वाणिज्य बैंक २७ मा झर्दै

काठमाडौँ — ग्लोबल आईएमई बैंकमा जनता गाभिएपछि वाणिज्य बैंकको संख्या २७ मा झरेको छ । यी दुई बैंकले मर्जरपछिको एकीकृत कारोबार सुरु गरेसँगै जनता बैंक अस्तित्वमा रहने छैन । त्यसपछि हालका २८ वाणिज्य बैंकमध्ये एउटा घट्नेछ । 

ग्लोबल र जनता बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति दिने निर्णयसँगै वाणिज्य बैंकको संख्या घट्ने निश्चित भएको हो । बुधबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले ती बैंकलाई एकीकृत कारोबारका लागि अनुमति दिने निर्णय गरेको थियो । यो निर्णयसँगै यी बैंकको मर्जर पूरा भएको छ ।


यी बैंकले मंसिर २० देखि एकीकृत कारोबार गर्ने बताइएको छ । मर्जरपछि बन्ने नयाँ बैंकको चुक्ता पुँजी करिब १९ अर्ब रुपैयाँ हुनेछ । यो हाल सञ्चालनमा रहेको सबै बैंकको पुँजीभन्दा धेरै हो । यस्तै निक्षेप करिब २ खर्ब १० अर्ब र कर्जा करिब २ खर्ब पुग्ने बैंकले स्रोतले जनाएको छ । ग्लोबल आईएमईले जनताको सय कित्ता सेयर बराबर ८५ कित्ता दिने गरी मर्जरमा सहमति गरेको हो । यो बैंकले गत असारमा मर्जरका लागि सहमति पत्रमा हस्ताक्षर (एमओयू) गरेका थिए । मर्जरपछि बैंकको नाम ग्लोबल आईएमई नै रहनेछ । सञ्चालक समितिको अध्यक्षमा हाल ग्लोबल आईएमईका अध्यक्ष ढकालले नै रहनेछन् । सञ्चालक समितिमा ग्लोबल आईएमईबाट पाँच जना र दुई जना जनता बैंकबाट रहनेछन् ।


नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी परशुराम कुँवर क्षत्रीले लिनेछन् । कुँवर जनता बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । यस्तै वरिष्ठ डेपुटी सीईओमा ग्लोबल आईएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल रहने सहमति यसअघि नै भइसकेको छ । बैंकको संख्या आधा घटाउने राष्ट्र बैंकको उद्देश्य रहेपछि सकेको छैन । यसका लागि राष्ट्र बैंकले पटकपटक गरेको प्रयासहरू सफल हुन सकेको छैन ।

यसैगरी राष्ट्र बैंकले सारथि र लघुवित्त र सत्यवती लघुवित्त वित्तीय संस्थालाई पनि मर्जरका लागि अन्तिम स्वीकृति दिने निर्णय गरेको छ ।


प्रकाशित : मंसिर १३, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?