकै पसलमा गएर किनेर खाइहाल्थें ।’


काठमाडौं चक्रपथमा बस्दै आएकी उनी यसको उत्पादन फेरि सुरु भएपछि जमलबाट किनेर खाने गरेकी बताइन् । बीचमा मिठाई हराउँदा एक पटक भए पनि आए हुन्थ्यो भन्ने लाग्ने गरेको उनले भनिन् । ‘तर, सानोबेला जस्तो गुलियो खान चैं सकिँदैन रैछ,’ उनले भनिन्, ‘यसको स्वाद भने अझै मनपर्छ ।’


भारतबाट भित्रिए पनि नेपालको वीरगन्जमा यसको उत्पादन हुन्छ । तर, उपत्यकामा भने नयाँबाटो थिमी भक्तपुरमा रहेको उज्ज्वल कन्फेक्सनरी उद्योगले विसं. २०५८ सालमा यसको सुरुवात गरेको हो । काभ्रे, पनौती बस्ने र उद्योगको मेसिनरी अपरेटर उत्तम खत्रीले २२ वर्षदेखि मिठाईसम्बन्धी काम गर्दै आएका छन् । यही उद्योगमा भने ११ वर्षदेखि निरन्तर काम गरिरहेका छन् ।


उनलाई पनि सानो हुँदा मिठाई खाएको सम्झना छ । ‘सुन्तलाको स्वाद र गुलियो नै यसको आकर्षण हो,’ उनले भने । डेढ घण्टा लगाएर चिनी, ग्लुकोज र मिठाईमा प्रयोग गरिने सुन्तला जस्तै देखिने रङ मिलाएर ३ सय डिग्रीको आगोमा पकाइन्छ । पाकेको जेलीलाई सेलाउन प्लेटमा राखिन्छ भने त्यसपछि यसलाई मेसिनले काटेको सुन्तलाको आकार नबिग्रिने गरी यसलाई चिनीको चास्नीमा ५ मिनेट जति घोलेपछि प्याकिङका लागि तयार हुने उनले जानकारी दिए । ‘यसमा सुन्तलाको जस्तो बास्ना आउने र हल्का गुलियोलाई सन्तुलन गर्न अमिलो पनि मिसाइन्छ,’ उनले भने, ‘एक पटकमा १८/२० केजी तयार गरिन्छ । साढे ५ सय ग्रामको प्याकेटमा र ८ सय ग्रामको बट्टामा राखेपछि बजारमा बिक्रीका लागि तयार हुन्छ ।’ तयार भएको ६ महिनासम्म केही नहुने उनले सुनाए ।


हराइसकेको सुन्तलाको अस्तित्व आउनु नै रोचक छ । समयसँगै यसले अन्य मिठाईलाई प्रतिस्पर्धामा हराउनुपर्‍यो भनेर फेरि पुरानै शैलीमा एक पटक त्यही स्वाद र याद लिएर आएको छ । सुन्तला मिठाईको बजार र लोकप्रियता बढ्दै गएपछि उपत्यकामा यसलाई पुन: जीवन दिएको उद्योगका सञ्चालक चन्द्रकृष्ण प्रजापतिले बताए । ‘पहिला पनि यसको उत्पादन भारत र नेपालको वीरगन्जबाट हुन्थ्यो । अहिले पनि हुन्छ,’ बीचमा उद्योग बन्द हुनुको कारणमा उनले भने, ‘यसको लोकप्रियता थियो नै तर बीचमा यसको कस्ट महँगो पर्न गयो । पुरानो मेसिन, काम गर्ने मान्छे नै थिएनन् ।’ उपत्यकाभित्र अरू उद्योग पनि स्थापना भए । तर, हालसम्म भने सुन्तला मिठाई उत्पादन गर्ने जीवित उद्योग भनेको यो मात्रै रहेको उनले बताए ।


यसलाई जीवित गर्न उनले पुरानो मेसिन बेचे । १२ लाख रुपैयाँको लगानीमा नयाँ मेसिन ल्याई उत्पादन सुरु गरेका हुन् । समयको मागअनुसार र महँगो कच्चा पदार्थको मूल्यका कारण मिठाईको पनि मूल्य परिवर्तन भएको उनले बताए । समय र उमेरको परिवर्तनले मानिसको यसप्रति रुचि नरहनु पनि यसको पलायनको एक कारण रहेको उनको भनाइ छ । विभिन्न ब्रान्डको मिठाईले पनि यसको बजारलाई असर पारेको उनको बुझाइ छ ।


‘बीचमा विभिन्न कारणले बन्द भए पनि फेरि यसलाई सुरु गरौं भनेर हामीले थालेका हौं,’ उनले भने, ‘हाल ५ वर्षदेखि निरन्तर चलाइरहेका छौं । कच्चा पदार्थको अभाव र महँगो मूल्यले उत्पादनमा समस्या हुन्छ । हाम्रो मिठाईको बिक्री मूल्य बढाउन मिल्दैन भने उत्पादन छोड्यौं भने बजार पनि घट्छ ।’ भक्तपुरको सुन्तला झापा, नुवाकोट, बनेपालगायत डिलरहरूबाट विभिन्न जिल्लाका बजारमा पुग्छ ।


उनको उद्योगले महिनामा ५० केजी चिनीको ५० बोरा र ६ सय केजीको ६ ट्रंक ग्लुकोज खपत गर्छ । उद्योगको सुरुवाती दिनमा १० रुपैयाँ चिनीको मूल्य हुँदा १ रुपैयाँको चार वटा मिठाई आउनु र अहिले चिनी प्रतिकेजी ८० रुपैयाँ हुँदा १ रुपैयाँको एउटा आउनु भनेको लागतअनुसार मूल्य कम रहेको बताए । यसको उत्पादनले फेरि पुरानो पुस्तालाई बालापन याद दिलाउँछ भने नयाँलाई भने फरक मिठाईको स्वाद लिन पाउने अवसर दिने उनले सुनाए ।


बजारमा पाइने अन्य मिठाईको तुलनामा यसले धेरै प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाइ छ । ‘बाहिर विभिन्न स्वाद र प्रकारका मिठाई पाइन्छन्,’ उनले भने, ‘त्योसँग यसले प्रतिस्पर्धा गर्न धेरै गाह्रो छ । तर, सबैले माया भने गर्छन् किनभने धेरैको बालापन यससँग जोडिएको छ ।’




प्रकाशित : मंसिर २२, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?