कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

तीन महिनामा १ लाख ३० हजार नयाँ खाता

काठमाडौँ — सबै नेपालीको बैंक खाता अभियानअन्तर्गत तीन महिनामा १ लाख ३० हजार नयाँ खाता खुलेका छन् । सबै नागरिकसमक्ष वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले सरकारद्वारा घोषणा भएको यो अभियानअन्तर्गत गत साउनदेखि असोजसम्म २८ वटा वाणिज्य बैंकमा खाता खुलेका हुन् । 

तीन महिनामा १ लाख ३० हजार नयाँ खाता

यो तथ्यांकमा विकास बैंक र वित्त कम्पनीमा खुलेका खाता समावेश गरिएको छैन । ती वित्तीय संस्थामा खुलेका खाता पनि समावेश गर्दा अभियानअन्तर्गत खुलेका खाता संख्या साढे १ लाख बढी पुग्ने जानकारहरू बताउँछन् ।


यसरी खुलेका खातामा बैंकले कुल १ करोड ३० लाख रुपैयाँ खर्चेका छन् । अभियानअन्तर्गतका खातामा हरेक बैंकले प्रतिखाता १ सय रुपैयाँ रकम जम्मा गरिदिन्छन् । त्यही रकमबापत हाल वाणिज्य बैंकहरूले मात्र करिब सवा १ करोड खर्चेका हुन् । यस्तो खाता खोल्ने नेपाली नागरिकको यसअघि कुनै पनि बैंक तथा वित्तीय संस्थामा खाता नभएको हुनुपर्छ ।


सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सबै नागरिक समक्ष बैंक खाता पुर्‍याउने कार्यक्रम ल्याएको थियो । यो आर्थिक वर्षको सुरुआतसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले केही ज्येष्ठ नागरिकको बैंक खाता खोलेर अभियानको सुरु गरेका थिए । बैंकहरूको तथ्यांकअनुसार गत साउनमा मात्र ९८ हजार नयाँ खाता थपिएका थिए । भदौमा थप २३ हजार र असोजमा ९ हजार नयाँ खाता थपिएको छन् । साउनमा उल्लेख्य संख्यामा खाता खुले पनि भदौ र असोजमा खाता खुल्ने क्रम घटेको छ ।


२८ वाणिज्य बैंकमध्ये पनि ३ सरकारी स्वामित्वका बैंकले सबैभन्दा धेरै खाता खुलेका छन् । ‘कुल खुलेका खातामध्ये तीन सरकारी बैंकको हिस्सा करिब ५० प्रतिशतभन्दा बढी देखिन्छ,’ स्रोतले भन्यो, ‘निजी क्षेत्रका बैंकहरूले उत्साहप्रद रूपमा खाता खोलेको देखिएन ।’


‘वित्तीय क्षेत्रमा सुशासन र स्थायित्व कायम गर्दै वित्तीय पहुँच अभिवृद्धि गरिनेछ । वित्तीय साधन उत्पादनमुखी बनाइनेछ,’ यस वर्षको बजेट वक्तव्यमा घोषणा गरिएको छ, ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने नीतिलाई निरन्तरता दिँदै ठूला बैंक तथा वित्तीय संस्थाहरूसमेत एक आपसमा गाभ्न प्रोत्साहित गरिनेछ ।’

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कुल जनसंख्याको करिब ६१ प्रतिशतमा बैंक खाता पुगेको छ ।


केही वर्षयताका विभिन्न अध्ययनहरूले ४० प्रतिशत नागरिकमा मात्र वित्तीय पहुँच पुगेको निष्कर्ष निकालिरहेको बेला राष्ट्र बैंकको अध्ययनले ६०.९ प्रतिशतमा पुगेको देखाएको हो । गत एक वर्षमा बैंक तथा वित्तीय संस्थाका २ हजारभन्दा बढी शाखा थपिएका छन् । कुल ७५३ स्थानीय तहमध्ये ७४१ तहमा वाणिज्य बैंकका शाखा पुगिसकेका छन् । पछिल्ला दिनमा प्रतिबैंक शाखा जनसंख्या उल्लेख्य रूपले घट्दै गएको छ भने कुल जनसंख्याको हाराहारीमा बैंक तथा वित्तीय संस्थाको निक्षेप खाता संख्या पुग्ने अवस्थामा छ । यस पृष्ठभूमिलाई आधार मानेर राष्ट्र बैंकले वित्तीय पहुँचको स्थिति मापन गरेको जनाएको छ ।


नेपालमा वित्तीय पहुँच तीव्र रूपमा बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाको संख्यात्मक वृद्धिसँगै एकातिर शाखा विस्तार र अर्कोतर्फ वित्तीय प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दै गएकाले वित्तीय पहुँच विस्तार हुँदै गएको अध्ययनको निष्कर्ष छ । बैंक तथा वित्तीय संस्थाका प्रतिशाखा जनसंख्या करिब ३ हजार ३ सय पुगेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत असोजसम्म २ करोड ९२ लाख ६९ हजार निक्षेप खाता खुलेका छन् । गत वर्षको सोही अवधिको तुलनामा ४९ लाख बढी हो । ०७४ असोजमा भदौमा बैंक तथा वित्तीय संस्थामा निक्षेप संख्या १ करोड ४३ लाख थियो । निक्षेप खाता बढ्नुले वित्तीय पहुँच विस्तारको संकेत गर्छ । यसको अर्थ थप करिब ४९ लाखमा वित्तीय पहुँच पुग्यो भन्ने होइन ।


प्रकाशित : मंसिर १६, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?