कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

किमाथांका नाकामा तस्करको नजर

दीपेन्द्र शाक्य

संखुवासभा — असोज २७ गते पाँच किलो सुन र ३८ हजार रुपैयाँसहित भोटखोला गाउँपालिकाको च्याम्ताङबाट तोप्चेन भोटे पक्राउ परे । झोलामा सुन राखेर ल्याउँदै गर्दा उनी पक्राउ परेका थिए । सुन तस्करीको यो पहिलो घटना थिएन ।

किमाथांका नाकामा तस्करको नजर

पटकपटक ठूलो मात्रामा सुन तिब्बतबाट सदरमुकाम खाँदबारी हुँदै जिल्ला बाहिरिन्थ्यो । यो पटक भने प्रहरीलाई गतिलो सुराकी फेला पर्‍यो । प्रहरी स्रोतका अनुसार सुराकीले जिल्ला प्रहरी कार्यालयमै खबर गरेर सुन ल्याइँदै गरेको जानकारी गराएको थियो । तिब्बतबाट नेपालतर्फ सुन ल्याउँदै गरेका भोटे पक्राउ परेसँगै लामो समयदेखि यो सीमाबाट सुन तस्करी हुने गरेको खुल्यो ।


भोटेको बयानका आधारमा प्रहरीले खाँदबारी नगरपालिका–१ का जर्का भोटे र भोटखोला गाउँपालिका स्थायी घर भई खाँदबारी बस्ने छ्याङ रिन्जिन भोटेलाई पनि पक्राउ गर्‍यो । प्रहरीसँगको बयानमा भोटेले लामो समयदेखि यही नाकामा सुन ओसार्ने भरियाको काम गरिरहेको खुलाए । सदरमुकाम खाँदबारीबाट ३ दिनको पैदल दूरीमा सुनसहित भोटेलाई पक्राउ गरिएको थियो ।


च्याम्ताङ भौगोलिक रूपमा निकै विकट मानिन्छ । त्यहाँसम्म पुग्न सदरमुकाम खाँदबारीबाट कम्तीमा ३ दिन हिँड्नैपर्छ । किमाथांकाबाट चाँगा बजार पुग्न भने आधा घण्टा लाग्छ । सुन तस्करका नाइकेसम्म पुग्ने गरी अनुसन्धान थालेकाले तस्करीको जालो खुल्ने प्रहरीको दाबी छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) मीमबहादुर लामाका अनुसार भोटेले सुन सीमा कटाउनासाथ सुराकीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उत्तरी क्षेत्रमा कडाइका साथ प्रहरी परिचालन गरिएको डीएसपी लामाले बताए ।


किमाथांका पारी चाँगा र देन्दाङ सहर छन् । त्यहाँ ठूला सपिङ कम्प्लेक्स खुलिसकेका छन् । तिब्बत र नेपाली व्यापारीको लगानीमा सुन ल्याइन्छ ।


एक ठाउँबाट सुन अर्को ठाउँसम्म पुर्‍याउने जिम्मामा धेरै समूह परिचालित भएको आशंका प्रहरीको छ । चीनबाट खाँदबारी हुँदै लुकिछिपी विराटनगर, काठमाडौंलगायत सहरमा सुन तस्करी हुने गरेको प्रहरी अनुमान छ । ‘सुन तस्करीमा ठूलो समूहको संलग्नता रहेको देखिन्छ,’ डीएसपी लामाले भने, ‘यस विषयमा हामी सूक्ष्म अनुसन्धान गरिरहेका छौं ।’ यो बाटो हुँदै सुन ओसारपसार हुने हल्ला चले पनि प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको थिएन । ‘हामीले नाकाहरूमा गरेको सूक्ष्म निगरानीले बल्ल परिणाम देखिएको छ,’ भोटे पक्राउपछि उनले भने, ‘यो घटनाले अब अरू तस्करीको पनि पोल खुल्दै जानेछ ।’


भारतको जोगबनी–विराटनगर हुँदै खाँदबारीबाट किमाथांका नाका त्रिदेशीय लिंक रोडका रूपमा परिचित छ । चीनको तिब्बत निस्कने सबैभन्दा छोटो बाटो नै कोसी–ल्हासा राजमार्ग हो । तिब्बत र संखुवासभाको सीमावर्ती किमाथांका नाका खुला रहेकाले चीनतर्फ आवतजावत सहज भएको छ । जसका कारण तस्करी पनि मौलाएको छ । खाँदबारी किमाथांकाको १६२ मध्ये १४ किलोमिटर मात्र सडक निर्माण हुन बाँकी छ । अहिले हिउँद र वर्षात्को बेला हटियाको गोला अर्थात खाँदबारीबाट करिब ८२ किलोमिटरसम्म साना सवारीका साधन चल्छन् ।


