२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बैंकिङ असुरक्षा : नाफामा ध्यान, प्रविधिमा सम्झौताले जोखिम

यज्ञ बञ्जाडे

काठमाडौँ — पछिल्ला वर्षमा बैंकिङ क्षेत्रमा सेवा सञ्चालन जोखिम बढ्दो छ । प्रशिक्षणविनाका कर्मचारी र उनीहरूको बद्मासी, प्रविधि स्तरोन्नतीमा वेवास्ता, सेवा प्रवाहको प्रक्रिया र कारोबार प्रणालीमा भएको कमजोरी, नाफामा मात्रै ध्यानले बैंकिङ क्षेत्र सञ्चालन जोखिम बढेको विज्ञहरू बताउँछन् । केही समययता निरन्तर घटिरहेका बैंकिङ कसुरका घटनाले पनि सञ्चालन जोखिम बढेको पुष्टि हुन्छ ।

बैंकिङ असुरक्षा : नाफामा ध्यान, प्रविधिमा सम्झौताले जोखिम

कर्मचारी, प्रक्रिया र प्रणालीलगायत कारणबाट बैंकिङ क्षेत्रको प्रविधिमा असुरक्षा देखिएको हो । पछिल्ला २/३ वर्षयता (खासगरी पुँजी वृद्धिपछि) बैंकहरूको व्यवसाय विस्तार ह्वात्तै बढेको छ ।


यसले बैंकहरूलाई लगानी प्रतिफल बढाउन दबाब पुग्यो । यसकारण जसरी भए पनि नाफा बढाउने ध्याउन्नमा बैंकहरू लागे । यसले अस्वस्थ प्रतिस्पर्धा भई सञ्चालन जोखिम बढाएको पूर्वबैंकर ससिन जोशीले बताए । ‘२/३ वर्षदेखि नै सञ्चालन जोखिम बढ्दै आएको थियो,’ उनले भने, ‘अहिले त्यसको रिजल्ट देखिन थालेको हो । अब पनि सावधानी नअपनाए ठूलै घटना हुन सक्छ ।’


पछिल्ला महिनामा बैंकिङ क्षेत्रमा घटेका चोरीका घटनामध्ये धेरै सञ्चालन जोखिमसँगै सम्बन्धित छन् । जनता बैंक र मुक्तिनाथ विकास बैंकबाट नक्कली हस्ताक्षर गरी रकम निकालिएको छ । सोही समूहबाट प्रहरीले ज्योति विकास बैंक, एनआईसी एसिया बैंक, माछापुच्छ्रे, एभरेस्ट बैंकको चेक बुक, एटीएम कार्डसहित ठूलो संख्यामा ग्राहकका नागरिकताको फोटोकपी र फोटो पनि बरामद गरेको छ । नक्कली हस्ताक्षरमार्फत गिरोहले माथि उल्लिखितसहित १९ बैंकबाट रकम चोरीको प्रयास गरेको प्रहरीको दाबी छ । ‘बाँकी बैंकको हकमा अनुसन्धान भइरहेको छ,’ स्रोतले भन्यो ।


यस्तै करिब तीन महिनाअघि नेपाल बैंकका वरिष्ठ प्रबन्धकले करिब ६० लाख रुपैयाँ हिनामिना गरेका छन् । बैंकले यो मुद्दा प्रहरीको जिम्मा लगाएको छ । प्रहरीले अभियुक्तको खोजी गरिरहेको छ ।


कृषि विकास बैंकमा पनि यस्तै घटना भएको छ । शाखा प्रबन्धक आफैंले रकम हिनामिना गरेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ ।


सञ्चालन जोखिम बढेको कुरा राष्ट्र बैंकमा पर्ने उजुरीबाट पनि पुष्टि हुने बैंकरहरू बताउँछन् । ‘हरेक साताजस्तो राष्ट्र बैंकमा रकम हिनामिना, पदीय दुरुपयोगलगायतका थुप्रै उजुरी दर्ता हुन्छन्,’ एक बैंकरले भने ।

बैंक तथा वित्तीय संस्थाकै कमजोरीले सञ्चालन जोखिम बढेको उनले आरोप लगाए । ‘बैंकहरूमा सञ्चालक हाबी छन्, उनीहरूलाई जसरी भए पनि धेरै प्रतिफल चाहिन्छ,’ उनले भने, ‘उच्च प्रतिफलको दबाबमा व्यवस्थापनले कर्मचारी, सिस्टम सेवा सुविधाको गुणस्तरमा सम्झौता गर्न बाध्य छ । यही कारण सञ्चालन जोखिम बढ्दै गएको हो । अन्य जोखिमको तुलनामा सञ्चालन जोखिम निकै भयंकर हुन्छ । यस्तो जोखिमको असर यकिन गर्न सकिँदैन । सञ्चालन जोखिमकै कारण अन्य राष्ट्रमा केही बैंकहरू बन्द नै भएको बताउँदै उनले भने, ‘पछिल्ला घटनाक्रमले ठूलै विपतको संकेत गर्छ ।’ यस्तो समस्या न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई राम्रो तालिम तथा प्रशिक्षण दिनुपर्ने, कारोबार प्रणाली बलियो बनाउनुपर्ने, नियमनकारी निर्देशनहरू पूर्ण रूपले पालना गर्नुपर्ने उनको सुझाव छ ।


