पर्यटकमैत्री भएन खुम्बु क्षेत्र

कुम्भराज राई

(ओखलढुंगा) — विभिन्न संस्थाको सूचीमा संसारकै उत्कृष्ट र घुम्नैपर्ने गन्तव्यहरूको सूचीमा खुम्बु क्षेत्र परिरहन्छ । सगरमाथा पनि खुम्बुक्षेत्रमै भएकाले यो उत्कृष्ट गन्तव्यमा पर्नु नौलो विषय होइन । तर, संसारभरका पर्यटकको रोजाइमा पर्ने यो क्षेत्रमा  सोचेजस्तो पर्यटक आएका छैनन् । 

ZenTravel

Meroghar

सन् २०१४ को हिमपहिरोमा सगरमाथामा १६ जना शेर्पाले ज्यान गुमाए । त्यो वर्ष सगरमाथा आरोहण रोकियो । त्यही हल्लाका कारण पदयात्रामा आउने विदेशी पर्यटकको संख्यामा असर पर्‍यो । हिमपहिरोपछि बिस्तारै लयमा फर्किएको पर्यटन व्यवसाय २०१६ को भूकम्पपछि फेरि धर्मरायो । त्यसको करिब १ वर्षपछि भने खुम्बुमा पर्यटक बढे । सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्‍यो । पर्यटन वर्ष नजिकिँदै गर्दा पर्यटक बढ्ने आशामा खुम्बुका होटल व्यवसायी थिए । तर, यो वर्षको पर्यटकीय सिजनको तथ्यांक निराशाजनक छ । नोभेम्बर र डिसेम्बरमा आउने पर्यटक गत वर्ष जति पनि पुग्ने देखिँदैन ।

ट्रेकिङ एजेन्सिज अफ एसोसिएसन नेपाल (टान) मार्फत सरकारले पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) को शुल्क उठाउँछ । स्थानीय तहको निर्वाचनलगत्तै जनप्रतिनिधिले निर्णय गरेर उक्त शुल्कमा प्रतिबन्ध लगाए । स्थानीय सरकार सञ्चालन कार्यविधि २०७४ लाई आफ्नै ढंगबाट व्याख्या गर्दै गाउँपालिकाले प्रतिपर्यटक २ हजारको दरले शुल्क असुल्न थाल्यो । टिम्स पर्यटकले बुझाउनैपर्छ, पर्यटकबाट गाउँपालिकाले शुल्क उठाउन छाडेन ।

संघीय सरकारदेखि स्थानीय तह र राष्ट्रिय निकुञ्जसम्ममा लिइने यस्ता दोहोरो शुल्कका कारण पर्यटकमा नराम्रो छाप परेको खुम्बुकै पर्यटन व्यवसायी बताउँछन् । ‘सीमित खर्च लिएर आउने पर्यटकलाई यहाँ ठाउँठाउँमा बुझाउनुपर्ने यस्ता शुल्कले सकस पर्छ,’ पर्यटक गाइड दोर्जी शेर्पाले भने, ‘आफूखुसी असुल गरिने यस्ता शुल्क खारेज नभएसम्म खुम्बुमा पर्यटक ल्याउन गाह्रो छ ।’ आनन्दले घुम्न आउने पर्यटक धेरै ठाउँमा बिनाकारण शुल्क बुझाउनुपर्दा दिग्दार छन् । गाउँपालिकाले लिने शुल्क हटाउन पर्यटन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि अदालतसम्मले निर्देशन दिँदासमेत रोकिएको छैन । यसले गर्दा खुम्बुको बद्नामी भएको सरोकारवाला बताउँछन् । पर्यटकबाट एकैदिनमा २५ लाख रुपैयाँभन्दा बढी असुली गरे पनि गाउँपालिकाले पदमार्ग सुधार र पर्यटकीय पूर्वाधारका योजनामा लगानी गरेको छैन ।

गत वर्ष खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रभित्र पर्यटकसँग कोठाभाडाबापत भन्दै अवैध रकम असुल्ने काम भयो । हरेक विदेशी पर्यटकबाट ५ सयका दरले अवैध असुली गरेको समाचारले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्राथमिकता पायो । खुम्बु होटल एसोसिएसनको नाममा रसिद काट्दै अवैध असुली गर्न थालिए पनि यसलाई रोक्न जिल्ला प्रशासनलाई दुई महिनाभन्दा बढी लाग्यो । आधिकारिक रूपमा दर्ता नभएको संस्था खुम्बु होटल एसोसिएसनले प्रशासन र स्थानीय तहको अनुमतिबिना रकम असुली गरे पनि उनीहरूमाथि कुनै कारबाही भएन । उनीहरूले नाम्चेभन्दा माथि बाटोबाटोमा बुथ बनाएर पैसा उठाएका थिए । हाल होटलवालाले होटलमै शुल्क लिन्छन् ।