नाकामा भन्सार छैन

भौगोलिक विकटता र भन्सारमा जाँच नहुँदा यस नाकामा तस्करी बढेको स्थानीयको भनाइ छ । किमाथांका भन्सार कार्यालय पनि सदरमुकामको एउटा कोठामा छ । भन्सार नहुँदा यस्ता गतिविधि मौलाएको हटियाका थुदोक भोटेले बताए । ‘प्रहरीको उपस्थिति न्यून छ,’ उनले भने, ‘त्यसको फाइदा तस्करले उठाइरहेका छन् । दरबन्दीअनुसारको प्रहरी जनशक्ति छैन ।’


पर्याप्त प्रहरी भए सुरक्षा व्यवस्था कडा हुन्थ्यो । ‘केही समयअघिसम्म वन्यजन्तुको हाडछाला यो नाका हुँदै तिब्बत लगिन्थ्यो,’ उनले भने, ‘अहिले सुन तस्करी हुन थालेको रहेछ ।’ प्रहरीले यसअघि पटकपटक यही नाकाबाट तस्करी भएको वन्यजन्तुको हाडछाला पक्राउ गरेको थियो । स्थानीय बासिन्दाले भन्सार नाकामै स्थापनाको माग गरे पनि सुनुवाइ भएको छैन ।


हेलिकप्टर प्रयोग

भोटखोला गाउँपालिका र मकालु गाउँपालिकाकामा पर्ने किमाथांका, हटिया, पावाखोला, चेपुवालाई सरकारले निषेधित क्षेत्रमा राखेको छ । यो क्षेत्रमा हेलिकप्टर उडाउँदा कति समय र के प्रयोजनका लागि हो भन्ने खुलाउनुपर्छ । तर, निजी कम्पनीका हेलिकप्टर यो क्षेत्रमा आउँदा बिरामी रेस्क्युको नाममा आउँछन् । स्थानीयले बिरामी बोक्ने नाममा अवैध धन्दा गरेको आरोप लगाउँदै आएका छन् ।


त्यसपछि प्रहरी प्रशासनले निषेधित क्षेत्रका लागि उड्ने हेलिकप्टरका लागि कडाइ गरेको छ । जिल्ला प्रहरी कार्यालयको हेलिप्याडमा अवतरण गरिसकेपछि चेकजाँच गर्ने र एक जना प्रहरी कर्मचारी राखेर उडान भर्ने गरिएको छ । यी क्षेत्रमा आउने हेलिकप्टर कम्पनीले तुम्लिङटारमा रहेको नागरिक उड्डयन कार्यालयसँग पनि सम्पर्क नगरी निषेधित क्षेत्र जाने गरेपछि प्रहरीले कडाइ गरेको हो ।


करोडौंको कारोबार

सुन तस्करको आरोपमा पक्राउ परेका खाँदबारीका जर्का भोटेको बैंक खातामा करोडौंको कारोबार भएको भेटिएको छ । स्रोतका अनुसार भोटेको बैंकको एउटा शाखामा ठूलो रकम कारोबार भएको हो । उक्त रकम भोटे पक्राउ परेपछि कारोबार भएको भेटिएको छ । पक्राउ परेका भरियाले जर्कालाई एउटा फलामे बाकसमा सामान ल्याउने र बुझाउने गरेका थिए । भोटेको बैंक खातामा करोडौं रकम कसले र किन पठायो भन्ने विषयमा अनुसन्धान थालिसकेको प्रहरीले जनाएको छ ।


पटकपटक यो नाकाबाट सुन तस्करी भए पनि सदरमुकाम खाँदबारीका सुन पसलमा भने बिक्री नभएको प्रहरी अनुसन्धानले देखाएको छ । तस्करी भएर आएको सुन जिल्ला सदरमुकाम र आसपासका बजारमा किनबेच नभएको प्रहरी स्रोतले जनायो । तस्करी भएको सुन धरान, विराटनगर र राजधानीसम्म पुग्थ्यो । तस्करले खाँदबारीसम्म मात्र सुन ल्याउन पनि हरेक गाउँपिच्छे अर्को भरियाको प्रयोग गर्ने गरेका थिए । तस्करले सुन ओसारपसार गर्न यो जिल्लालाई एउटा रुट मात्रै बनाएको खुलेको छ ।


सुन समातिएपछि बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै नाकामा कडाइ गर्ने निर्णय गरिसकेको छ । प्रमुख जिल्ला अधिकारी जीवन दुलालले सुन तस्करीमा संगठित रूपमा अपराध गर्ने गिरोह नै संलग्न भएको बताए । ‘सुन तस्करीसहित अन्य आपराधिक क्रियाकलाप रोक्न हामी सूक्ष्म अनुसन्धानमा छौं,’ उनले भने, ‘त्यस क्षेत्रमा व्यापक सुरक्षाकर्मी अहिले पनि परिचालन गरिरहेका छौं ।’ प्रशासनले छिट्टै सशस्त्र प्रहरीको युनिट पनि किमाथांकामा राख्ने योजना बनाएको छ ।

प्रकाशित : मंसिर ६, २०७६ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?