२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

धान बेच्न रातभर जाग्राम

रूपा गहतराज

(नेपालगन्ज) — व्यापारीले भन्दा सरकारले धानको मूल्य बढी निर्धारण गरेपछि यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालयमा धान बिक्री गर्ने किसानको भीड लागेको छ । सरकारले यस वर्ष समयमै मूल्य निर्धारण गरेर खरिद सुरु गरेपछि भीड लागेको हो ।

धान बेच्न रातभर जाग्राम

निश्चित कोटा तोकेर खरिद खुला गरिएकाले धान व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ । दैनिक धान बिक्रीका लागि आउने किसानले पालो पर्खेर बसेका छन् । धान बिक्रीका लागि किसान राति १ बजेदेखि लिमिटेडअगाडि लाइन लाग्ने गरेका छन् । डुडुवा गाउँपालिका–२ नौडीगौडीका किसान फेरनराम यादवले धान बिक्रीका लागि रातिबाट लाइनमा बसेको बताए । उनले पालो छिटो पाइने आशामा बिहानैदेखि ट्र्याक्टरलाई लाइनमा राखेको सुनाए ।


ट्र्याक्टरमा धान ल्याएका किसानले दुई–तीन दिनपछि मात्र पालो पाउने गरेका छन् । ‘रातिमा लाइन बस्दा चाँडो पालो आउँछ,’ यादवले भने, ‘दुई–तीन दिन त पालो बस्दैमा बित्ने गर्छ ।’


लिमिटेडले क्विन्टलमा ३ सय रुपैयाँ मूल्य बढी दिएपछि गाउँमा धानको खरिद–बिक्री कम भएको छ । गाउँमा किसान र व्यापारीबीच फाट्टफुट्ट रूपमा खरिद–बिक्री भए पनि किसानले राम्रो मूल्य पाएपछि सीधै लिमिटेडमा ल्याएर बिक्री गरेको जानकी गाउँपालिका–२ भैयापुरका जोगलाल सुनारले बताए । अघिल्लो वर्षजस्तो यस वर्ष गाउँमा धानको खरिद–बिक्री नभएको उनले सुनाए । ‘व्यापारीलाई बेच्दा तौल सिलाइ खर्च चौकाइको पैसा काटिन्छ,’ उनले भने, ‘लिमिटेडले आफैं सबै कुरा बेहोर्छ ।’


लिमिटेडले मोटो र मध्यम किसिमको धान खरिद गरिरहेको छ । ३५ हजार क्विन्टल धान खरिदको कोटा तोकेर गत कात्तिक २७ गतेदेखि खरिद प्रक्रिया सुरु गरिएकामा हालसम्म १२ हजार २ सय क्विन्टल धान खरिद गरिएको कम्पनीका कार्यालय प्रमुख भरत खनियाँले बताए । किसानहरूले मोटो धानको २ हजार ५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यम धानको २ हजार ६ सय ७३ रुपैयाँ १६ पैसा प्रतिक्विन्टल पाउने गरेका छन् । जुन मूल्य गत वर्षको भन्दा २ सय रुपैयाँ बढी हो ।


प्रमुख खनियाँका अनुसार तोकिएको कोटाका लागि खरिद खुला गरिएपछि धान बिक्री गर्ने किसानको चाप बढ्दै गएको हो । उनले दैनिक २०/२५ ट्र्याक्टर र त्यही अनुपातमा लडियामा धान राखेर किसान आउने गरेको बताए । खाद्यले धान खरिदका लागि तोकिएको कोटा पूरा गर्न अझै पुस १५ गतेसम्म समय लाग्ने अनुमान गरिएको छ ।


सरकारले लिमिटेड नेपालगन्जलाई ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य दिएको छ । संस्थानले गत वर्ष पहिलो चरणमा २५ हजार र पछि थप १० हजार गरी ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य सरकारबाट पाएकामा ३३ हजार क्विन्टल धान खरिद भएको थियो । यस वर्ष सरकारले बजार मूल्यभन्दा बढी दिएकाले खाद्य संस्थानलाई धान खरिद गर्न सहज भएको प्रमुख खनियाँले बताए । उनले गत वर्षभन्दा यस वर्ष छिट्टै लक्ष्य पूरा हुने बताए ।


धान बिक्री गर्ने किसानको भीड देख्दा यस वर्ष लक्ष्य पुर्‍याउन धेरै समय नलाग्ने उनको भनाइ छ । ‘गत वर्ष माघसम्म खरिद गर्नुपरेको थियो,’ उनले भने, ‘यस वर्ष पुससम्मै लक्ष्य पूरा हुने देखिन्छ ।’


प्रकाशित : मंसिर १६, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?