१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

भरतपुर विमानस्थल १० दिन बन्द

चितवन — मर्मतको काम सुरु भएकाले भरतपुर विमानस्थल आइतबारबाट बन्द भएको छ । लक्ष्यअनुसार काम सकिए मंसिर २४ गतेबाट विमानस्थल पुनःसञ्चालनमा आउने कार्यालयका सूचना अधिकारी केशव लम्सालले बताए । धावनमार्ग र विमान पार्किङ क्षेत्रमा मर्मत सुधारको काम भइरहेको छ । विसं २०१५ सालबाट सञ्चालनमा आएको भरतपुर विमानस्थलको धावनमार्ग विसं २०६१ सालमा कालोपत्रे भएको थियो ।

‘त्यसयता पूरै धावनमार्गर् माथि यो पटक कालोपत्रे थप्ने काम हुन थालेको हो । धावनमार्गमा चिरा वा साना खाल्टा पर्दा सानो मर्मत भने हुने गरेको थियो,’ लम्सालले भने । भरतपुर विमानस्थलको धावनमार्गको लम्बाइ १२ सय मिटर र चौडा ३० मिटर रहेको छ । त्यसैगरी ७० मिटर चौडा र ७० मिटर लम्बाइको विमान पार्किङ क्षेत्रलाई पनि बढाउन थालिएको छ ।


भरतपुरमा दुई वटा निजी विमान कम्पनीले भरतपुर–काठमाडौं नियमति ९ उडान र एउटा भरतपुर–पोखराको उडान गर्ने गरेका छन् । दैनिक आठ सय हाराहारीमा यात्रुहरूले सेवा लिएका छन् । नारायणगढ–मुग्लिन सडक मर्मत सुरु भएपछि विमानस्थलमा यात्रुको चाप बढेको हो ।


‘नारायणगढ–मुग्लिन सडक मर्मतका बेला कुनै दिन २४ वटासम्म उडान भए । अहिले नियमित उडान ११ वटा छन् । चार्टरसमेत गरेर १४ वटासम्म दैनिक उडानहरू हुने गरेको छ,’ लम्सालले जानकारी दिए । विमानस्थल प्रयोग गर्नेमा स्वदेशीहरू अत्याधिक छन् । विदेशीहरू १० प्रतिशतको हाराहारीमा रहेको लम्सालको भनाइ छ । चितवनमा भरतपुरबाहेक मेघौलीमा पनि हवाई मैदान छ ।

प्रकाशित : मंसिर १७, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?