प्रदेशहरूको विकास खर्च : ४ महिनामा ४ प्रतिशत हाराहारी

प्रदेश ब्युरो

काठमाडौँ — चालु वर्षको पहिलो चार महिनामा सात वटै प्रदेशहरूको विकास बजेटको औसत खर्च ४ प्रतिशत मात्रै भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयहरू र आर्थिक मामिला तथा योजना मन्त्रालयहरूले उपलब्ध गराएको विवरणअनुसार समग्रमा बजेट खर्च साढे ४ प्रतिशत छ ।

ZenTravel

प्रदेश २ र कर्णालीको विकास बजेट खर्च १ प्रतिशतभन्दा कम छ । विनियोजित बजेटमध्ये प्रतिशतका आधारमा सबैभन्दा बढी ७.५४ प्रतिशत विकास खर्च गण्डकी प्रदेशले गरेको छ । रकमका आधारमा सबैभन्दा बढी विकास बजेट खर्च गर्नेमा प्रदेश १ परेको छ । उसले विनियोजन गरेको विकास बजेटको ७.३८ प्रतिशत अर्थात् १ अर्ब ७३ करोड ८६ लाख ५८ हजार रुपैयाँ बजेट खर्च गरेको देखिन्छ ।

प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीले यो रकम खर्चलाई उपलब्धिका रूपमा नलिएको बताउँछन् । ‘पहिलो चौमासिकमा न्यूनतम १५ प्रतिशतसम्म बजेट खर्च भइदिएको भए प्रगति देखिने थियो,’ उनले भने, ‘त्यसैले सबै मन्त्रालयलाई काममा गति दिन मुख्यमन्त्री र मन्त्रीहरूले निर्देशन दिइसक्नुभएकाले दोस्रो चौमासिकमा प्रगति सन्तोषजनक देखिने अपेक्षा छ ।’ पहिलो चौमासिकमा चाडपर्व परेको र योजनाहरूको विस्तृत अध्ययन प्रतिवेदन, डिजाइन, स्टिमेटलगायत कारणले खर्च कम भएको उनको भनाइ छ ।

प्रदेश १ पछि विकास बजेट बढी खर्च गर्ने प्रदेश गण्डकी हो । उसले १९ अर्ब ८४ करोड ९० लाख २० हजार रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको थियो । ४ महिनामा १ अर्ब ४९ करोड ६८ लाख ५५ हजार रुपैयाँ खर्च गरेको छ । गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले खर्च लक्ष्यअनुसार नभएको स्वीकार गर्छन् । ‘खानेपानी, सिँचाइजस्ता योजना सञ्चालन गर्ने खेतबारीमा अन्नबाली नै छ,’ उनले भने, ‘पाइप गाड्न, ट्यांकी निर्माण गर्ने काम अघि सार्न सकिएको छैन ।’ कात्तिकभित्र टेन्डरको काम सक्ने लक्ष्य लिए पनि प्रक्रिया लामो हुँदा समय लागेको उनले बताए । ‘जग्गाको समस्याले विकास निर्माणका धेरै योजना प्रभावित बनेका छन्,’ उनले भने ।

विकास बजेट सबैभन्दा कम खर्च गरिरहेको प्रदेश २ ले पनि दोस्रो चौमासिकमा खर्चको ग्राफ बढाउने नीति लिएको जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता अर्जुन न्यौपानेले पहिलो चौमासिकमा खर्च कम हुनु स्वाभाविक ठाने । ‘बजेटलाई प्रक्रियामा ल्याउन समय लाग्ने भएकाले कम खर्च भएको हो,’ उनले भने, ‘कानुनले अख्तियारी दिन बाध्यकारी बनाए पनि मन्त्रालयहरूले ठेक्कापट्टा नलगाउँदा पहिलो चौमासिकमा थोरै मात्र बजेट खर्च हुन सक्यो ।’

प्रदेश ३ को विकास बजेट खर्च ३ प्रतिशतभन्दा कम छ । तथ्यांकअनुसार २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार रुपैयाँ विकास बजेट विनियोजन गरिएको थियो । यसको २.६९ प्रतिशत अर्थात् ६१ करोड ३३ लाख रुपैयाँ मात्रै खर्च भएको छ । प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्षको पहिलो चौमासिकमा भएको खर्चलाई सन्तोषजनक रूपमा लिइएको बताए । विशेषगरी ठूला र प्रदेश गौरवका योजनाहरू टेन्डर आह्वानका क्रममा रहेको उल्लेख गरेका छन् । ‘साना विकास निर्माणका कामहरू मात्र भएका कारण खर्च कम देखिएको हो,’ उनले भने, ‘दोस्रो चौमासिकमा खर्चको अवस्थामा उल्लेख्य सुधार हुनेछ ।’

