दशकपछि सिक्टाबाट सिँचाइ

मधु शाही

(बाँके) — नहरदेखि पम्प लगाएर बाँझो खेत सिँचाइ गर्न पाउँदा कोहलपुर–७ की हेमा सुनार खुसी भएकी छन् । वर्षौंदेखि पर्खाइमा रहेको सिक्टा सिँचाइ आयोजनाको पानी घरदैलोमै पुग्दा उनलाई सपनाजस्तै लागेको छ । बुधबार नहरको पानी पम्पले तानेर उनले बाँझो खेत भिजाइन् । ‘मज्जाले गहुँ छर्छु, तरकारी लगाउँछु,’ हेमाले भनिन्, ‘खडेरीले खेत सुक्दैन अब ।’

दशकपछि सिक्टाबाट सिँचाइ

सरकारले गौरवको आयोजनामा राखेको सिक्टा सिँचाइको पानी किसानको खेतसम्म पुग्न एक दशक लाग्यो । विभिन्न वहानामा निर्माणमा ढिलाइ हुनु, बनेका संरचना भत्किनुलगायत कारणले खेतसम्म पानी पुगेको थिएन । मंसिर १ गतेदेखि भने मूल नहरको एउटा शाखा सिधनियाबाट परीक्षणका रूपमा खेत सिँचाइ सुरु भएको छ ।

डुडुवा गाउँपालिका–५ रंगीताल, कोहलपुर नगरपालिका–७ को सल्यानी टोल हुँदै पश्चिम भेगका झन्डै २१ सय हेक्टर खेत सिँचाइ हुँदै छ ।


सिधनिया शाखाबाट आएको पानीले कुल पश्चिम नगरको ३४ हजार हेक्टर क्षेत्रफल सिँचाइ गर्ने क्षमता राख्छ । सल्यानीटोलका किसान ४८ वर्षे रत्नबहादुर चलाउनेले खेतमा पानी आउन थालेपछि तरकारी व्यवसाय गर्ने सोच बनाएको बताए । उनले बुधबार गहुँ बालीमा पानी सिँचाइ गरे । अरू बेला गहुँ लगाए पनि खडेरीले गर्दा उम्रिन्छ कि उम्रिँदैन निधो हुँदैनथ्यो ।


यस पटक सिक्टाको पानी खेतमै आएपछि उनी अन्न उत्पादन राम्रो हुनेमा ढुक्क छन् । ‘पानी लगाउन नपाउँदा किराले सबै बीउ खाइदिन्थ्यो,’ उनले भने, ‘अब तरकारी खेती गर्छु ।’ उनकै छिमेकी खिमराज परियारले नहरको पानी घरमै आएपछि पुस्तौंदेखि बाँझो खेत जोत्न हिम्मत जुटाए । सिँचाइ गरेर अहिले झन्डै दुई कट्ठा जग्गामा गहुँ बाली लगाउन थालेको बताए ।


‘आकाशे पानीले खेती धान्नुपर्थ्यो पहिले,’ उनले भने, ‘पानी सुविधा भएपछि बाँझो खेत खन्न सजिलो भएको छ ।’ ०६३ देखि सुरु भएको सिक्टा सिँचाइ आयोजना ०७७ सम्म सम्पन्न गर्नुपर्नेछ । मूल नहर निर्माण सम्पन्न भए पनि सिधनिया, डुडुवा, अकलघरुवा, गहुवा, पर्सनिपुर, पेडारी, चङ्गाहवा गरी सात शाखा निर्माणाधीन छन् । जसमध्ये परीक्षण सिँचाइ सुरु भएको शाखा सिधनिया हो । राप्ती नदीको पानी मोडेर बाँकेमा खेती सिँचाइ गर्न सिक्टा सिँचाइ आयोजना बनाइएको हो ।


०७३ मा पहिलो पटक सिँचाइ परीक्षण गरिएको थियो । २५ क्युमेक्स पानी छोड्दा झिझिरीको मूल नहर भत्किएको थियो । त्यसपछि ०७५ मा १५ क्युमेक्स पानी छोड्दा चङ्गाईको मूल नहरकै बाँध फुट्यो । दुईपटक नहर भत्किदा सिँचाइ प्रक्रिया रोकियो । भत्किएका बाँध मर्मत गरेर अहिले एक वर्षको अन्तरालमा शाखा नहरदेखि सिँचाइ प्रक्रिया सुरु गरिएको हो । ६ किलोमिटर क्षेत्रमा घुलनशील माटो भएको हुँदा भत्किने समस्या आएको सिक्टा सिँचाइ आयोजना प्रमुख कृष्ण नेपालले बताए । ‘अहिले जहाँ समस्या देखिएको छ, त्यहाँ सुधार गर्दै छौं,’ उनले भने ।


प्रकाशित : मंसिर ६, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?