कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भ्रमण वर्षमा सौराहामा विद्युत् अवरुद्ध नहुने    

रासस

चितवन — भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै पर्यटकीय क्षेत्र सौराहामा विद्युत् अवरुद्ध नहुने भएको छ । नेपाल विद्युत प्राधिकरण टाँडी वितरण केन्द्रले नयाँ फिडर जडान गरी सौराहा क्षेत्रमा विद्युत आपूर्ति गराउने भएको हो । केन्द्रका प्रमुख चुतुनकुमार श्रीवास्तवले पर्सा सबस्टेशनबाट खैरहनी, कुमरोज, बुढ्यौली हुँदै हाल सौराहा विद्युत पुर्‍याइएको छ ।       

सौराहा लामो क्षेत्र भएकाले तार, पोल, ट्रान्सफर्मरमा देखिने समस्याले पटक पटक विद्युत अवरुद्ध हुँदै आएको श्रीवास्तवले बताए । केन्द्रले सौराहालाई लक्षित गर्दै पर्साबाट राजमार्ग हुँदै सौराहाचोकको बाटो सोझै तार तानेर नयाँ फिडरमार्फत विद्युत् वितरण गर्न लागेको हो । पर्सा सबस्टेशनमा हाल चारवटा फिडर रहेकोमा बढाएर छ वटा पुर्‍याउने तयारी गरिएको उनले बताए ।


भरतपुरबाट गएको ३३ हजार केभिए विद्युतले नपुगेपछि ११ हजार केभिएको छुट्टै तारमार्फत अहिले सौराहामा विद्युत् पुर्‍याइएको छ । श्रीवास्तवले पुसभित्रमा सौराहामा विद्युत् अवरुद्ध नहुने गरी व्यवस्थापन गरिसक्ने बताए ।


देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार हो । सो क्षेत्रमा १सय २० होटल रहेका छन् । सौराहामा भ्रमण वर्षमा चार लाख पर्यटक भित्र्याउने लक्ष्य छ ।


सौराहामा घोषित रुपमा विद्युतभार कटौती नभए पनि प्राविधिक कारण समय समयमा विद्युत् आपूर्तिमा समस्या हुने गरेको छ ।


प्रकाशित : मंसिर २०, २०७६ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रियसभामा क-कसको सकिँदै छ दुईवर्षे कार्यकाल ?

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रियसभाका १९ सदस्यको आगामी फागुन २० गते पदावधि  सकिँदैछ । रिक्त १९ सदस्यमध्ये १८ जना निर्वाचनको माध्यमबाट चयन हुनेछ भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुन्छन् ।

राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, 'हामीले आगामी माघको १५ गतेभित्रै राष्ट्रियसभाको निर्वाचन सक्नुपर्छ ।'

पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यहरुमा सरिता प्रसार्इं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली छन् ।

अर्थमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य डा युवराज खतिवडाको स्थानमा रिक्त हुने पदमा भने राष्ट्रपतिबाट मनोनीत हुने छ । उनी यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत भएका थिए । फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेकपाका नौ, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एकजना सदस्य छन् ।

राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् । यो निर्वाचनमा पहिलो हुने निर्वाचित हुने अर्थात् धेरै मत प्राप्त गर्ने नै विजयी हुने निर्वाचन प्रणालीबाटै उम्मेदवारको चयन हुनेछ ।

राष्ट्रियसभाको आगामी निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य सातजना निर्वाचित हुन्छन् । सङ्घीय संसद्को माथिल्लो सभाका रुपमा रहने राष्ट्रियसभामा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका प्रबुद्ध व्यक्तिको प्रतिनिधित्व हुने संविधानले परिकल्पना गरे पनि कतिपय परिपक्व नभएका राजनीतिक कार्यकर्तालाई स्थान दिँदा संविधानको भावनाअनुरुप सभाको गरिमा कायम हुन नसकेको भनी आलोचना हुँदै आएको छ ।

यसैबीच निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर्ने भएको छ ।

प्रकाशित : मंसिर २०, २०७६ १३:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×