‘गायब’ ट्यांकर रित्तो भेटियो

अजित तिवारी

धनुषा — चालक र सहचालकलाई ‘अपहरण’ गरेर गायब पारिएको ट्यांकर बुधबार बिहान धनुषामा रित्तो फेला परेको छ । २० हजार लिटर डिजेल झारेर धनुषाको रमदैयानजिक राजमार्गमा रित्तो छोडिएको ट्यांकर प्रहरीले नियन्त्रणमा लिएको छ । 

नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट डिजेल भरेर ना४ख ४१६३ नम्बरको ट्यांकर आइतबार राति १२ बजे सिरहाको लहान आइपुगेको थियो । निगमको विराटनगर डिपोमा डिजेल झार्न हिँडेको ट्यांकर लहानबाटै गायब भयो । ट्यांकरका चालक रामदेव यादव र सहचालक उमेश यादवले अपहरणकारीले ट्यांकर नियन्त्रणमा लिएको दाबी गरेका छन् ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित जनकपुर–ढल्केवर राजमार्गबाट प्रहरीले बुधबार बिहान पानै ८ बजे ट्यांकर रित्तो फेला पारेको छ । राजमार्ग छेउमा पार्किङ गरिएको ट्यांकर धनुषा प्रहरीले नियन्त्रणमा लिएर सिरहा प्रहरीलाई जिम्मा लगाएको छ । सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार रित्तो भेटिएको ट्यांकरलाई प्राविधिकको सहयोगमा जाँच भइरहेको छ । उनले ट्यांकरका चालक र सहचालकसँग पनि घटनाबारे सोधपुछ भइरहेको बताए ।

ट्यांकर राजमार्गमा पार्किङ गरिएको अवस्थामा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प नक्टाझिझबाट खटिएको टोलीले फेला पारेर जिल्ला प्रहरी कार्यालय सिरहालाई जिम्मा लगाएको सशस्त्र प्रहरी धनुषाका एसपी राजेश उप्रेतीले बताए । ढुवानीकर्ता राजेशकुमार गुप्ताले डिजेल बोकेको ट्यांकर गायब भएको लिखित उजुरी आयल निगमलाई दिएपछि छानबिन थालिएको छ । ‘यसमा चालक र सहचालकको बयान नै शंकास्पद देखिन्छ,’ सिरहाका एसपी चतुर्वेदीले कान्तिपुरसँग भने, ‘अपहरणमा पारिएको भनिएका उनीहरू बर्दिबासमा मुक्त हुँदा प्रहरीको सम्पर्कमा नगई सिधै विराटनगर पुगेको देखिन्छ ।’ ट्यांकर गायब प्रकरणलाई सिरहा प्रहरीले दुई कोणबाट अनुसन्धान थालेको छ । एउटा ट्यांकरका चालक र सहचालकबाटै भेद खुल्ने भनेर केरकार तीव्र पारिएको छ । दोस्रो आइतबार राति गायब ट्यांकर बुधबार रित्तो भेटिनु र त्यसबीचको दुई रात–दिन ट्यांकरको मुभमेन्ट भएको फुटेज संकलन गर्नु । पूर्व–पश्चिम राजमार्गको प्रदेश २ खण्डमा सबैतिर सीसी क्यामेरा जडान गरिएको छ ।

‘राजमार्गको सीसी क्यामेराले लहानबाट ट्यांकर पश्चिमतर्फ मुभ गरेको मात्र देखिन्छ,’ प्रदेश २ का प्रहरी प्रमुख डीआइजी प्रद्युम्न कार्कीले भने, ‘चालक र सहचालकले आफूहरूलाई टाटा सुमोमा राखेर लगेको भने पनि त्यो अवधिमा राजमार्गमा टाटा सुमो मुभ गरेको देखिँदैन ।’

सिरहा प्रहरीले ट्यांकरमा रहेको डिजेल खन्याएको ठाउँ खोजिरहेको छ । सिरहा प्रहरीका अधिकारीका अनुसार यति धेरै परिमाणको डिजेल ट्यांकीमा मात्र खन्याउन सम्भव रहेकाले शंकास्पद पम्पको तेलको लगत संकलन पनि भइरहेको छ ।

नेपालभन्दा भारतको विहारमा डिजेलको मूल्य बढी रहेको र पछिल्लो समय सीमावर्ती क्षेत्रबाट डिजेलको तस्करी बढेको छ । सिरहा प्रहरीले ट्यांकर नै विहार लगेर खन्याएर नेपाल ल्याएर अलपत्र छाडिएको हुन सक्ने पाटोमा पनि छानबिन भइरहेको जनाएको छ । प्रदेश २ को सबै जिल्ला भारतीय सीमासँग जोडिएको छ ।

प्रकाशित : मंसिर ५, २०७६ ०८:१९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

धान खरिद सुरु

कान्तिपुर संवाददाता

(नेपालगन्ज) — नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद प्रक्रिया सुरु गरेको छ । नेपालगन्ज कार्यालयमार्फत यस वर्ष ३० हजार टन धान खरिद गरिने लक्ष्य राखिएको छ ।

गत वर्ष कम्पनीले ३५ हजार टन धान खरिद गरेको थियो । पहिलो चरणको धान खरिद गरेपछि दोस्रो चरणमा थप धान खरिद गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणिराज खनालले बताए । ‘प्रारम्भिक चरणमा हामीले ३० हजार टन धान खरिद गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘उक्त धान खरिद गरेपछि मागका आधारमा दोस्रो चरणमा कति धान खरिद गर्ने भनेर निर्णय गर्नेछौं ।’

कम्पनीले खरिद गरेको धान कुटाएपछि चामललाई विपद् व्यवस्थापनका लागि स्टकमा राख्ने, मूल्य स्थिरीकरणका लागि बिक्री केन्द्रहरूबाट बिक्री गर्ने र दुर्गम ठाउँमा पठाउनेछ । यस वर्ष सरकारले मध्यम धानको मूल्य २ हजार ६७३ रुपैयाँ क्विन्टल र मोटा धानको मूल्य २ हजार ५८० रुपैयाँ क्विन्टल तोकेको छ । मसिनो धानको मूल्य भने खरिद केन्द्र रहेका जिल्लाका प्रजिअले आपसी सहमतिमा तोक्न सक्ने प्रमुख कार्यकारी अधिकृत खनालले बताए । नेपालगन्जमा भने मोटा र मध्यम धान मात्र खरिद गरिनेछ ।


प्रकाशित : मंसिर ५, २०७६ ०८:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×