लुक्ला विमानस्थलको सास्ती
खुम्बु घुम्न भनेर काठमाडौं ओर्लिएका पर्यटक अन्यत्र गन्तव्य बनाएर मोडिनुको एउटा कारणमध्येको हो, लुक्ला विमानस्थल । बिग्रिरहने मौसमको कारण पटकपटक उडान रद्द हुनु र कतिपय पर्यटकको भिसा सकिने बेलासम्म लुक्लामै रोकिनु यसका कारण हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले संसारकै खतरनाक विमानस्थलको सूचीमा लुक्लाको तेन्जिङ हिलारी विमानस्थललाई राखेका छन् । त्यस्ता खबर पढेका कतिपय विदेशी पर्यटक चाहेर पनि खुम्बु क्षेत्र घुम्न जान डराउँछन् ।

गत वर्षदेखि झन् लुक्ला जानका लागि रामेछापको मन्थलीबाट उडान राखेपछि पर्यटकले झन्झट मान्ने गरेका छन् । पर्यटकीय सिजनामा ६५–७० फ्लाइटसम्म उडान भर्ने लुक्ला देशकै सबैभन्दा बढी व्यस्त आन्तरिक विमानस्थल हो ।

लुक्लामा पाइने सास्तीको कारण धेरैले यसको विकल्प खोज्नुपर्ने तर्क गर्छन् । लुक्ला विमानस्थलमा हुने दुर्घटनाहरू प्राविधिक कारणले हुने खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाको भनाइ छ । तर, प्राविधिक कारणबाट हुने दुर्घटनालाई लिएर विमानस्थल खतरा भएको सन्देश फैलाउनु गलत भएको उनी बताउँछन् ।

खुम्बु पासाङल्हामु गाउँपालिकाभित्रै रहेको स्याङ्बोचे विमानस्थल वर्षौंदेखि बन्द छ । नागरिक उड्डयन प्राधिकरणले स्याङबोचे विमानस्थलको स्तरोन्नति र क्षेत्र विस्तार गर्न खोज्दा सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा परेकोलगायतका कारण देखाउँदै बन्द गरेको हो । यसको आन्तरिक कारण भने नाम्चेका केही स्थानीयले स्याङबोचे विमानस्थल सञ्चालन हुन नदिनु हो । स्याङबोचेमा सिधै पर्यटक ओर्लिने र फर्कने गर्दा नाम्चेको व्यापार घटेको भन्दै उनीहरूले विरोध गरेका थिए । स्याङबोचे विमानस्थल पुन: सुरु गर्न सक्ने हो भने पर्यटक संख्या थप्न टेवा पुग्ने स्थानीयको भनाइ छ । लुक्लासम्म सडक लैजाने भनेर सोलुखुम्बु सदरमुकाम सल्लेरीदेखि बाटो खन्न थालिएको ६ वर्ष बितिसकेको छ । खुम्बु क्षेत्रमा हराएका पर्यटकको यकिन तथ्यांक प्रहरीसँग छैन ।

प्रकाशित : मंसिर २१, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

किताबले अप्ठेरोमा पारेनन्

पुस्तक संवाद
विप्लव प्रतीक

अचेल के पढ्दै ?म के पढ्दै छु भन्ने कुरा मेरा लागि नितान्त निजी कुरा हो, आफ्नो प्रेमलाई सार्वजनिक गर्नुजस्तै  । किनभने किताब पढिरहँदा म त्यो किताबका पात्र, लेखक र त्यस किताबको संसारसँग प्रेमले निथ्रुक्क भिजेको हुन्छु  ।

नाम लिनैपर्ने बाध्यता आयो भने ?
भीएस नयपालको ‘बियन्ड बिलिफ’ पढ्दै छु ।

तपाईँका विचारमा पढ्नु केका लागि होला ?
मानिस जिज्ञासु प्राणी हो । पाकाबाट, यात्राबाट, स्वचिन्तनबाट या असल किताबबाट उसको जिज्ञासा शान्त हुने मार्गमा प्रवेश गर्छ । यो मेरो विचार हो, मेरो जीवन दर्शन हो र पढ्नुको लत मलाई प्रिय लाग्छ ।

