१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

प्रतिवेदन बन्यो कारबाही अघि बढेन

अनुगमनको सुन गायब
विभाग भन्छ– मन्त्रालयको आदेशको पर्खाइमा छौं । मन्त्रालय भन्छ– जानकारी छैन ।
राजु चौधरी

सरकारी टोलीले अनुगमनका क्रममा र परीक्षण गर्न ल्याएको सुन गायब भएको प्रकरण छानबिन गर्न गठित समितिले प्रतिवेदन बनाए पनि कारबाही अघि बढेको छैन  । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा नमुना परीक्षण गर्न ल्याएको केही सुन फिर्ता नगरेको सुनचाँदी व्यवसायी महासंघको दाबी छ  ।

प्रतिवेदन बन्यो कारबाही अघि बढेन

नमुना परीक्षणको सुनसँगै अनुगमनका केही फाइलसमेत गायब भएपछि तत्कालीन महानिर्देशक योगेन्द्र गौचनले असोज अन्तिममा निर्देशक भगवान् श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए । समितिले साताअघि महानिर्देशक नेत्रबहादुर सुवेदीलाई प्रतिवेदन बुझाए पनि थप प्रक्रिया अगाडि बढेको छैन । विभागले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आदेश पर्खेर बसेको छ ।


विभागका महानिर्देशक नेत्रबहादुर सुवेदीले सुनको प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाएको र आदेशपश्चात प्रक्रिया बढाइने बताए । ‘सुनको विषयमा मन्त्रालयको पनि चासो छ । त्यसैले मन्त्रालयको आदेशमा मात्रै प्रक्रिया अगाडि बढ्छ,’ उनले भने, ‘यो दुई वर्षअघिको कुरा हो । केही छिटफुट पनि छ । अख्तियारबाट पनि चिठी आएको छ । त्यसैले मन्त्रालयले पनि चासो दिएको छ ।’ महानिर्देशक सुवेदीले आदेश आवश्यक भएको बताए पनि निवर्तमान महानिर्देशक गौचनले प्रतिवेदन विभागको आन्तरिक भएकाले आदेश कुर्न नपर्ने बताउँछन् ।


‘आन्तरिक विषय भएकाले मन्त्रालयको आदेश कुर्नुपर्ने बाध्यता हुँदैन,’ निवर्तमान महानिर्देशक गौचनले भने, ‘मन्त्रालयकै आदेश चाहिँदैन, विभागकै विषय हो ।’ हाल सुनको विषयमा अख्तियारले चासो दिएको छ ।


उपभोक्ताकर्मीहरू पनि प्रतिवेदन लुकाउनु गलत भएको बताउँछन् । ‘सर्वसाधारणले सही/सत्य सूचना पाउनुपर्छ । प्रतिवेदन सार्वजनिक नगर्दा दोषीलाई बचाउने खोजिएको आशंका हुन्छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘प्रतिवेदन तत्काल सार्वजनिक गरी सुझाव कार्यान्वयन हुनुपर्छ ।’


महानिर्देशक सुवेदीले प्रतिवेदन मन्त्रालयमा बुझाएको बताए पनि मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखालाई जानकारी छैन । मन्त्रालयका सहसचिव तथा शाखा प्रमुख धुव्र घिमिरले फाइल आफ्नो शाखामा नआएको बताए । मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले पनि प्रतिवेदनबारे आफूलाई जानकारी नभएको बताए । ‘प्रतिवेदन बुझाएको सन्दर्भमा अनभिज्ञ छु,’ उनले भने, ‘यस सन्दर्भमा विस्तृत रूपमा महानिर्देशकसँग नै बुझ्नुहोला ।’


समितिले छानबिनका क्रममा करिब ४२ वटा सुन अनुगमनका फाइल फेला परेको छ । जसमध्ये केही नमुना फिर्ता नभएको समेत पाइएको स्रोतको भनाइ छ । समितिले कर्मचारी सरुवा हुँदा सम्पूर्ण फाइल उपलब्ध गराउनुपर्ने । फाइल तथा जिन्सी सामान सम्बन्धित शाखामा बुझाएर मात्रै जानुपर्ने सुझाव दिएको छ । सरुवा हुँदा फाइलहरू नबुझाउँदा केही फाइल उपलब्ध नभएको समेत उल्लेख छ ।


महानिर्देशक सुवेदीले प्रतिवेदन फरक नपर्ने गरी अध्ययन/अनुसन्धान गरेर प्रतिवेदन तयार पारेको बताए । उद्यमी, व्यवसायीले दाबी गरे पनि काम लाग्ने सूची/यथार्थ नखुलाएको दाबी गरे । यता सुनचाँदी व्यवसायी महासंघले भने २१ व्यवसायीले सुनको गहना फिर्ता नपाएको विवरण बुझाएको छ । महासंघले विभागका पठाएको विवरणअनुसार इन्द्रचोकमा रहेको शाक्य ज्वेलर्सको १.३८ ग्रामको टप, १.३३ ग्रामको लकेट, भेडासिंको न्यु कुमारी ज्वेलर्स एन्ड ह्यान्डिक्राफ्टको ०.९० ग्रामको टप र ०.५६ ग्रामको टप फिर्ता नपाएको विवरणमा छ ।


कालीमाटीको शुभश्री ज्वेलर्सले २.२० ग्रामको औंठी, वटुको श्रीसुर्यबहादुर शाक्य एन्ड सन्सको ११ ग्रामको चुरा र ८ ग्रामको झुम्का, कास्कीमा रहेको दि युनाइटेड गोल्ड मार्टको १.९२ ग्रामको डाइस फेन्सी औंठी फिर्ता नपाएको विवरण पठाएको छ । यस्तै कास्कीकै गोरखा एन्ड वराह ज्वेलरी इन्डस्ट्रिज प्रालिको १.३८ ग्रामको लकेट, दलबहादुर एन्ड सन सुनचाँदी पसलको २.९८ ग्रामको क्वाइन औंठी फिर्ता नभएको विवरण विभागमा पेस भएको छ ।


अर्जुन पुग्दीभुम्दी सुनचाँदी पसलले ३.८० ग्रामको फेन्सी औंठी, फेवाताल सन्तोष सुनचाँदी दोकानले २ ग्रामको १ जोर टप, स्याङ्जाको कमल सुनचाँदी दोकानबाट ०.५५० ग्रामको नाकेफुली १ थान, सुवास सुनचाँदी पसलबाट ०.६४० ग्रामको घोप्टे टन १ थान नमुना फिर्ता नपाएको उल्लेख छ । यीबाहेक विभिन्न जिल्लामा अनुगमनबाट संकलन गरिएको नमुना पनि फिर्ता नभएको विवरण विभागमा पेस गरिएको छ ।

प्रकाशित : मंसिर १९, २०७६ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?