१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

पर्यटकमैत्री भएन खुम्बु क्षेत्र

कुम्भराज राई

(ओखलढुंगा) — विभिन्न संस्थाको सूचीमा संसारकै उत्कृष्ट र घुम्नैपर्ने गन्तव्यहरूको सूचीमा खुम्बु क्षेत्र परिरहन्छ । सगरमाथा पनि खुम्बुक्षेत्रमै भएकाले यो उत्कृष्ट गन्तव्यमा पर्नु नौलो विषय होइन । तर, संसारभरका पर्यटकको रोजाइमा पर्ने यो क्षेत्रमा  सोचेजस्तो पर्यटक आएका छैनन् । 

पर्यटकमैत्री भएन खुम्बु क्षेत्र

सन् २०१४ को हिमपहिरोमा सगरमाथामा १६ जना शेर्पाले ज्यान गुमाए । त्यो वर्ष सगरमाथा आरोहण रोकियो । त्यही हल्लाका कारण पदयात्रामा आउने विदेशी पर्यटकको संख्यामा असर पर्‍यो । हिमपहिरोपछि बिस्तारै लयमा फर्किएको पर्यटन व्यवसाय २०१६ को भूकम्पपछि फेरि धर्मरायो । त्यसको करिब १ वर्षपछि भने खुम्बुमा पर्यटक बढे । सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्‍यो । पर्यटन वर्ष नजिकिँदै गर्दा पर्यटक बढ्ने आशामा खुम्बुका होटल व्यवसायी थिए । तर, यो वर्षको पर्यटकीय सिजनको तथ्यांक निराशाजनक छ । नोभेम्बर र डिसेम्बरमा आउने पर्यटक गत वर्ष जति पनि पुग्ने देखिँदैन ।


ट्रेकिङ एजेन्सिज अफ एसोसिएसन नेपाल (टान) मार्फत सरकारले पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) को शुल्क उठाउँछ । स्थानीय तहको निर्वाचनलगत्तै जनप्रतिनिधिले निर्णय गरेर उक्त शुल्कमा प्रतिबन्ध लगाए । स्थानीय सरकार सञ्चालन कार्यविधि २०७४ लाई आफ्नै ढंगबाट व्याख्या गर्दै गाउँपालिकाले प्रतिपर्यटक २ हजारको दरले शुल्क असुल्न थाल्यो । टिम्स पर्यटकले बुझाउनैपर्छ, पर्यटकबाट गाउँपालिकाले शुल्क उठाउन छाडेन ।


संघीय सरकारदेखि स्थानीय तह र राष्ट्रिय निकुञ्जसम्ममा लिइने यस्ता दोहोरो शुल्कका कारण पर्यटकमा नराम्रो छाप परेको खुम्बुकै पर्यटन व्यवसायी बताउँछन् । ‘सीमित खर्च लिएर आउने पर्यटकलाई यहाँ ठाउँठाउँमा बुझाउनुपर्ने यस्ता शुल्कले सकस पर्छ,’ पर्यटक गाइड दोर्जी शेर्पाले भने, ‘आफूखुसी असुल गरिने यस्ता शुल्क खारेज नभएसम्म खुम्बुमा पर्यटक ल्याउन गाह्रो छ ।’ आनन्दले घुम्न आउने पर्यटक धेरै ठाउँमा बिनाकारण शुल्क बुझाउनुपर्दा दिग्दार छन् । गाउँपालिकाले लिने शुल्क हटाउन पर्यटन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि अदालतसम्मले निर्देशन दिँदासमेत रोकिएको छैन । यसले गर्दा खुम्बुको बद्नामी भएको सरोकारवाला बताउँछन् । पर्यटकबाट एकैदिनमा २५ लाख रुपैयाँभन्दा बढी असुली गरे पनि गाउँपालिकाले पदमार्ग सुधार र पर्यटकीय पूर्वाधारका योजनामा लगानी गरेको छैन ।


