कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मौसमी ‘राडार’ सञ्चालन

वीरेन्द्रनगर — नेपालकै पहिलो मौसमी ‘रेडियो डिटेक्सन एन्ड रेन्जिङ’ (राडार) सुर्खेतको वीरेन्द्रनगर–१३, रातानाङ्लामा स्थापना भएको छ । मौसमसम्बन्धी पूर्वसूचना दिने यो प्रणालीको मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उद्घाटन गरे ।

२०७५ कात्तिक १४ मा निर्माण सम्पन्न भए पनि प्राविधिक समस्याले राडार सञ्चालनमा आउन सकेको थिएन । सुर्खेतमा जडित राडारले दिने सूचना जल तथा मौसम विज्ञान विभाग काठमाडौंबाट संकलन गरिने छ । विश्व बैंकको सहयोगमा १७ करोड रुपैयाँ लागतमा राडार जडान गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठका अनुसार यसले कर्णाली प्रदेशका साथै सुदूरपश्चिम प्रदेश र ५ नम्बर प्रदेशभित्र पर्ने ४ सय किलोमिटर दूरीसम्मको मौसमको पूर्वसूचना दिनेछ । ‘राडारले वर्षा, वर्षाको प्रकार तथा तीव्रता, वायु प्रणालीको बहाव, बादलको अवस्था, चक्रवातको बहिर्भावको स्थिति, असिना, हिउँ, चट्याङ, बाढीलगायत जोखिमको पूर्वानुमान गर्नेछ,’ उनले भने, ‘यसले मौसमी प्रतिकूलताका कारण हुने प्राकृतिक जोखिम न्यूनीकरण गर्न महत्त्वपूर्ण टेवा दिनेछ ।’ यसअघि यसबाट लिइने जानकारी अमेरिकामा रहेको इन्टरप्राइज इलेक्ट्रोनिक्स कोअपरेसन (सीईसी) ले संकलन गर्दै आएको र सोही कम्पनीसँगको सम्झौतामा नेपालमा राडार जडान गर्ने प्रक्रिया सुरु गरिएको उनले बताए ।


राडारबाट प्राप्त तथ्यांक र सूचनाका आधारबाट पश्चिम क्षेत्रमा हुने मौसमजन्य प्रकोप र तिनीहरूको असरलाई उल्लेख्य रूपमा घटाउन सकिने मन्त्रालयले जनाएको छ । मौसमविज्ञका अनुसार मौसमी राडारले सेकेन्ड–सेकेन्डमा निष्कासन हुने विद्युत्–चुम्बकीय लहरहरू वायुमण्डलमा रहेको बादल र हावामा भएका पानीको थोपासँग ठोक्किएर आएको तथ्यांकलाई मापन गर्ने काम गर्दछ ।


राडारले कर्णालीमा हवाईयात्राको अवस्थाबारे सहयोग गर्नुका साथै कृषकलाई समेत बालीनाली लगाउन मद्दत पुर्‍याउनेछ । मन्त्री पुनले यसको सदुपयोगले जोखिम व्यवस्थापनमा सहयोग पुग्ने बताए ।


प्रकाशित : मंसिर १८, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?