१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

लगतकट्टा नहुँदा मुआब्जा वितरणमा ढिलाइ

विमल खतिवडा

शिलान्यास भएको महिना दिन बितिसक्दा पनि नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा पर्ने जग्गाको किचलो अझै टुंगिएको छैन  । काठमाडौंतर्फ समस्या नभए पनि धादिङतर्फको जग्गामा समस्या भएको छ  ।

जग्गाको समयमै लगतकट्टा नहुँदा मुआब्जा वितरण हुन सकेको छैन । ‘लगतकट्टाका लागि मालपोत कार्यालय पठाएको महिना दिन भयो,’ नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले भने, ‘सबै जग्गाको कट्टा भएर नआउँदा मुआब्जा वितरण गर्न पाइएको छैन ।’


उनका अनुसार अहिलेसम्म तीन कित्ताको मात्र मुआब्जा वितरण गरिएको छ । थप चार कित्ताको लगतकट्टा भएर आएको छ । ‘अझै ८ कित्ताको कट्टा भएर आउन बाँकी छ,’ उनले भने, ‘मालपोत कार्यालयले ढिलाइ गरिदिँदा समस्या भएको हो ।’ उनका अनुसार गुठीको जग्गा भएकाले एक तिहाई मात्र मोहीले पाउँछन् । दुई तिहाई गुठीको नाममा हुन्छ । ‘एक तिहाई पाउनेलाई ३ करोड वितरण गरिसकेका छौं,’ उनले भने, ‘पौने ६ करोड गुठीको नाममा छ ।’


जग्गा पूरै खाली नभए निर्माण कार्य प्रभावित बन्नेछ । निर्माणका लागि भौतिक संरचना निर्माण रोकिनेछ । सुरुङको मुख्य काम नै धादिङबाट सुरु हुनेछ । ‘सरकारले अधिग्रहण गर्ने जग्गा भएपछि लगतकट्टा गरेर पठाइदिन भनेका हौं,’ स्थानीयले हामीसँग आएर पैसा लग्ने थिए,’ उनले भने, ‘कहिले मोही छैन, कहिले जग्गा धनी छैन भन्दै काममा ढिलाइ भइरहेको छ ।’ आयोजनाले दुई चोटि कर्मचारी लगतकट्टा गर्न पठाए पनि समयमै काम नभएको जनायो । ‘मालपोतको भनाइ मोही र जग्गाधनी दुवै आउनुपर्छ भन्ने हो,’ उनले भने, ‘दुवैमध्ये एक पक्ष कहिल्यै आएनन् भने सरकारले जग्गा अधिग्रहण नै गर्दैन र ? जग्गा अधिग्रहण गर्ने भनेर सरकारले सूचना नै निकालिसकेकाले समस्या नहुनुपर्ने हो ।’ धेरै कित्ताको लगतकट्टा गर्न पठाउँदा कर्मचारीले झन्झट मान्ने गर्छन् ।


‘लगतकट्टाका लागि सबै स्रेस्ता राखेर पठाएका छौं, जग्गाको रोक्का राखेका छौं,’ उनले भने, ‘यसमा ढिलाइ नगरिदिँदा हुन्थ्यो भन्ने हो । सबै आउन नसके पनि मोहीको उपस्थितिमा काम गर्दा समस्या होलाजस्तो लाग्दैन ।’ यता मालपोत कार्यालय धादिङका प्रमुख पुरुषोत्तम भण्डारीले लगतकट्टाका लागि मोही र जग्गाधनी दुवै चाहिने बताए । ‘कहिले मोही आउने, कहिले जग्गाधनी नआउने समस्याले ढिलाइ भएको हो,’ उनले भने, ‘दुवै पक्ष एकैचोटि आउँदैनन्, आए हामीले एकैदिनमा काम गरेर पठाउने थियौं ।’


यसमा कुनै रोकतोक गर्न नखोजेको उनले स्ष्पट पारे । ‘मोही नै काट्न मेरो अधिकार हुँदैन, मोही र जग्गाधनी छुट्टिनुपर्ने हो,’ उनले भने, ‘समस्या हाम्रो कारणले भन्दा पनि जग्गाधनीकै कारणले भएको छ, हामीले खोज्दै हिँड्ने कुरा भएन ।’ त्यस्तै धादिङतर्फ रहेका ५७ घरटहरामध्य ४० वटाको मुआब्जा दिने प्रक्रिया सुरु भएको छ । ‘थप आएको चार कित्ताको साढे ५ करोड र घरटहराको डेढ करोड वितरण गर्ने तयारीमा छौं,’ आयोजना प्रमुख खरेलले भने, ‘वितरण गरेकामा गुठीमा पैसा दिएका छैनौं, मोहीको मात्र दिएका छौं, गुठीको जग्गामा मोहीहरूको माग बढेको छ, सरकारले निर्णय गरिहाल्यो भने फिर्ता लिन गारो हुन्छ भनेर दिएका छैनौं ।’


अहिले प्रारम्भिक रूपमा ड्रिल गर्ने, संरचना बनाउने काम भइरहेको छ । आयोजनाले निर्माण कम्पनीलाई १० प्रतिशत पेस्की रकम दिइसकेको छ । पुरानै मेसिनबाट काम भइरहेको छ । ‘सुरुङ निर्माणको काम चार महिनापछि मात्र सुरु हुनेछ, त्यो बेलासम्म बाहिरबाट मेसिन आइसक्नेछन्,’ उनले भने, ‘जुन काममा विस्फोटक पदार्थ पनि चाहिन्छ, यो नभई सुरुङको काम सुरु हुने छैन ।’ काठमाडौंतिर थप जग्गाबारे मन्त्रिपरिषद्बाट निर्णय भइसकेको छ ।

‘अब यसको लगत निकालेर रोक्का गर्ने तयारीमा छौं,’ उनले भने, ‘त्यसपछि सूचना निकालेर मुआब्जा वितरण थाल्नेछौं ।’ यसका लागि थप १ अर्ब चाहिनेछ । जहाँ ११ रोपनी जग्गा र घर ४० वटा घर पर्नेछन् । धादिङमा १०९ रोपनी जग्गा सुरुङमार्गमा पर्नेछ । जसमध्ये ४४ रोपनी जग्गाको मुआब्जा दिनुपर्ने हुन्छ ।

४४ मध्ये २६ रोपनी श्री ५ को वायु गुठीका नाममा छ । काठमाडौंतर्फ भने ३१२ रोपनी जग्गा प्रयोग हुनेछ । जहाँ ४ अर्ब २० करोड मुआब्जा वितरण भइसकेको छ । जापानी निर्माण कम्पनी हाज्मा एन्डोले ठेक्का लिएको सुरुङमार्गको ४२ महिनाभित्र निर्माण सक्नुपर्नेछ । २ दशमलव ६८ किमि रहने सुरुङमार्ग निर्माणका लागि जापानको साढे १६ अर्ब ऋण सहयोग रहेको छ ।

प्रकाशित : मंसिर १९, २०७६ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?