गत वर्ष खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रभित्र पर्यटकसँग कोठाभाडाबापत भन्दै अवैध रकम असुल्ने काम भयो । हरेक विदेशी पर्यटकबाट ५ सयका दरले अवैध असुली गरेको समाचारले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्राथमिकता पायो । खुम्बु होटल एसोसिएसनको नाममा रसिद काट्दै अवैध असुली गर्न थालिए पनि यसलाई रोक्न जिल्ला प्रशासनलाई दुई महिनाभन्दा बढी लाग्यो । आधिकारिक रूपमा दर्ता नभएको संस्था खुम्बु होटल एसोसिएसनले प्रशासन र स्थानीय तहको अनुमतिबिना रकम असुली गरे पनि उनीहरूमाथि कुनै कारबाही भएन । उनीहरूले नाम्चेभन्दा माथि बाटोबाटोमा बुथ बनाएर पैसा उठाएका थिए । हाल होटलवालाले होटलमै शुल्क लिन्छन् ।


लुक्ला विमानस्थलको सास्ती

खुम्बु घुम्न भनेर काठमाडौं ओर्लिएका पर्यटक अन्यत्र गन्तव्य बनाएर मोडिनुको एउटा कारणमध्येको हो, लुक्ला विमानस्थल । बिग्रिरहने मौसमको कारण पटकपटक उडान रद्द हुनु र कतिपय पर्यटकको भिसा सकिने बेलासम्म लुक्लामै रोकिनु यसका कारण हुन् ।


अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले संसारकै खतरनाक विमानस्थलको सूचीमा लुक्लाको तेन्जिङ हिलारी विमानस्थललाई राखेका छन् । त्यस्ता खबर पढेका कतिपय विदेशी पर्यटक चाहेर पनि खुम्बु क्षेत्र घुम्न जान डराउँछन् ।


गत वर्षदेखि झन् लुक्ला जानका लागि रामेछापको मन्थलीबाट उडान राखेपछि पर्यटकले झन्झट मान्ने गरेका छन् । पर्यटकीय सिजनामा ६५–७० फ्लाइटसम्म उडान भर्ने लुक्ला देशकै सबैभन्दा बढी व्यस्त आन्तरिक विमानस्थल हो ।


लुक्लामा पाइने सास्तीको कारण धेरैले यसको विकल्प खोज्नुपर्ने तर्क गर्छन् । लुक्ला विमानस्थलमा हुने दुर्घटनाहरू प्राविधिक कारणले हुने खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाको भनाइ छ । तर, प्राविधिक कारणबाट हुने दुर्घटनालाई लिएर विमानस्थल खतरा भएको सन्देश फैलाउनु गलत भएको उनी बताउँछन् ।


खुम्बु पासाङल्हामु गाउँपालिकाभित्रै रहेको स्याङ्बोचे विमानस्थल वर्षौंदेखि बन्द छ । नागरिक उड्डयन प्राधिकरणले स्याङबोचे विमानस्थलको स्तरोन्नति र क्षेत्र विस्तार गर्न खोज्दा सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा परेकोलगायतका कारण देखाउँदै बन्द गरेको हो । यसको आन्तरिक कारण भने नाम्चेका केही स्थानीयले स्याङबोचे विमानस्थल सञ्चालन हुन नदिनु हो । स्याङबोचेमा सिधै पर्यटक ओर्लिने र फर्कने गर्दा नाम्चेको व्यापार घटेको भन्दै उनीहरूले विरोध गरेका थिए । स्याङबोचे विमानस्थल पुन: सुरु गर्न सक्ने हो भने पर्यटक संख्या थप्न टेवा पुग्ने स्थानीयको भनाइ छ । लुक्लासम्म सडक लैजाने भनेर सोलुखुम्बु सदरमुकाम सल्लेरीदेखि बाटो खन्न थालिएको ६ वर्ष बितिसकेको छ । खुम्बु क्षेत्रमा हराएका पर्यटकको यकिन तथ्यांक प्रहरीसँग छैन ।


प्रकाशित : मंसिर २१, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?