हाल सालै पढेको र हृदयस्पर्शी कुनै किताब ?
सेपियन्स’ । यति सुन्दर ढङ्गले कसैले मानवजातिको इतिहास यसअघि लेखेको थिएन । गैरआख्यान विधामा यति विनीत तरिकाले कसैले आफ्ना तर्कहरू विरलै राखेका होलान् । विभिन्न किताब पढेर मैले बनाएको विचार यस किताबमा एकै ठाउँमा समेटिएकाले पनि म यसको प्रशंसक भएको हुँ ।

मन परेको किताबलाई के गर्नुहुन्छ ? देखिने ठाउँमा सजाउनुहुन्छ या सिरानीछेउ राख्नुहुन्छ ?
मन परेको किताब पढेपछि म खोजीखोजी इच्छुक परिचित पाठक पहिल्याउँछु र त्यो किताब उपहार दिन्छु । मलाई असल लागेको किताब, सिनेमा र सङ्गीत म साथीहरूसँग सेयर गर्न खुब रुचाउँछु ।

नेपाली साहित्यमा प्रकाशित पछिल्ला आख्यान/गैरआख्यानमाथि तपाईंको टिप्पणी भनिदिनोस् न !
समकालीन युवाहरूमा पढ्ने रुचि जागेको छ, व्यावसायिक प्रकाशन संस्था छाप्न अघि सरेका छन् । यो शुभसंकेत हो । तर, केही कृति छाडेर अधिकांश कृति तृप्त पार्ने खालका भेटिँदैनन् । असल कृतिहरू फाट्टफुट्ट मात्रै पढ्न पाइन्छ । यसमा लेखकको दोषभन्दा पनि समयले हामीलाई दिएको सजाय भन्ठान्छु म । डिस्ट्र्याक्सन प्रशस्त छ । टीभी छ, सोसियल मिडिया छ, भौतिक जिम्मेवारी छ, सोसियलाइजिङ छ र आम्दानीरहित सेलिब्रिटीको ट्याग छ, लेखकहरू गरून् त के गरून् ? भागेर जाऊन् त कहाँ जाऊन् ? कसरी डिस्ट्र्याक्सनबाट जोगिएर केन्द्रित गरून् आफैँलाई गम्भीर लेखनमा ? लोकप्रिय हुन कोही चाहन्छन् भने ती लोकप्रिय अवश्य हुन्छन्, तर उनीहरूभित्रको लेखक हराइसक्छ । लेखकलाई जोगाइराख्यो भने लोकप्रिय हुने गुञ्जाइस सधैं रहिरहन्छ । यो कुरा बुझ्ने नेपाली लेखकहरू अझै बाँकी छन्– यो पनि शुभसंकेत हो ।

तपाईँले पढेका सामाजिक–राजनीतिक–ऐतिहासिक किताबमध्ये पाठकलाई कस्ता किताब रिफर गर्न चाहनुहुन्छ ?
डा. हर्क गुरुङको ‘मैले देखेको नेपाल’, तीर्थबहादुर श्रेष्ठको ‘नेपाल नखुलेका पाटाहरू’, कमलप्रकाश मल्लको ‘द रोड टु नोह्वेर’, बाबुराम आचार्यको ‘अब यस्तो कहिल्यै नहोस्’ र मोहन मैनालीको ‘देखेको देश’ अहिले झटपट सम्झिएका केही किताबहरू हुन् ।

नेपालीमा कस्ता पुस्तक लेखिएका छैनन् ? कस्ता लेखिनुपर्ला ?
नेपाली इतिहास नै राम्ररी लेखिएको छैन । सामाजिक र सांस्कृतिक बनोटका बारेमा लेखिनुपर्ने कति धेरै छ, त्यो लेखिएको छैन । गम्भीर अनुसन्धान गरेर लेखिनुपर्ने कैयन् गैरआख्यान विषयहरू छन्, ती पनि लेखिएका छैनन् । स्रोतविहीन, तथ्यरहित र कल्पित होइन, लेखिनुपर्नेछ स्रोतसहित, तथ्यपरक र विश्वसनीय । किरातकालीन इतिहास, लिच्छवी इतिहास, मल्ल शासनकै इतिहास खोई ? राणा गए, राजा गए । तर, के जानेबित्तिकै तिनका पालामा भएका स्वाभाविक वा नियोजित रूपान्तरणका कुरा आउनुपर्ने होइन र ? त्यो कालखण्डको निष्पक्ष तस्बिर आउनुपर्ने होइन र ? त्यस्ता नलेखिएका धेरै विषय छन् । आशा गरौँ, त्यस्ता किताब आउलान् ।

