१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बुद्धको कोलकत्ता उडान बन्द 

सुरज कुँवर

काठमाडौँ — निजी क्षेत्रको ठूलो वायुसेवा कम्पनी मानिने बुद्ध एयरले नाफा नभएपपछि काठमाडौंबाट दक्षिण एसियाली महानगर जोड्ने अभियान अन्तर्गत थालेको काठमाडौं–कोलकत्ता–काठमाडौं उडान बन्द गरेको छ । 

बुद्धको कोलकत्ता उडान बन्द 

६ महिनाअघि सातामा तीनदिनबाट थालिएको बुद्धको काठमाडौं–कोलकत्ता–काठमाडौं उडान सोमबार अन्तिम थियो । ‘यात्रु जेनरेट भएन,’ बुद्धका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले भने, ‘जेट विमानबाट अन्तर्राष्ट्रिय उडान जानकालागि हामीले हामीले कोलकत्ताकालागि गरेको उडान परिक्षण उडान थियो । यो उडाननै घाटामा गएकाले बुद्धले कोलकत्ता उडान बन्द गरेको छ ।’ उनले यसै उडानको अनुभवकै आधारमा आगमी दिनमा पोखराबाट जेट विमानमार्फत भारत लगायत एसियाली महानगरमा उडान गर्ने योजना पनि स्थगन भएको बताए ।

बुद्धले ६ महिना काठमाडौं–कोलकत्ता–काठमाडौं उडान गर्दा १० करोड घाटा व्यहोरेको जनाएको छ । ‘साढे ७ करोड हाराहारी अपरेशन घाटा र साढे २ करोड हाराहारी मार्केटिङ खर्च गरी १० करोड हाराहारी घाटा व्यहोर्‍यौं,’ प्रवन्ध निर्देशक बस्नेतले भने । सुरुमा सातामा तीन दिन मात्रै उडान थालेको यस एयरलायन्सले पछिल्लो एक महिना सातामा दुइ ओटा मात्रै उडान गरेको थियो । यो रुटमा एकतर्फी भाडा १० हजार रुपैयाँ थियो । यो रुटमा बुद्धले ७२ सिट क्षमताको एटीआर विमान उडाउथ्यो । ‘एउटा उडानमा कम्तीमा ५ हजार डलर (५ लाख ७३ हजार रुपैयाँ) देखि १० हजार डलर (११ लाख ४७ हजार रुपैयाँ) सम्म घाटा व्यहोर्‍यौं,’ प्रवन्ध निर्देशक बस्नेतले भने । जेठबाट उडान थालेको बुद्धले पहिलो एक/दुई महिनामै नाफा नहुने थाहापाइसेको तर, भारतको नागरिक उड्डयन कार्यालयको निर्देशन अनुसार कम्तीमा ६ महिना एउटा रुटमा जहाज उडाउनै पर्ने भएकाले मंसिरसम्म घाटा व्यहोर्दे उडान गरेको जनाएको छ ।

यद्यपि बुद्धले काठमाडौंबाट भारतको बनारस उडान भने जारी नै राख्ने जनाएको छ । कोलकत्तामा बुद्ध अघि नाफा नहुँदा निजी क्षेत्रको निकोन र कस्मिक एयरले पनि उडान बन्द गर्नुपरेको थियो । त्यसअघि नेपाल वायुसेवा निगमले पनि काठमाडौंबाट कोलकत्ता उडान गर्थ्यो । निगमले भने ठूलो जेट विमानबाट कोलकत्ता उडान गरेको थियो । अध्ययन गर्न जाने विद्यार्थी, उपचार र व्यापारकालागि चलेको यो रुटमा उडान घाटामा गएपछि बन्द गर्ने नेपालमा दर्ता भएका वायुसेवाको संख्या चार पुगेको छ । त्यसैगरी यसअघि भारतकै स्पाइस जेटले पनि यो रुटमा नाफा नभएकै कारण उडान रोकेको थियो ।

हाल भारतको सरकारी ध्वजावहाक एयर इन्डियाले भने यो रुटमा सातामा चार वटा उडान एयरबस ३१९ मार्फत गर्दै आएको छ । जेट विमानमा सवार गर्दा यो रुटमा एकतर्फी उडान समय १ घन्टा हाराहारीको हो भने बुद्धको एटीआर विमानका लागि थप २० मिनेट आवश्यक पर्थ्यो ।

प्रकाशित : मंसिर १६, २०७६ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?