बिजुली बस चार्जिङ स्टेसनको काम सुचारु- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिजुली बस चार्जिङ स्टेसनको काम सुचारु

कान्तिपुर संवाददाता

लुम्बिनी — लुम्बिनीमा बन्न लागेको बिजुली बस चार्जिङ स्टेसनको काम पुनः सुचारु भएको छ  । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पत्राचार गर्दै काम रोक्न निर्देशन गरेको थियो  ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा बन्न लागेको अन्तर्राष्ट्रिय सभा हल तथा ध्यान केन्द्रसँग जोडिएर चार्जिङ स्टेसन बन्न लागेकाले काम रोकिएको थियो ।

‘ओलीको महत्त्वपूर्ण योजनामध्येको सभा हल तथा ध्यान केन्द्र थियो,’ स्रोतले भन्यो, ‘नजिकै चार्जिङ स्टेसन बनाउँदा कोलाहल र भीडभाड बढ्ने भएकाले ध्यान गर्न आउनेलाई समस्या हुन्छ भन्दै उनले काम रोक्न निर्देशन दिएका हुन् ।’ गत वैशाखदेखि कात्तिकसम्म काम रोकियो । लुम्बिनी विकास कोष पदाधिकारी प्रधानमन्त्रीसँगै कुरा राख्न डराए । स्टेसन निर्माणको ठेक्का पाएको जापानी र नेपाली साझेदार व्यवसायीले कामलाई निरन्तरता दिन तीव्र दबाब दिन थाले । त्यसमा एडीबी पनि लाग्यो ।

कोषले जहाँ जग्गा उपलब्ध गरायो, त्यहीँ बनायो । ‘यो हाम्रो कमजोरी होइन,’ ठेकेदार पक्षले भन्यो, ‘त्यसको सजाय हामीले किन पाउने !’ पावर हाउस र सोलार प्यानल अर्को स्थानमा राख्ने गरी पर्यटनमन्त्री योगेश भट्टराईले निकास दिलाएका हुन् । मंसिर पहिलो साताबाट काम थालिएको छ । आठ जना कामदारले सोलार प्यानल राखिएको ठाउँमा उम्रेका झारपात सफा गरिरहेका छन् ।

त्यहाँ ३ देखि ५ फिटसम्म झार उम्रेका थिए । पावर हाउस पहिलेकै पुरानै ठाउँमा हुन्छ । १६० मिटर वाइ ८० मिटर लम्बाइ चौडाइको क्षेत्रमा पावर हाउस छ । त्यसको तारबारको काम पनि भइरहेको छ । चार्जिङ स्टेसन भने एक किमि उत्तर ‘ए’ ब्लकमा स्थानान्तरण गरिएको छ । पावर हाउसबाट भूमिगत रूपमा तार लगेर चार्जिङ स्टेसनसम्म पुर्‍याइनेछ । एसियन हाइवेको लुम्बिनी विकास कोष प्रबन्धक निवास भएको ठाउँ नजिक स्टेसन बनाइँदै छ । यहीँबाट गाडीमा चार्ज गरिनेछ ।

त्यहाँ २३ वटा गाडी चार्जर स्ट्यान्ड राख्न काम थालिएको छ । यिनमा तीन वटा क्विक चार्जर हुन्छ । ८० किलोवाट क्षमताको ब्याट्री हुने एउटा बस र ४० किलोवाट क्षमताका दुई वटा जिप र कार एकैपटक क्विक चार्ज गर्न सकिन्छ । क्विक चार्जबाट फुल चार्ज हुन आधा घण्टा लाग्छ । बाँकी २० वटा सामान्य चार्जर हुन्छन् ।

यसबाट एक घण्टामा फुल चार्ज हुन्छ । स्टेसनबाट एकैपटकमा १३ सवारी साधनले चार्ज गर्न सक्नेछन् । एउटा लुम्बिनी विकास कोष कार्यालयअघि जोडिएको छ । त्यस्तै भैरहवास्थित गौतम बुद्ध विमानस्थलको डोमेस्टिक टर्मिनलअघि ६ वटा चार्जिङ प्वाइन्ट पनि राख्न थालिएको छ । त्यो काम पनि सुरु भएको छ । त्यस्तै लुम्बिनीस्थित स्टेसनमा ७५ इलेक्ट्रिक रिक्सा चार्ज हुने प्वाइन्ट पनि राखिनेछ ।


‘अब २० प्रतिशत काम बाँकी छ,’ जापानको इसाका इलेक्ट्रिक कम्पनीका नेपाली साझेदार चिरञ्जीवी थापाले भने, ‘मार्चभित्र काम पूरा गरिसक्छौं ।’ पावर हाउसको अधिकांश काम सकिएको छ । भूमिगत रूपमा तार तान्न र नयाँ ठाउँमा चार्जिङ प्वाइन्ट राख्ने काम बाँकी छ । ‘सबै सामग्री आइसकेका छन्,’ उनले भने, ‘कन्टोल रुम बनाउन र उपकरण जडान गर्न मात्र बाँकी छ ।’