१८ अर्ब ५७ करोड ६४ लाख रुपैयाँ विकास बजेट विनियोजन गरेको प्रदेश ५ को खर्च ५.६० मात्रै छ । उसले ४ महिनामा १ अर्ब ४ करोड रुपैयाँ खर्च गरेको तथ्यांकमा उल्लेख छ । ठूला र धेरै आयोजना ठेक्का प्रक्रियामा गएको र तिनको भुक्तानी नभएकाले अंकमा बजेट खर्च कम देखिएको आर्थिक मामिला मन्त्रालयका उपसचिव एवं प्रवक्ता जनार्दन पौडेलले बताए ।

‘फिल्डमा काम त भएकै छ,’ उनले भने, ‘भुक्तानी प्रक्रियामै रहेकाले बजेट खर्च कम देखिएको हो ।’ धेरै योजनाको रकम भुक्तानी प्रक्रियामै रहेकाले दोस्रो चौमासिकमा कामको प्रतिशत बढ्ने उनले बताए । समग्रमा बजेट खर्च प्रतिशत उत्साहजनक रहेको उनको दाबी छ । पुँजीगत खर्च सबैभन्दा कम अर्थात् ०.३५ गर्ने कर्णाली प्रदेश हो । उसले २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेकामा ७ करोड ४४ लाख १४ हजार रुपैयाँ मात्रै खर्च गर्न सकेको छ । बजेट निकासामा ढिलाइ भएको र कमजोर प्रणालीका कारण खर्च गर्न नसकिरहेको सरकारी अधिकारीहरू बताउँछन् । यस प्रदेशका लागि संघले संगठन तथा व्यवस्था सर्वेक्षण (ओएनएम) गर्दा कार्यालय र कर्मचारी व्यवस्थापनमा अन्योल भएको कर्णाली प्रदेश सरकारले जनाउने गरेको छ । उसले यस कारणले पनि बजेट खर्च निकै न्यून भएको जनाउँदै आएको छ ।

१३ अर्ब ६ करोड ७१ लाख ९९ हजार रुपैयाँ विकास बजेट विनियोजन गरेको सुदूरपश्चिम प्रदेशको खर्च साढे ३ प्रतिशतमा सीमित छ । उसले ४ महिनामा ४६ करोड ४ लाख ८० हजार रुपैयाँ मात्रै बजेट खर्च गरेको छ । सुदूरपश्चिम प्रदेशका लेखा नियन्त्रक वासुदेव जोशीका अनुसार पुरानै ढर्रा, सरोकारवाला अधिकारीहरूको काम गर्ने इच्छाशक्ति नभएका कारण खर्च नभइरहेको बताउँछन् । ‘साउन र भदौमा गत वर्षकै आर्थिक विवरण तयार गर्ने परम्परा छ । दसैं–तिहारलगायतका चाडपर्वले पनि काम हुँदैनन्,’ उनले भने, ‘पूर्वाधार विकासका काममा ठेक्का लगाउने अवधि भएकाले खर्च नदेखिएको पनि हो ।’

चालु खर्च पनि ५ प्रतिशत मात्रै
पुँजीगत खर्च कम गरिरहेका प्रदेश सरकारको चालु खर्च पनि त्यति धेरै भएको देखिँदैन । तथ्यांकअनुसार सातै प्रदेशको औसतमा चालु खर्च करिब ५.७५ हाराहारीमै छ । केही प्रदेशले चालुको तुलनामा पुँजीगत खर्च बढी गर्न सफल भएका छन् । तथ्यांकअनुसार प्रदेश १ ले विनियोजन भएको बजेटको ५.४२ प्रतिशत चालु खर्च गरेको छ । उसको विकास बजेट खर्च भने ७.३८ प्रतिशत छ । ०.८३ प्रतिशत विकास बजेट खर्च गरेको प्रदेश २ को चालु खर्च भने ३.९४ मात्रै हो ।

