गाईभैंसीसँगै बास

ज्योति कटुवाल

(वीरेन्द्रनगर, सुर्खेत) — पञ्चपुरी नगरपालिका–१ की वडासचिव गंगा रोकाया महिनावारी हुँदा पाँच दिनको बिदा लिएर वीरेन्द्रनगरस्थित घरमा आउँछिन् । उक्त समयमा डेरामा मात्र होइन, कार्यालयभित्र समेत जान पाउँदिनन् । ‘घरबेटीको डरले कोही पनि कार्यालय जाने आँट गर्दैनन्,’ उनले भनिन्, ‘त्यही भएर महिला कर्मचारी महिनावारी भएको बेला कार्यालय जाँदैनन् ।’

छाउपडी प्रथा अन्त्य गर्ने दायित्व बोकेका सरकारी कर्मचारीकै अवस्था यस्तो छ भने सर्वसाधारण महिलाको हबिगत के होला ? पश्चिम सुर्खेत र दैलेखका ग्रामीण क्षेत्रका महिला वर्षौंदेखि यस्तै कष्टदायी जीवन बाँचिरहेका छन् । पञ्चपुरी–२ को तथ्यांक केलाउँदा कहालीलाग्दो रूप देख्न सकिन्छ । वडासचिव सिर्जना आचार्यका अनुसार त्यहाँका २ सय ११ महिलामध्ये ६८.२ प्रतिशत महिनावारी भएका बेला गाईभैंसीसँगै गोठमा सुत्छन् । २४.६ प्रतिशत छाउगोठमा र ५.३ प्रतिशत खुला आकाशमुनि बस्दै आएका छन् ।


पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका र बराहाताल तथा चौकुने गाउँपालिकामा छाउपडी प्रथा मान्नेको संख्या धेरै छ । आफ्ना छाउगोठ नभएकाहरू गाईभैंसीसँगै सुत्छन् । पञ्चपुरी–५ की २० वर्षीया माया थापाले महिनावारीको पाँच दिन निकै त्रासदीपूर्ण हुने गरेको बताइन् । ‘घरदेखि टाढा एकान्तमा बस्नुपर्दा रातभरि निद्रा लाग्दैन,’ उनले भनिन्, ‘त्यसमाथि हिउँदमा चिसो र बर्खामा सर्पको डर हुन्छ ।’


विगतमा सरकारी तथा गैरसरकारी संघसंस्थाले छाउगोठ भत्काउने अभियानै चलाए तर फेरि गोठहरू बनाइएका छन् । छाउगोठ बनाउनु पनि स्थानीयका लागि शौचालय बनाउनुजस्तै प्रतिष्ठाको विषय छ । पञ्चपुरी–१ मा मात्रै करिब सात सयवटा छाउगोठ रहेको वडाध्यक्ष दानबहादुर थापा बताउँछन् । आफ्नै कार्यालयका कर्मचारीसमेत महिनावारी भएका बेला बिदामा बस्ने गरेको उनले स्विकारे । ‘वडाको आफ्नो घर छैन, भाडामा बस्नुपरेको छ,’ उनले भने, ‘भाडाको घर भएकाले घरबेटीको आदेश मान्नैपर्ने बाध्यता छ ।’ छाउपडी प्रथा उन्मूलनसम्बन्धी नीति बनाए पनि जनताको चेतनास्तर परिवर्तन नहुँदा योजनाहरू कागजमै सीमित हुने गरेको छ ।


दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ की तुलसा शाहीको दुई वर्षअघि छाउगोठमा सुतेको बेला सर्पले डसेर मृत्यु भयो । सोही नगरपालिका–३ की लालसरा बिकको पनि गोठमै मृत्यु भयो । दुई दशकयता दैलेखमा मात्र १३ जना महिलाको छाउगोठमा मृत्यु भएको सुर्खेतको वातावरण सुधार समाजको तथ्यांकमा छ । ३२ हजार जनसंख्या रहेको पञ्चपुरीमा आधा संख्या महिलाको छ । त्यसको आधाभन्दा बढी संख्या महिनावारी हुने उमेरका छन् । यिनीहरूलाई छाउगोठबाट घरमा सार्न प्रभावकारी कार्यक्रम छैन । छाउपडीविरुद्ध शीर्षकमा कुनै पनि बजेट छैन ।


चौकुनेले गाउँपालिकाले छाउपडी प्रथा न्यूनीकरण शीर्षकमा एक लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिका कार्यालयकी अधिकृत आशा बुढाका अनुसार गाउँपालिकाका १ सय २५ वटा छाउगोठ रहेको पहिचान भएको छ । ‘बजेट छुट्याएर मात्र हुँदैन, मान्छेको मानसिकतामा परिवर्तन नल्याई यो प्रथा अन्त्य हुन सक्दैन,’ उनले भनिन् ।


दैलेखको आठबिसकोट नगरपालिकामा एक गैरसरकारी संस्थाले छाउपडी अन्त्यका लागि ४२ लाख रुपैयाँ खर्च गर्‍यो । करिब पाँच वर्षसम्म छाउपडी अन्त्य अभियान जोडतोडका साथ चल्यो तर अहिले उक्त नगरपालिकाका विभिन्न वडामा छाउगोठ छ्यापछ्याप्ती छन् । नगरपालिकाका सिंगासैन, सिंगौडी, तिलेपाटा, सात्तला, पिपलकोट र राकमकर्णालीमा धमाधम छाउगोठ निर्माण भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्ष छाउपडी तथा बालविवाहमुक्त अभियानका लागि २० लाख रुपैयाँ छुट्याएको छ ।


प्रकाशित : मंसिर २१, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?