पढ्नका लागि किताब कसरी छान्नुहुन्छ ?
लेखकको नाम, प्रकाशक र समीक्षामार्फत । केही मेरो इन्ट्युसन अर्थात् सहजबोधले पनि काम गर्छ । बिकाउ शीर्षक भएका कुनैकुनै किताबचाहिँ म किन्दिनँ, पढ्दिनँ । जस्तो कि एउटा अंग्रेजी किताब छ ‘इफ यू मिट द बुद्ध अन् द रोड, किल हिम’ । किताब बेजोड होला, तर शीर्षक पढेपछि ठगिन्छु कि भनेर डर लाग्यो । किनिनँ, कतै भेटिँदा पढिनँ पनि ।

हाम्रो समाज र इतिहासमाथि लेखिएका किताबका कमजोर पक्ष के होलान् ?
केही लेखक छन्, जो जेबाट प्रेरित हुन्छन्, त्यसलाई साबित गर्ने कोसिस गर्छन् । केही लेखक छन्, जो पश्चिमको सिद्धान्तलाई औजार बनाएर लेख्छन् या भनूँ पश्चिमालाई रिझाउन चाहन्छन् र केही लेखक छन् जो यसो लेखे त्यो रिसाउला कि भनेर सत्यलाई बर्को ओढाएर आफ्नो मगजको कन्तुरमा लुकाएर राख्छन् ।

पढ्नु तपाईंका लागि के हो ? आनन्द, बाध्यता कि ज्ञानको अभिप्सा ?
शक्ति कसलाई मन पर्दैन ? राजनीतिज्ञलाई सत्ताको शक्ति, विद्वान्लाई ज्ञानको शक्ति र निर्बललाई बलको शक्ति । त्यो शक्ति कुनै पनि बेला उन्मादमा परिणत हुने डर हुन्छ । जब त्यो शक्ति उन्मादमा परिवर्तित हुन्छ, त्यो सारहीन हुन्छ । त्यसैले उहिले ज्ञानको अभिप्सा हुन्थ्यो होला, अहिले होइन । बाध्यता त हुँदै होइन । सायद आनन्दले पछि लाग्न छाडेको छैन ।

पढेमध्येको ‘बेस्ट बुक’ कुन लाग्छ ?
एउटै मानिससँग मात्र जीवनभरि संगत गरियो भने त्योजस्तो दुःखदायी कुरा के होला र ? त्यो मानिससँगसँगै विभिन्न मानिससँग संगत भयो भने त्यसले सबै सम्बन्धलाई कम्प्लिमेन्ट गर्ला, होइन र ? त्यसैले एउटै बेस्ट बुक त कसैको पनि हुन्न होला । मेरा बेस्ट बुकहरू जिब्रानका छन्, दस्तएभ्स्कीका छन्, चेखब र टोल्स्टोएका छन् । सधैं प्रिय किताबहरूको सूचीमा अरू थुप्रै छन्, जस्तै हर्मन हेस्सेको ‘सिद्धार्थ’ र जे. कृष्णमूर्तिको ‘फ्रिडम फ्रम नोन’ ।

पढ्नु नपर्ने किताब पनि छन् तपाईँका सूचीमा ?
चीनका जो एन लाईले छापिएको किताब वा पत्रिकाको च्यातिएका टुक्रा मात्रै भेटे भने पनि जे जति पढ्न सकिन्छ पढ्थे रे । मलाई त्यो गजब लाग्यो । त्यसैले पढेकै राम्रो । असल परेछ, दिमागमा आनन्दको रसायन बग्छ, राम्रै भयो । कमसल परेछ, असलको खोजी जीवित रहन्छ– त्यो पनि राम्रै भयो ।

तपाईँ सानो छँदा घरमा वा स्कुलको पुस्तकालयमा कस्ता खालका किताब थिए ?
त्यतिखेर बाको आफ्नै संकलन थियो— अंग्रेजी, हिन्दी र नेपाली साहित्यका । स्कुलको वाचनालयमा विभिन्न विषयका किताबहरू थिए, तर तिनमा विद्यार्थीलक्षित किताबहरू मात्रै हुन्थे । साहित्य पनि पाठ्यक्रममा सामेल भएका मात्रै । तर, टोलमा भएको पुस्तकालय भने मेरो प्रिय थियो । त्यहाँ देशविदेशका हिन्दी र अंग्रेजी किताबहरू प्रशस्त थिए । घरमा टैगोरको ‘गोरा’ पढेर सुरु भएको मेरो पठन सफर टोले पुस्तकालयमा इब्ने सफी, कर्नल रञ्जित र जेम्स हेडली चेजका जासुसी उपन्यासहरू हुँदै निकोलाई आस्त्रोभ्स्की, तुर्गनेव, सोलोखोव, दोस्तोएभ्स्की र चेखभतिर लम्कियो ।

