कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

बगानबाटै बिक्छ सुन्तला, २५ प्रतिशतले बढ्यो उत्पादन

(दमौली) र (सुनसरी) — तनहुँको म्याग्दे गाउँपालिका–२ खानीगाउँका किसान सुकनारायण श्रेष्ठले यस पटक ५० लाख रुपैयाँमा बगानबाटै सुन्तला बेचे । गत वर्ष ३१ लाख रुपैयाँको सुन्तला बेचेका उनले अहिले सुन्तला बढी फलेको बताए । ‘मौसमले साथ दिएकाले सुन्तला उत्पादन राम्रो भएर पैसा पनि राम्रै पाइयो,’ उनले भने, ‘खुद्राभन्दा होलसेलमै बेच्दा धेरै सहज भयो ।’ २०४६ सालबाट सुन्तला खेती गर्दै आएका उनका ४० रोपनी क्षेत्रफलमा ७ सय सुन्तलाका बोट छन् । 

बगानबाटै बिक्छ सुन्तला, २५ प्रतिशतले बढ्यो उत्पादन

विश्वबहादुर अधिकारीले पनि सुन्तलाबाट लाखौं आम्दानी लिँदै आएका छन् ।


तत्कालीन जिल्ला विकास समिति तनहुँका सभापतिसमेत रहेका अधिकारीले यस वर्ष सुन्तलाको बगान ४० लाख रुपैयाँमा बिक्री गरे । गाउँको भिरालो जमिनलाई सदुपयोग गर्न २०५२ सालबाट व्यावसायिक सुन्तला खेती सुरु गरेका थिए उनले । ‘सम्भावना देखेर सुन्तला खेती थालेको हुँ,’ उनले भने, ‘राम्रै आम्दानी लिइरहेको छु । सन्तुष्ट छु ।’ सुन्तलाबाट भएको आम्दानीले छोरा इन्जिनियर र छोरी डाक्टर भइसकेको उनले बताए । सुन्तला बगैंचा सुदृढीकरण, गोडमेल, मलखाद व्यवस्थापन, समयमा औषधोपचार गर्न सके सुन्तलाको दाना राम्रो, रसिलो, गुलियो र उत्पादन राम्रो हुने उनको अनुभव छ । बगानसम्म सडक सञ्जाल जोडिएकाले सुन्तला बिक्रीका लागि सहज भएको छ । बर्सेनि सुन्तला खरिद गर्न ठेकेदार बगानमा नै आउने गरेको उनले बताए । ‘सुन्तला बिक्री हुँदैन भन्ने चिन्ता छैन,’ उनले भने, ‘बगानबाटै बिक्छ ।’


जिल्लाका विभिन्न किसानले अहिले बगानबाटै सुन्तला बेच्न थालेका छन् । सुन्तला किन्न ठेकदार घरघरै पुग्ने गर्छन् । जिल्लामा उत्पादित सुन्तला राम्रो भएकाले बर्सेनि ठूलो बगानमा ठेकेदारले सुन्तला ठेक्का लिने गरेका हुन् ।


खानीगाउँ, उमाचोकमा सुन्तला राम्रो भएकाले बगान नै ठेक्का लिएको ठेकेदार तुलबहादुर थापाले बताए । ‘तनहुँमा उत्पादित सुन्तलाका दाना राम्रा हुन्छन्,’ उनले भने, ‘त्यसैले बर्सेनि बगानै ठेक्का लिएका हौं ।’ म्याग्दे गाउँपालिका, व्यास नगरपालिका क्षेत्रमा उत्पादन भएका सुन्तला बगान गएर ठेक्का लिने गरेको उनले बताए । यहाँ उत्पादित सुन्तला काठमाडौंमा बिक्ने गरेको छ । उनले वर्षमा २४० टन सुन्तला खरिद गर्दै आएका छन् ।


सुन्तला टिपेपछि बगैंचा सुधार गर्न व्यस्त हुने किसानले बताए । सुन्तलाका बोट काँटछाँट, गोडमेल, मलजल र औषधोपचार गरिन्छ । बर्सेनिमा सुन्तला बगैंचा सुधार गर्न ५ लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको किसान अधिकारीले बताए । अधिकारीका भाइ निर्मलले पनि १८ लाख रुपैयाँमा सुन्तलाका बगान बेचेका छन् ।