प्रदेश ३ ले भने विकासभन्दा चालु बजेट खर्च बढी गरेको छ । चार महिनाको उसको चालु बजेट खर्च ५.७४ प्रतिशत हो । त्यस्तै गण्डकी प्रदेशले पनि विकास खर्चभन्दा चालु खर्च कम गरेको छ । गण्डकीको विनियोजित चालु खर्चमध्ये ४ महिनामा ५.३५ खर्च गरेको छ । सबैभन्दा बढी चालु खर्च गर्नेमा प्रदेश ५ परेको छ । उसले छुट्याएको चालु खर्चमध्ये ९.६२ प्रतिशत खर्च गरेको तथ्यांकमा उल्लेख छ । ०.३५ प्रतिशत विकास बजेट खर्च गरेको कर्णालीको चालु खर्च भने ३.६७ प्रतिशत छ । सुदूरपश्चिम प्रदेशले विकास बजेटको तुलनामा झन्डै दोब्बर अंकको प्रतिशतले चालु खर्च गरेको छ । जसको विकास बजेट खर्च ३.५२ हो भने चालु खर्च ६.४९ प्रतिशत हो ।

प्रकाशित : मंसिर १७, २०७६ १०:०८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मतदाता थपिए पनि मतदान गर्ने थोरै

प्रदेश ब्युरो

पोखरा — प्रतिनिधिसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र २ मा ०७४ को तुलनामा कम मतदान भएको छ । प्रारम्भिक विवरणअनुसार करिब ६३.४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

पोखरा महानगरपालिकाका ११ वटा वडा समेटिएको निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता छन्। ४५ हजार ५ सय ६३ जनाले मतदान गरेका छन्। ०७४ मा ७० हजार ६ सय ५१ मतदाता हुँदा ४९ हजार ९ सय १३ (७०.६ प्रतिशत) मत खसेको थियो। यो शनिबारको उपनिर्वाचनको भन्दा करिब ७.२ प्रतिशत बढी थियो। मतदाताहरू रोजगारी तथा अध्ययनका लागि बाहिर जानु, आफ्नो काम छाडेर मतदानमा नआउनु आदिले कम मत खसेको जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले बताए। छिटपुट बम विस्फोटका घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। ३२ मतदानस्थलमा ८२ मतदान केन्द्र तोकिएको थियो। बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा अधिकांश केन्द्र सुनसान जस्तै थिए। दिउँसोमात्रै मतदाता आउन थाले। चारवटा मतदानस्थल नजिक बम विस्फोट भए पनि कुनै क्षति र अवरोध नभएको प्रहरीले जनाएको छ।

पोखरा–३३ भरतपोखरीको बरपाण्डेथुममा मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटिएपछि केहीबेर विवाद भएर मतदान रोकिएको थियो। पछि सर्वदलीय बैठकले हस्ताक्षर नभएका मतपत्र भेटिए पनि सदर गर्ने सहमतिपछि मतदान सुचारु भएको थियो। उक्त केन्द्रबाट नेकपा उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी थिइन्।

पोखरा–३३ बाघमारास्थित सरस्वती टीका मावि, पोखरा–९ नयाँबजारको नवप्रभात मावि, पोखरा–१६ को शान्ति मावि र दीप चण्डीका मतदानस्थल नजिकै बम विस्फोटका घटना भए। कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले सामान्य विस्फोट भए पनि त्यसले चुनावमा बाधा नभएको बताए।

१० पार्टी र ११ स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा छन। उनीहरूमध्ये आठ जनाले मात्रै आफैंलाई मतदानको अवसर पाए। कांग्रेस उम्मेदवार खेमराज पौडेल ३ नम्बर क्षेत्रका स्थायी बासिन्दा भएकाले मतदान गर्न पाएनन्। समाजवादीका धर्मराज गुरुङले पोखरा–१६ र साझा पार्टीका उम्मेदवार रजनी केसीले पोखरा–४ को मतदान केन्द्रबाट मतदान गरे।

मतगणना जिल्ला समन्वय समिति कास्कीको सभाहलमा हुनेछ। सबै केन्द्रबाट मतपेटिका ल्याइएको छ। सर्वदलीय बैठकको निर्णयपछि मात्रै मतगणना थालिने सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले बताए। रवीन्द्र अधिकारीको गत फागुन १५ मा निधन भएपछि रिक्त क्षेत्रमा निर्वाचन भएको हो।