किताब छान्न पूर्वअध्ययनले कत्तिको काम गर्छ ?
सपिङमा जति धेरै अपडेट भयो उति ज्यादा उपयोगी भएजस्तै पूर्वअध्ययनले निश्चित रूपमा छनोट गर्न पाठकलाई सहज बनाइदिन्छ ।

स्कुल वा क्याम्पसका सुरुआती दिनमा पढेका कस्ता किताब जीवनमा उपयोगी भए ?
म सोह्र वर्षको छँदा आस्त्रोभ्स्कीको ‘हाउ द स्टिल वाज टेम्पर्ड’ भन्ने किताब पढेको थिएँ । जिन्दगीमा कसैको पनि चित्त दुखाउनु हुँदैन भन्ने शिक्षा मलाई त्यही किताबले दिएको थियो । त्यस्ता उदाहरणहरू धेरै छन् । मैले नेपाली, अंग्रेजी वा रुसी जे जति साहित्यिक कृति पढेँ ती नै मेरो सोचलाई एउटा स्वरूप दिन सक्षम रहे, उपयोगी रहे ।

तपाईंसँग कति किताब छन् घरमा ? तीमध्ये प्रिय पाँचको लिस्ट बनाउनुस् न !
मसँग किताब आउँछन् र जान्छन् । अहिले बचेका अन्दाजी पाँच सय जति होलान् । जो प्रिय छैनन् ती पनि छन्, जो प्रिय छन् ती पनि छन् । जो प्रिय छन्, रहने भैहाले । जो प्रिय छैनन्, अरूलाई दिएर पठाउन मनले मान्दैन । अप्रिय किताब किन उपहार दिनु ? बरु प्रिय नै दिँदा मनमा आनन्द आउँछ । प्रिय पाँचभन्दा पनि मलाई प्रभाव परेकामध्ये केहीचाहिँ हर्मन हेस्सँको ‘सिद्धार्थ’, टल्स्तोईको ‘अ कन्फेसन’, तुर्गेनेभको ‘फादर्स एन्ड सन्स’, रबर्ट एम. पर्सिगको ‘जेन एन्ड द आर्ट अफ मोटरसाइकल मेन्टेनेन्स’ र जोन स्टेनबेकको ‘द ग्रेप्स अफ र्‍याथ’ हुन् ।

किताबको कन्टेन्ट राम्रो/नराम्रो हुनुको कारण के होला ?
त्यसको समीक्षा गर्ने वा कारण भन्ने मसँग हैसियत छजस्तो लाग्दैन । यति भन्न सकिन्छ कि कुनै सिकारुले लेख्दा कन्टेन्ट छनोटमा चुक्न सक्छ सायद, अलि सिद्धहस्त भयो भनेचाहिँ कन्टेन्टमा गम्भीर हुन्छ होला । यो मेरो अनुमान मात्र हो ।

किताबबिनाको जीवन र पुस्तकालयबिनाको देशको कल्पना गर्न सक्नुहुन्छ ?
किताबबिनाको जीवन थियो, अहिले पनि छ । जो श्रमिक छन्, किताब कठै तिनको हत्केलामा पुगेको होला र ? र, ती पिछडिएका मुलुकका किसानहरू, तिनको हातले धानको बाला सुम्सुम्याउनबाट फुर्सद पाएका होलान् र ? बस्, एउटा आशा छ, कुनै दिन तिनको संघारमा शिक्षा पुग्नेछ, काखमा किताब पुग्नेछ र तिनको आर्थिक स्तरोन्नति भएर तिनले पनि कुनै किताबमा आफ्नै कहानीको आस्वाद लिन पाउनेछन् ।

लेखनका क्रममा बेहोर्नुभएको प्रमुख अप्ठेरो के हो ?
मैले जीवनमा भोगेका ‘सुखद र अन्तरंग’ कष्टहरू नै मेरा मार्गदर्शक हुन् । तिनले मलाई कहिल्यै पनि अप्ठेरोमा पारेनन् । मेरो माध्यमबाट आएका कविताहरू तिनैका प्रतिफल हुन् । मैले उपन्यास वा संस्मरण लेख्दा पनि लगभग तिनैबाट काम टरे । लक्की आई एम !

(लेखक विप्लव प्रतीकका उपन्यास‘अविजित’ र कवितासंग्रह ‘नहारेको मान्छे’ प्रकाशित छन्।)

प्रकाशित : मंसिर २१, २०७६ १०:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×