कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिजनमा तीन करोडको गोलभेंडा बिक्री

धनकुटा — धनकुटा नगरपालिका ९ स्थित बेलहारा गाउँका किसानलाई गोलभेंडा बेच्न भ्याइनभ्याई छ । यहाँका तीन सयभन्दा बढी किसानले गरिरहेको व्यावसायिक खेतीबाट सिजनमा तीन करोड रुपैयाँभन्दा बढीको गोलभेंडा उत्पादन भइरहेको छ ।

धेरैजसो किसानले वार्षिक कम्तीमा २० क्विन्टलसम्म गोलभेंडा उत्पादन गरिरहेको जाल्पादेवी कृषि सहकारी संस्थाका अध्यक्ष वीरबहादुर बस्नेतले जानकारी दिए । यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै गोलभेंडा हो । हरेक सिजनमा गाउँबाट ६ हजार क्विन्टल गोलभेंडा उत्पादन हुने गरेको सहकारीका सचिव टंक रोइलाले बताए । ‘अन्य नगदेबालीभन्दा गोलभेंडामा कृषक आकर्षित छन्,’ उनले भने, ‘यही खेतीबाट मनग्ये आम्दानी हुने गरेको छ । बारीमा नै प्रतिकेजी ५० रुपैयाँमा गोलभेंडा बिक्री भइरहेको छ ।’


१५ वर्षअघिदेखि उक्त गाउँमा व्यावसायिक गोलभेंडा खेतीको सुरुवात भएको स्थानीयले बताए । माघदेखि जेठबाहेक हरेक महिना गाउँमा गोलभेंडा उत्पादन गरिन्छ । दैनिक दर्जन बढी ढुवानीका साधनले गोलभेंडा ओसार्ने गरेका छन् । एउटै गाडीले २० क्विन्टलसम्म ढुवानी गर्न सक्ने खरिदका लागि त्यहाँ पुगेका व्यापारीले बताए । उत्पादित गोलभेंडाको मुख्य बजार धरान, विराटनगर, बिर्तामोड, गोलबजार, जनकपुरलगायत सहर छन् । भारतसम्म पनि निकासी हुँदै आएको छ ।


प्रकाशित : मंसिर २२, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?