बैंकर्स संघमा दाहाल निश्चित

काठमाडौँ — वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल चयन हुने भएका छन् । संघको नयाँ नेतृत्वका लागि अरू कसैको उम्मेदवारी नपरेपछि दाहाल निश्चित भएका हुन् । संघको ३३ औं वार्षिक साधारणसभाले उनलाई अध्यक्ष पदमा चयन गर्नेछ । आउँदो बिहीबार संघको सधारणसभा हुँदै छ । संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाको दुईवर्षे कार्यकाल सकिएपछि उक्त पदमा दाहालको उम्मेदवारी परेको हो । 

बैंकर्स संघमा दाहाल निश्चित

दाहाल सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । उनीसँग बैंकिङ क्षेत्रको २८ वर्षको अनुभव छ । दाहालले नबिल बैंकबाट करिअर सुरु गरेका हुन् । सहायक पदबाट बैंकिङ करियर सुरु गरेका दाहालले करिब २२ वर्ष नबिल बैंकमै काम गरे । नबिलबाट बाहिरिँदा उनी प्रमुख सञ्चालन अधिकृत (सीओओ) थिए । ६ वर्षअघि उनी डेपुटी सीईओमा सानिमा गएका हुन् । त्यसको ६ महिनापछि उनले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका थिए । दाहाल वित्तीय क्षेत्रका बौद्धिक सीईओ मानिन्छन् ।


संघको नयाँ कार्यसमितिका लागि मंगलबार ५ बजेसम्म उम्मेदवारी दिनुपर्ने थियो । सो अवधि सम्म सबै पदमा एक/एक जनाको मात्र उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक एवं कार्यकारी निर्देशक अनिल शर्माले बताए । ‘अध्यक्ष पदमा सानिमा बैंकको मात्र उम्मेदवारी परेको छ,’ उनले भने, ‘सो प्रस्ताव साधारणसभाबाट पारित हुनुपर्छ ।’


संघमा अध्यक्ष, उपाध्यक्ष र सात सदस्य गरी ९ जनाको कार्यकारी समिति हुन्छ । तीमध्ये अध्यक्ष, उपाध्यक्ष र ५ जना सदस्यका लागि अहिले निर्वाचन हुन लागेको हो । संघमा बैंक सदस्य हुने व्यवस्था छ । बैंकको प्रतिनिधित्व प्रमुख कार्यकारी अधिकृतले गर्छन् ।


मंगलबारसम्म संघको उपाध्यक्षमा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरको उम्मेदवारी परेको छ । उनी अहिले पनि संघको उपाध्यक्ष छन् ।

प्रकाशित : मंसिर १८, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?