कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जन्मिएको ३५ दिनभित्र बैंक खाता

खाता खोलिदिन नगरपालिकाको सर्त– नगरमा रहेका बर्थिङ सेन्टर वा स्वास्थ्य संस्थामा बच्चा जन्माउनुपर्ने 
हरिराम उप्रेती

(गोरखा) — आरोग्यमणि विश्वकर्मा जन्मेको चार महिना पुग्दै छ । पालुङटार नगरपालिका–४ गाईखुरस्थित कालमाटाका उनको बुधबार बैंक खाता खुल्यो । आमा विनीता र उनको नाउँको संयुक्त खातामा पालुङटार नगरपालिकाले १ हजार रुपैयाँ जम्मा गरिदिएको छ ।

जन्मिएको ३५ दिनभित्र बैंक खाता

‘खाता खोल्दा १ रुपैयाँ पनि खर्च भएन,’ विनीता भन्छिन्, ‘साउन २१ मा जन्मिएको बाबुको यति चाँडो बैंक खाता खुल्यो, अब उसको नाउँमा केही रकम जम्मा गरिदिन सजिलो हुनेभो ।’ उच्च शिक्षा अध्ययनका लागि बच्चाको नाउँमा रकम जम्मा गरिदिने विनीताको सोच छ । ‘१६ वर्षसम्म झिक्न पनि नपाइँदो रहेछ,’ उनले भनिन्, ‘अहिले दुईचार पैसा जम्मा गरिदिन सके पछि पढ्ने बेला खर्च जुटाउन सास्ती नहोला ।’


आरोग्यको मात्र होइन, पालुङटार नगरमा जन्मिएका बच्चाको ३५ दिनभित्रै बैंक खाता खोल्न थालिएको छ । पाँचौं नगरसभाबाट पारित गराएर ०७६ साउन १ देखि जन्मने बच्चाको नि:शुल्क बैंक खाता खोल्ने कार्यक्रम सुरु गरेको नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी दीपेन्द्र गिरीले बताए । ‘जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गरिन्छ, त्यही समयमा बैंक खाता पनि खोल्न भनेका छौं,’ उनले भने । खाता खोलेसँगै नगरपालिकाले १ हजार रुपैयाँ जम्मा गरिदिन्छ । तर बैंक खाता खोल्न नगरपालिकाको सर्त छ– नगरपालिकाभित्रको बर्थिङ सेन्टर वा स्वास्थ्य संस्थामा बच्चा जन्माउनुपर्ने ।


नगरपालिकाभरि सात वटा बर्थिङ सेन्टर छन् । ‘बैंक खाता खोल्न खोप कार्ड र स्वास्थ्य संस्थाले दिएको बर्थिङ कार्ड अनिवार्य गरेका छौं,’ गिरीले भने, ‘घरमै प्रसूति गराउँदा जोखिम हुन्छ ।’ नगरपालिकाको स्वास्थ्य शाखाले घरमै हुने प्रसूतिलाई शून्यमा झार्ने अभियानअन्तर्गत यस्तो व्यवस्था अघि ल्याएको हो । जन्मदर्ता, बर्थिङ कार्ड भएपछि वडा र नगरपालिकाको सिफारिसमा शिशु र जन्म दिने आमा वा बाबुमध्ये एक जनाको नाउँमा खाता खुल्ने गिरीले बताए । ‘पालुङटार नगरमा जन्मिएका सबै बच्चाको खाता खुलोस् भन्ने धारणा हो,’ उनले भने, ‘दसैं, तिहार वा मुख्य चाडबाडमा बच्चाले टीका लगाएर केही पैसा पाउँछन्, त्यो पैसा बैंकमै जम्मा गर्न उत्प्रेरणा जागोस् भन्ने अपेक्षा हो ।’


केही वर्षअघिसम्म बच्चाहरूले खुत्रुकेमा पैसा जम्मा गर्ने प्रचलन ग्रामीण भेगमा नौलो थिएन । पछिल्लो समय बैंकमा खाता खोल्न नगरपालिकाले सहयोग गर्ने भएपछि नगरवासी पनि खुसी छन् । बैंकमा जम्मा गरेको रकमको ६.५ प्रतिशत ब्याज पनि पाइने भएकाले यसतर्फ आकर्षण बढेको नगरपालिकाले बताएको छ । ‘खाता खोल्न प्रत्येक वडामा महिनाको एक पटक बैंकका कर्मचारी जाने भन्ने भएको छ,’ गिरीले भने, ‘घरआँगनमै यसरी खाता खोल्दा यो कार्यक्रम कार्यान्वयनमा सजिलो हुने अपेक्षा राखेका छौं ।’ बच्चाहरूको बैंक खाता खोल्न चालु आवमा मात्र नगरपालिकाले १० लाख रुपैयाँ छुट्याएको नगरप्रमुख दीपकबाबु कँडेलले बताए ।


‘सबै जनता बैंकिङ सिस्टममा जाउन्, बचत गर्ने बानीको विकास होस् भन्ने अपेक्षा हो,’ उनले भने । ‘बचत र आर्थिक अनुशासन सिकाउन पनि बच्चाहरूबाट बैंक खाता खोल्ने अभियान सुरु गरेका हौं,’ उनले भने, ‘ज्येष्ठ नागरिकले बैंक खाता खोलिसके, बच्चाहरूको बचत गर्ने बानी त बस्छ नै, यसले फजुल खर्च पनि नहुने भयो ।’ दुई दिनको अवधिमा १५ शिशुको बैंक खाता खुलिसकेको नगरपालिकाले जानकारी दिएको छ । यो कार्यक्रमलाई अर्को वर्ष पनि निरन्तरता दिने र चालु वर्षमा ४ सयभन्दा बढी शिशुको नि:शुल्क खाता खोल्ने लक्ष्य लिइएको नगरपालिकाको भनाइ छ ।

प्रकाशित : मंसिर २१, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?