त्यसपछि केही समय परीक्षण पनि गर्नुपर्छ । एक जापानी र दुई नेपाली इलेक्ट्रिकल इन्जिनियरले काम गरिरहेका छन् । स्टेसनको करिब ८० प्रतिशत बढी काम सम्पन्न भएको छ । स्टेसनका लागि सोलार प्यानल जडान गर्ने काम सकिएको छ । पावर हाउस पनि बनाइएको छ । घामबाट सोलार प्यानल चार्ज भई विद्युत् उत्पादन गर्छ ।


२ सय ६० वाटका सोलार प्यानल जाडेर ४४ वटाको एउटा ठूलो प्यानल बनाइएको छ । त्यस्ता ठूला प्यानल १२ वटा छन् । त्यस्तै ३२ वटा प्यानलका दुई वटा ठूला प्यानल बनाइएको छ ।

ती सबै प्यानललाई जमिनमा गाडेर आरसीसी ढलानसँग जोडिएको छ । सबै गरेर २६० वाटका ५९४ सोलार जडान गरिएको छ । यो पावर हाउसबाट १५४ किलोवाट विद्युत् उत्पादन हुन्छ । यो मुलुककै सबैभन्दा ठूलो सोलार चार्जर स्टेसन हो । पावर हाउसका लागि चाहिने सबै सामग्री विदेशबाट आइसकेका छन् । पावर हाउसका लागि सोलार प्यानल जापानबाट, स्ट्रक्चरका सामान चीन र जक्सन बक्स (पावर कन्ट्रोल र सप्लाई गर्ने उपकरण) इटालीबाट आयात गरिएको हो । कोरियाबाट लिथेमाइन ब्याट्री ल्याइएको छ । सोलारले ब्याट्री चार्ज गरेर इन्भर्टरबाट ऊर्जा सप्लाई गर्छ । ब्याट्रीको क्षमता ९ सय किलोवाट (३ बैंक) को छ ।


पावर हाउसबाट १५४ किलोवाट विद्युत् उत्पादन हुन्छ । सोलारबाट यो नेपालकै सबैभन्दा धेरै विद्युत् उत्पादन हुने स्टेसन भएको इसाका कम्पनीका जापानी इलेक्ट्रिक इन्जिनियर नाबुतुसो नाकावले बताए । ‘यहाँबाट उत्पादन भएको बिजुली पूरै खपत नभए विद्युत् प्राधिकरणलाई दिने योजना पनि थियो,’ उनले भने, ‘एक वर्षसम्म निःशुल्क दिने प्रावधान छ ।’ विद्युत् प्राधिकरणको ग्रिडमा जोड्न लाइन लिने/दिने प्वाइन्टसम्म तार बिछ्याउने र ट्रान्सफार्मर राख्ने योजना छ ।


एसियाली विकास बैंकको सहयोगमा जापानको इसाका इलेक्ट्रिक कम्पनीले पावर हाउस निर्माण गरिरहेको थियो । १३ करोड लागतमा पावर स्टेसन बन्दै थियो । गत वर्षको डिसेम्बरमा सुरु भई अप्रिलमा निर्माण पूरा गर्ने लक्ष्य थियो । ‘काम तीव्र गतिमा भइरहेको थियो,’ उनले भने, ‘रोकिँदा एक वर्ष ढिलो हुने अवस्था आएको हो ।’ काम रोकिँदा र चार्जिङ स्टेसन सार्न पर्दा लागत बढ्ने नेपाली साझेदार थापाले बताए ।


‘रोकिएको बिजुली चार्जिङ स्टेसनको काम सुरु भयो,’ लुम्बिनी विकास कोषका योजना प्रबन्धक सरोज भट्टराईले भने, ‘अब लुम्बिनीमा बिजुली बस चढ्ने चाहना पूरा हुने भयो ।’ तीन वर्षभित्र लुम्बिनीमा पेट्रोलियम पदार्थले चल्ने सवारी साधन विस्थापित गर्ने योजनाअनुसार चार्जिङ स्टेसन सञ्चालनमा ल्याउन थालेको कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बताए । ‘अहिले निर्माण भइरहेको ठाउँ उपयुक्त भएन भनेर प्रमको चिन्ता थियो,’ उनले भने, ‘त्यहाँ गाडीहरू चार्जिङ गर्न जाँदा कोलाहल र भीडभाड हुन्छ ।’ शान्ति खोज्दै ध्यान गर्न आउनेका लागि उपयुक्त हुँदैन । त्यही भएर अर्को विकल्प खोजेर काम अघि बढाएको उनले बताए । विकासमा वामे सर्दै गरेको लुम्बिनीवासीको खुसीमा ठेस लागेको भए पनि अब बन्ने आशा पलाएको उनले बताए ।

प्रकाशित : मंसिर १९, २०७६ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्

सावित्राको ह्याट्रिक, माल्दिभ्सविरुद्ध नेपाल विजयी

कान्तिपुर संवाददाता

पोखरा — सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएकी नेपाली महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले १३ औं साग अन्तर्गत पोखरामा जारी माल्दिभ्सविरुद्धको खेलमा ह्याट्रिक गरेकी छन् । उनको ह्याट्रिकसँगै नेपालले माल्दिभ्सलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।

खेलको पहिलो हाफमा नै दुई गोल गरेकी सावित्राले दोस्रो हाफमा थप एक गोल गर्दै ह्याट्रिक पुरा गरेकी थिइन् ।


प्रकाशित : मंसिर १९, २०७६ १६:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×