बागलुङ संवाददाताका अनुसार गण्डकी प्रदेशसभा सदस्यका लागि बागलुङ–२ (ख) मा ६१ प्रतिशत मत खसेको छ। ३५ हजार १ सय ८४ मतदातामध्ये २१ हजार ४ सयले मताधिकार प्रयोग गरेको निर्वाचन कार्यालयले जनाएको छ।

राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीको गत मंसिर २८ मा कलेजो रोगको उपचारका क्रममा मृत्यु भएपछि उक्त क्षेत्र खाली थियो। वाम गठबन्धनका तर्फबाट राजमोका खिमविक्रम शाही र कांग्रेसका जीतबहादुर शेरचन चुनावी मैदानमा छन्। ८ दल र २ स्वतन्त्र गरी १० उम्मेदवार चुनावी मैदानमा छन्। २५ मतदानस्थलमा ४५ केन्द्र राखिएको क्षेत्रमा मतदान शान्तिपूर्ण भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सबै केन्द्रका मतपेटिका इलाका प्रहरी कार्यालय बुर्तिबाङमा संकलन गरी गणनाका लागि सदरमुकाम ल्याउने तयारी भएको छ। बुर्तिबाङ सदरमुकाम बागलुङ बजारदेखि ९० किलोमिटर र निसीखोला गाउँपालिकाको भल्कोट १४२ किलोमिटर पश्चिममा पर्छन्।

बागलुङकै बडीगाड गाउँपालिका–२ मा वडाध्यक्ष पदमा पनि निर्वाचन भएको छ। वडाध्यक्ष विष्णु भुसाल जिल्ला समन्वय समितिमा उपप्रमुख भएपछि पद रिक्त भएको थियो। वडामा १ हजार ७ सय ४२ मतदातामध्ये १ हजार १ सय १५ मत अर्थात् ६५ प्रतिशत खसेको छ।

लमजुङको सुन्दरबजार–२ को वडाअध्यक्ष पदका लागि भएको निर्वाचनमा ६६.३० प्रतिशत मत खसेको छ। स्थानीय तह निर्वाचनमा ७०.२४ मत खसेको थियो। २ हजार २ सय ९७ मतदातामध्ये १ हजार ५ सय २३ ले मतदान गरेका छन्। मतपेटिका सुन्दरबजारस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छ। पूर्वी नवलपरासीको बौदीकाली–५ मा वडाध्यक्षका लागि भएको चुनावमा ७२.९ प्रतिशत मत खसेको छ। ८ सय ५३ मतदातामध्ये ६ सय १५ ले मतदान गरेका छन्। वडाध्यक्ष दलबहादुर खरु मगरको गत वर्ष निधन भएपछि वडामा चुनाव भएको हो।

धरानमा मतदान ५९ प्रतिशत

सुनसरी– धरान उपमहानगरपालिकाका प्रमुख र ७ नम्बरको वडाध्यक्षका लागि भएको चुनावमा ५९ प्रतिशत मतदान भएको छ। २८ मतदानस्थलका ९९ मतदान केन्द्रमा यसअघिको स्थानीय तहको चुनावकै हाराहारी मत खसेको हो।

०७४ को स्थानीय तह निर्वाचनमा ६७.८७ प्रतिशत मत खसेको थियो। मतदाता संख्या त्यसबेला ७९ हजार २ सय ९० थियो। यसपटकको चुनावमा १३ हजार मतदाता थपिएका छन्। धरान–१४ को विजयपुरस्थित पञ्चायत माविको मतदानस्थलमा ६७ प्रतिशत मत खसेको छ भने सबैभन्दा कम धरान–८ भोटेपुलस्थित ल्याबरोटरी माविमा ५० प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यसपटक ५४ हजार ७ सय मत खसेको छ। यसअघिको निर्वाचनमा ५३ हजार ८ सय १२ मत खसेको थियो।

मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएपछि मतपेटिकाहरू धरान–१५ को पुष्पलाल मार्गस्थित निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको र गणनाका लागि सर्वदलीय बैठक बसेर निर्णय गर्ने तयारी भएको बताए।

उत्साहपूर्ण मतदान

हेटौंडा– भरतपुर महानगरपालिकाको एउटा र खैरहनीका दुईवटा वडाहरूमा ७५ प्रतिशत हाराहारी मत खसेको छ। भरतपुर–१६ र खैरहनीको ४ र ५ नम्बर वडामा चुनाव भएको हो। चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालका अनुसार भरतपुर–१६ मा मतदान ७४ प्रतिशत हाराहारीमा भएको छ भने खैरहनी–४ मा ८० प्रतिशत र ५ मा ७९ प्रतिशत भएको छ। खैरहनीका दुईवटै वडामा पहिले कांग्रेस र भरतपुर–१६ मा साविक एमालेका प्रतिनिधिले जितेका थिए। उनीहरूको निधन भएकाले उपनिर्वाचन भएको हो।

