कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आरटीजीएस पुन: सञ्चालनमा

काठमाडौँ — पहिलो पटक कारोबार सुरु भएको साढे दुई महिनापछि रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) पुन: सञ्चालनमा आएको छ । राष्ट्र बैंकले शुक्रबारदेखि आरटीजीएस सुरु गरेको जानकारी दिएको छ । आवश्यक सबै परीक्षण र सिस्टम जडानपछि आरटीजीएसमार्फत कारोबार सुरु भएको भुक्तानी प्रणाली विभाग प्रमुख बमबहादुर मिश्रले बताए । ‘शुक्रबारदेखि कारोबार सुरु भएको हो, दुई दिनको कारोबारमा कुनै समस्या आएको छैन,’ उनले भने । 

यसअघि आवश्यक तयारी नगरी सञ्चालनमा ल्याइएकाले आरटीजीएस चल्न सकेको थिएन । त्यतिबेला पर्याप्त दक्ष कर्मचारी, आन्तरिक सफ्टवेयरसँगको मिलानलगायत आन्तरिक तयारी नगरी लागू गरेकाले सञ्चालन गर्न नसकिएको राष्ट्र बैंकले स्वीकार गरेको थियो ।


गत भदौ २९ मा औपचारिक रूपमा आरटीजीएस सुरु भएको थियो । अनौपचारिक रूपमा राष्ट्र बैंकले भदौ २६ देखि आरटीजीएस प्रणालीमार्फत कारोबार सुरु गरेको थियो । औपचारिक रूपमा उद्घाटन भएको २ दिनमै आरटीजीएसले काम गर्न सकेन र राष्ट्र बैंकले त्यसलाई बन्द गर्‍यो । अहिले त्यही प्रणाली सञ्चालनमा ल्याइएको हो ।


चेक नकाटी ठूलो रकम स्थानान्तरण गर्न सकिने, कारोबार हुनासाथ अर्को खातामा पैसा जम्मा हुनेलगायत विभिन्न सुविधासहितको कारोबार प्रणाली हो आरटीजीएस । आरटीजीएस प्रणाली बेलायत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको हो । नेपालमा डीएफआईडीले उक्त प्रणाली निर्माण गरेर राष्ट्र बैंकलाई हस्तान्तरण गरेको हो । प्राविधिक सहयोग र सफ्टवेयर आरटीजीएस प्रणाली निर्माणमा करिब १९ रुपैयाँ खर्च भएको बताइएको छ ।


आरटीजीएस एक प्रकारको आधुनिक भुक्तानी प्रणाली हो । यो प्रणालीमार्फत कारोबार गर्दा नागरिकले तत्काल रकम भुक्तानी सुविधा पाउँछन् । हाल चेकमार्फत रकम भुक्तानी गर्दा क्लियरिङ प्रक्रियामा जानुपर्ने भएकाले सामान्य अवस्थामा एकदेखि दुई दिनमा मात्र राफसाफ हुँदै आएको छ । आरटीजीएस कार्यान्वयनमा आएपछि त्यो अवस्थाबाट छुटकरा पाइनेछ । चेक नकाटेरै पनि रकम भुक्तानी गर्न सकिनेछ ।


आरटीजीएसमार्फत कारोबार गर्दा ग्राहकले आफ्नो खाता रहेको बैंकमा गएर एउटा फाराम भर्नुपर्नेछ । सोही फारामको आधारमा आफूले भुक्तानी गर्न चाहेको व्यक्तिको खातामा उत्तिबेलै रकम स्थानान्तरण हुनेछ । खासगरी ठूला कारोबारका लागि यो आरटीजीएस उपयुक्त हुने जानकारहरू बताउँछन् ।


सुरुमा राष्ट्र बैंकले २ लाखभन्दा बढी र २० लाख रुपैयाँभन्दा कम रकम भुक्तानी गर्दा आरटीजीएस वा चेक काटेर दुवै माध्यमबाट गर्न पाइने व्यवस्था गरेको थियो । २० लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्दा भने अनिवार्य रूपमा आरटीजीएसमार्फत गर्ने पर्ने बताएको थियो । सुरुको अवस्था भएकाले अर्को सूचना जारी नभएसम्मका लागि ग्राहकको इच्छाअनुसार २० लाखभन्दा बढी रकम पनि आरटीजीएस वा चेकमार्फत कारोबार गर्न सुविधा दिइएको छ ।

प्रकाशित : मंसिर ९, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?