तनहुँको म्याग्दे, राईपुर, वैदी, छिपछिपे, तनहुँसुर, बेनीकोट, बन्दीपुर सुन्तला खेतीको पकेट क्षेत्र मानिन्छ ।


२५ प्रतिशतले बढ्यो उत्पादन


पूर्वी पहाडी जिल्लामा गत वर्षको तुलनामा सुन्तला उत्पादन २५ देखि ३० प्रतिशत बढेको छ । यो सिजनमा धरानस्थित कृषिउपज बजारमा थोक मूल्यमा मात्र कम्तीमा १ अर्ब रुपैयाँ बराबारको कारोबार हुने अनुमान गरिएको छ ।


मंसिर पहिलो सातादेखि बजारमा सुन्तलाको कारोबार हुन थालेको छ । धनकुटाको मौना बुधुक, बोधे, खोकुतिरबाट दैनिक ३० देखि ३५ टन सुन्तला निकासी भइरहेका बेला स्थानीय बजारमा माग पनि उत्तिकै बढेको छ ।


बुधबारसम्ममा धरानको कृषि उपज बजारमा १ हजार १ सय २८ टन (करिब ११ करोड रुपैयाँ) को कारोबार भएको धरानस्थित कृषि उपज बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । व्यवस्थापक भट्टराईले भने, ‘फलफूल भएकाले उपभोक्तामाझ सिजनअनुसार सुन्तलाको माग अत्यधिक छ ।’


तर, मुख्य सिजन सुरु हुन अझै बाँकी छ । भोजपुर, खोटाङ, तेह्रथुम, संखुवासभाका सुन्तला आउन बाँकी नै छ । त्यहाँको सुन्तला भने पुस पहिलो साताबाट मात्र आउने गरेको छ ।’


उनका अनुसार यो वर्षको सिजनमा करिब ९ हजार ५ सय टन अर्थात् एक अर्ब रुपैयाँ बराबारको सुन्तलाको कारोबार हुने देखिएको छ । थोक मूल्यमा मात्र यो साता प्रतिकिलो १ सय १५ का दरले थोक मूल्यमा बिक्री भइरहेको छ । खुद्रा कारोबार भने बजारमा प्रतिकिलो १५० रुपैयाँसम्म पुगेको छ ।


गत वर्ष कृषि बजारको थोक मूल्यमा औसत ७० करोड रुपैयाँको ७ हजार ५ सय १९ टन सुन्तलाको कारोबार भएको थियो । त्यसबेला औसत प्रतिकिलो ९० रुपैयाँ थोक मूल्य तोकिएको थियो । कात्तिक अन्तिमदेखि चैत पहिलो सातासम्म सुन्तलाको सिजन हुने भएकाले कतिपय कृषकहरूले नटिपी बोटैमा राखेर मूल्य पर्खने गरेका छन् । पूर्वी पहाडी जिल्लाहरूमा उत्पादित सुन्तला धरान, इटहरी, विराटनगर, दमक, बिर्तामोड, राजविराज, जनकपुरका उपभोक्ताले खपत गर्दै आएका छन् ।


बंगलादेशीहरूले नेपाली सुन्तला मन पराउने गरेकाले पाँच वर्षअघि धरानबाट बंगलदेशमा निर्यात सुरु गरिएको थियो । तर, ब्रान्डिङ, प्याकेजिङको समस्यासँगै भारतको भूमि भएर ढुवानी गर्नुपर्ने भएकाले भन्सार प्रक्रिया झन्झटिलो हुँदा सुन्तला निर्यात रोकिएको भट्टराईले बताए । उनले भने, ‘पूर्वी पहाडमा उत्पादित सुन्तला स्थानीय उपभोक्ताले नै खपत गर्दै आए पनि बंगलादेश वा भारतीय बजारमा निर्यात गर्न सक्ने वातावरण सरकारले बनाए नेपाली कृषक र व्यापारीहरूले मूल्य पाउने थिए ।’


प्रकाशित : मंसिर २२, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?