भरतपुर–१६ मा ८ हजार ४ सय ८१ र खैरहनी–४ मा २ हजार ६ सय ९२ मतदाता छन्। कुनाघारी र हात्तीलेवटका दुई स्कुलमा तीन मतदान केन्द्र थिए। खैरहनी–५ मा मतदाता संख्या २ हजार १ सय २१ छ। तीनवटा वडामा १३ जना उम्मेदवार चुनावी मैदानमा छन्। गणनाको काम छिटै सकेर आइतबार बिहानसम्म सबै वडाको नतिजा सार्वजनिक गर्नेगरी काम भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।

काभ्रेका संवाददाताअनुसार धुलिखेल नगरपालिका–२ मा ८०.०२ प्रतिशत मत खसेको छ। १ हजार ८ सय ७७ मतदातामध्ये १ हजार ५ सय २ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत पुरुषोतम ढकालले बताए। साविक रविओपी गाविस फुटेर बनेको धुलिखेल–२ मा ९ सय ४९ महिला र ९ सय २८ पुरुष मतदाता छन्।
तत्कालीन वडाअध्यक्ष राजन कोइरालाको मृत्यु भएपछि रिक्त पदमा निर्वाचन भएको हो। नेकपाका देवप्रसाद कोइराला, कांग्रेसका दर्णबहादुर खत्री, राजपा नेपालका कृष्णबहादुर तामाङ र राप्रपा (संयुक्त) का बासु थापा उम्मेदवार छन्।

रामेछाप संवाददाताका अनुसार उमाकुण्ड गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा १ हजार ७ सय ४९ मतदातामध्ये १ हजार २ सय ७२ जना मतदानमा सहभागी भएको प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले बताइन। मतदान केन्द्रबाट मतपेटिकाहरू च्यादलुस्थित गाउँपालिकाको मुख्यालयमा ल्याई छिटै गणना थालेर नतिजा सार्वजनिक गर्नेगरी काम भइरहेको छ। उक्त वडामा एमालेबाट निर्वाचित वडाध्यक्ष कुविरबहादुर खत्रीले आत्महत्या गरेपछि रिक्त पदमा चुनाव भएको हो।

सिन्धुपाल्चोक संवाददाताका अनुसार इन्द्रावती–८ मा वडाध्यक्षका लागि मतदान उत्साहजनक रूपमा भएको छ। १ हजार ४ सय ४ मतदातामा ८३.६९ प्रतिशत मत खसेको मुख्य निर्वाचन कार्यालय नवलपुरले जनाएको छ। १ हजार १ सय ७७ जनाले मतदान गरेका छन्।

१० पद, मतदान ७५ प्रतिशत

जनकपुर– स्थानीय तहका रिक्त १० सिटका लागि शान्तिपूर्ण रूपमा सम्पन्न चुनावमा ७५ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयहरूले जनाएका छन्। महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष, सप्तरीको छिनमस्ता गाउँपालिका–७ को वडाध्यक्ष, सिरहाको कल्याणपुर–१२ को वडाध्यक्ष, महोत्तरीको बलवा गाउँपालिकाका २ र ८ का वडाध्यक्ष, मटिहानी नपा–६ को वडाध्यक्ष, सर्लाहीको हरिपूर्वा–१ वडाध्यक्ष, बाराको गढीमाई–२ वडाध्यक्ष, रौतहटको बारागढी–१ वडाध्यक्ष र पर्साको सखुवापर्सैनी–५ को वडाध्यक्षका लागि निर्वाचन भएको हो। सप्तरीको छिन्नमस्ता–७ मा ७९ प्रतिशत मत खसेको छ। १ हजार ४ सय ३ मतदातामध्ये १ हजार १ सय १४ जनाले मतदान गरेको जिल्ला निर्वाचन सप्तरी प्रमुख दिलीप यादवले बताए। सात उम्मेदवार भए पनि राजपा र समाजवादी पार्टीको गठबन्धनबाट उम्मेदवार प्रमिलादेवी यादव र नेकपाका अच्छेलाल यादवबीच नै मुख्य प्रतिस्पर्धा रहने देखिएको छ। वडाध्यक्ष प्रभाकर यादव जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएपछि रिक्त पदका लागि चुनाव भएको हो।

