कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

बिकेन हेटौंडा सिमेन्ट

सुवास विडारी

(मकवानपुर) — सरकारी स्वामित्वको हेटौंडा सिमेन्टको बिक्रीमा व्यापक कमी आएको छ । दैनिक करिब दस हजार बोरा सिमेन्ट उत्पादन हुने भए पनि बिक्री भने आधाभन्दा कम छ ।

बिकेन हेटौंडा सिमेन्ट

हेटौंडा सिमेन्ट हाल दैनिक चार हजार बोरा बिक्री भइरहेको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले जानकारी दिए ।


‘हामी आफ्नो लक्ष्यअनुसार सिमेन्टको उत्पादन गरिरहेका छौं । तर, बिक्रीमा कमी आइरहेको छ,’ उनले भने । उनका अनुसार हाल सिमेन्ट उद्योगमा करिब १ लाख ५० हजार बोरा सिमेन्ट र ४ लाख ५० हजार बोरा क्लिंकर बिक्री नभएर उद्योगमै थन्किएको छ ।


‘यस्तै अवस्था रहने हो भने अब उत्पादन हुने सिमेन्ट राख्न मुस्किल पर्छ,’ महाप्रबन्धक प्रेमशंकर सिंहले चालु आर्थिक वर्षमा मात्र सिमेन्टको उत्पादन बढाउन लागि दुई पटक मूल्य घटाइसकेको बताए । असोज ७ गते सिमेन्टको प्रतिबोरा बिक्री मूल्य ८२५ रुपैयाँबाट घटाएर ८ सय ४ पैसा कायम गरेको उद्योगले कात्तिक २७ गते ७४९ रुपैयाँ १२ पैसा कायम गरेको छ ।


‘हामीले बिक्री बढाउनका लागि मूल्य घटाए पनि योजनाअनुसार बिक्री भइरहेको छैन,’ उनले भने । बिक्री बढाउनका लागि स्थानीय तहको जनप्रतिनिधिहरूसँग अन्तर्क्रिया र देशभर रहेका १६२ वटा डिलरमार्फत विभिन्न विज्ञापनका कार्यहरू सञ्चालन गर्न लागेको बताए ।


‘झन्डै १ अर्ब खर्चिएर सिमेन्ट उद्योगको क्षमता विस्तार गरी उत्पादन बढाउने तयारीमा हामी अगाडि बढिरहँदा सिमेन्टको बिक्रीमा आएको कमीले समस्या भइरहेको छ ।’ सिंहका अनुसार हाल उद्योग ७० प्रतिशत मात्र क्षमतामा सञ्चालन भइरहेको छ । क्षमता विस्तार गरी दैनिक २ हजार टनसम्म सिमेन्ट उत्पादन गर्ने उद्योगको लक्ष्य छ । ‘आगामी आर्थिक वर्षबाट उद्योगले सिमेन्टको प्रतिबोरा लागत घटाउने गरी तयारी गरिरहेको छं । बजारमा आएका अन्य सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्नका लागि पनि लागत मूल्य घटाउनैपर्ने देखिन्छ ।’ सिंहले भने ।


गत आर्थिक वर्षमा वार्षिक ३० लाख बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको उद्योगले करिब २० लाख बारो सिमेन्ट उत्पादन गरेको थियो । उद्योगमा ३७० जना कर्मचारी कार्यरत छन् ।


२०३३ सालमा स्थापना भएको उद्योगले २०४८ सालबाट व्यावसायिक उत्पादन सुरु गरेको थियो । हेटौंडा नगरपालिका–९ लामसुरेमा रहेको उक्त उद्योगको निम्ति दैनिक एक हजार टन चुनढुंगाको आवश्यकता पर्छ । उद्योगको दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता छ । उद्योगले धादिङस्थित जोगीमारा, मकवानपुरको आमभन्ज्याङस्थित मजुवा, भैंसे र ओखरे खानीबाट चुनढुंगा ल्याएर सिमेन्ट उत्पादन गरिरहेको छ ।


प्रकाशित : मंसिर १३, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?