बैंकको व्यवस्थापन प्रणालीमै समस्या भएकाले सञ्चालन जोखिम बढेको चार्टर्ड एकाउन्टेन्ट अनलराज भट्टराईले बताए । ‘गएको एक/डेढ वर्षमा करिब २ हजार नयाँ शाखा खुलेका छन्, सो अवधिमा करिब २० हजार कर्मचारी भर्ना गरिएको छ,’ उनले भने, ‘ती कर्मचारीलाई जिम्मेवारी दिनुअघि बैंकले उचित प्रशिक्षण/बैंकिङ ज्ञान दिएको देखिएन ।’ धेरै कर्मचारी भर्ना गर्नुपर्दा क्षमता नभएकालाई पनि ठूलो जिम्मेवारी दिनुपर्ने अवस्था छ । यसकारण जोखिम बढेको उनको भनाइ छ । ‘बैंकबाट ग्राहकको गोप्य विवरण सार्वजनिक भएको छ, सिस्टम ह्याक गरी रकम चोरी भएको छ, कर्मचारीले रकम हिनामिना गरेको छ, यसको दोषी बैंक नै हो,’ उनले थपे । यही प्रवृत्ति निरन्तर चलिरहेमा वित्तीय क्षेत्र नै धरापमा पर्ने उनको भनाइ छ । वित्तीय क्षेत्रमा सञ्चालन जोखिम बढेको बैंकहरू पनि स्वीकार गर्छन् ।


व्यावसायिक विस्तार, आधुनिक बैंकिङको प्रयोगलगायतका कारण सञ्चालन जोखिम बढेको उनीहरूको तर्क छ । ‘सञ्चालन जोखिम ठूलै हो, बैंकहरूमा यो बढ्दो छ,’ बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘जोखिम न्यूनीकरणमा बैंकहरूको ध्यान जानु जरुरी छ ।’ सञ्चालन जोखिम धेरै कारणले बढेको स्वीकार गर्दै उनले थपे, न्यूनीकरणका लागि बैंकहरूले बेवास्ता गरेका त छैनन्, त्यसमा भएका प्रयास पर्याप्त भएन ।’


बैंक तथा वित्तीय संस्थाकै कमजोरीले वित्तीय क्षेत्रमा सञ्चालन जोखिम बढेको राष्ट्र बैंकले आरोप लगाएको छ । नियामक निकायका नीति निर्देशन प्रभावकारी रूपमा पालना नहुनु, नाफा केन्द्रित हुनु, सूचना प्रविधिमा कम लगानी हुनुलगायत कारण सञ्चालन जोखिम बढेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । ‘सञ्चालकहरूमा बैंकिङ ज्ञान भएन, उनीहरू लाभांशको पछि मात्र दौडिए,’ उनले भने, ‘नाफामुखी लगानीकर्ताको जमघटले बैंक सञ्चालन भएको छ । उनीहरूलाई लाभांशबाहेक अरू थाहा भएन । यसैको परिणाम बैंकमा रकम हिनामिनाका घटना एकपछि अर्को आइरहेका छन् ।’


बैंकका अयोग्य जनशक्ति भर्ना गर्ने, क्षमताभन्दा ठूलो जिम्मेवारी र लक्ष्य दिने, श्रम शोषण गर्ने, लक्ष्य पूरा नगरे मानसिक यातना दिनेलगायत कारण कर्मचारीबाट बद्मासी बढेको हुन सक्ने उनले आरोप लगाए । नियामक निकायको हिसाबले राष्ट्र बैंकले वित्तीय क्षेत्रमा देखिएका गतिविधि निरन्तर अवलोकन गरिरहेको र समस्या समाधानका उपायबारे छलफल भइरहेको उनले बताए । ‘हामी निकै संवेदनशील छौं,’ उनले भने, ‘जोखिम न्यूनीकरण गर्न चाल्नुपर्ने कदमबारे निरन्तर गहन रूपमै छलफल गरिरहेका छौं ।’ पछिल्ला एक वर्षमा मात्र बैंकिङ कसुरका विभिन्न घटना सार्वजनिक भएका छन् ।


प्रकाशित : मंसिर १३, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?