रौतहटको गढीमाई–२ नम्बर वडामा शनिबार सम्पन्न उपनिर्वाचनमा ८५.०२ प्रतिशत मत खसेको छ। निर्वाचनमा १० जना उम्मेदवार छन्। राजपातर्फ जितेका वडाध्यक्ष जोगिदास तत्माको ०७५ वैशाख ७ मा निधन भएपछि उक्त वडामा उपनिर्वाचन भएको हो। १ हजार ८ सय २२ मतदाता रहेको वडामा १ हजार ५ सय ४९ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सर्लाहीको हरिपुर्वा नगरपालिका–१ को वडाध्यक्षका लागि उपचुनावमा १ हजार ३ सय ५६ मतदातामध्ये १ हजार ९३ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले बताए। वडाध्यक्ष इसाक अन्सारीको क्यान्सरले गत वर्ष मृत्यु भएपछि रिक्त पदका लागि निर्वाचन भएको हो। सीके राउतको जनमत पार्टी र दुई जना स्वतन्त्रसहित सात उम्मेदवार छन्। सिरहाको कल्याणपुर–१२ को वडाअध्यक्षका लागि ७२ प्रतिशत मतदान भएको छ। २ हजार ४ सय ८० मतदातामध्ये १ हजार ४ सय ४७ महिला र १ हजार ३३ पुरुषले मतदान गरेका छन्। पर्साको सखुवापर्सैनी–५ को वडाध्यक्षका २ हजार ६ सय २ मतदातामध्ये २ हजार १ सय २८ मताधिकार प्रयोग गरेका छन्।

कपिलवस्तुमा ८३, रोल्पामा १६ प्रतिशत मतदान

बुटवल– प्रदेशमा सबैभन्दा बढी कपिलवस्तुमा ८३ प्रतिशत र सबैभन्दा कम रोल्पामा १६ प्रतिशत मत खसेको छ।
दाङमा ६६.९३ प्रतिशत मत खसेको छ। दाङ–३ (ख) को प्रदेशसभा सदस्य र घोराही–१६ को वडाध्यक्षका लागि निर्वाचन भएको हो। दाङ–३ (ख) मा ६८ हजार ७ सय १९ मतदातामध्ये ४५ हजार ७ सय १८ ले मतदान गरे। पार्टी र स्वतन्त्र गरी १४ जना उम्मेदवार छन्। प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सडक दुर्घटनामा निधन भएपछि उक्त क्षेत्रमा चुनाव भएको हो।

घोराही–१६ मा ७२.४४ प्रतिशत मत खसेको छ। ४ हजार ४ सय ५३ मतदातामध्ये ३ हजार २ सय २६ ले मताधिकार उपयोग गरेका छन्। प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार दाङ–३ (ख) को मतगणना आइतबार बिहानदेखि मात्रै हुनेछ। निर्वाचनस्थल विकट ठाउँमा भएकाले राति अबेरसम्म मतपेटिका ल्याउन समय लाग्ने भएकाले गणनाको समय तोकिएको हो।
गुल्मीको रुरु क्षेत्र–६ रिमुवामा वडाध्यक्षका लागि १ हजार ५ सय ४४ मत खसेको छ। २ हजार ४८ मतदातामध्ये ७५.३९ प्रतिशतले मतदान गरेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र पोखरेलले बताए।

अर्घाखाँचीको मालारानी–३ को वडाध्यक्षको निर्वाचनमा ३ हजार ११ मतदातामध्ये २ हजार २ सय ५० मत खसेको छ। कपिलवस्तुको शिवराज–१० को वडाध्यक्षको चुनावमा ८३.१० प्रतिशत मत खसेको छ। २ हजार ७२ मतदातामध्ये १ हजार ७ सय २२ ले मतदान गरेका हुन्। १२ जनाले उम्मेदवारी दिएका थिए।

प्यूठान–२ को वडाध्यक्षका लागि भएको निर्वाचनमा ३ हजार २१ मतदातामध्ये ६६.०३ प्रतिशतले मतदान गरेका छन्। ऐरावती–१ र २ वडाध्यक्षका लागि भएको निर्वाचनमा ६५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए। मतगणना आइतबार बिहानदेखि सुरु गर्ने निर्णय भएको छ।

प्रकाशित : मंसिर १४, २०७६ २१:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×