सामाजिक जिम्मेवारीमा थोरै उद्योग

नुमा थाम्सुहाङ

काठमाडौँ — उद्योगले नाफाको निश्चित हिस्सा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) को काममा खर्च गर्नुपर्ने नियम भए पनि थोरैले मात्र यसलाई पछ्याएका छन् । गत वर्ष ११ वटा उद्योगले मात्रै सामाजिक कार्यमा खर्च गरेको विवरण उद्योग विभागमा बुझाएका हुन् । विभागले हालसम्म ८ हजार ७२ मझौला तथा ठूला उद्योग दर्ता गरेको छ ।

औद्योगिक व्यावसायिक ऐन २०७३ अनुसार सीएसआरअन्तर्गत वार्षिक १५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने उद्योगले नाफाको कम्तीमा एक प्रतिशत रकम सामाजिक कार्यका लागि छुट्याउनुपर्नेछ । ऐनअन्तर्गत बनेको नियमावली अनुसार आठ वटा सामाजिक क्षेत्रमा नाफाको अंश खर्च गर्न सकिन्छ । सीएसआरको व्यवस्था उद्योगका लागि राम्रो भए पनि उद्योगीलाई जानकारी भइनसकेको उद्योग परिसंघका कार्यवाहक अध्यक्ष विष्णु अग्रवालले बताए ।


‘यसमा केही उद्योग आइसकेका छन् तर कतिपयलाई यसबारे जानकारी नभएको पनि हुन सक्छ,’ उनले भने, ‘यो व्यवस्थाको विरोध गरेका छैनौं, हामी उद्योगीहरूका लागि यो स्वागतयोग्य छ ।’ सामाजिक कार्यमा गरिएको खर्चलाई करयोग्य आयबाट छुट गरिने व्यवस्था भए अझ राम्रो हुने उनले बताए । ‘करले यसलाई अझै मान्यता दिइसकेको छैन,’ उनले भने ।


चालु आर्थिक वर्षको वैशाख ३० गते ऐनको नियमावली कार्यान्वयनमा आएको उद्योग विभागका सूचना अधिकारी विनोदकुमार खड्काले बताए । उद्योग दर्ताको संख्याअनुसार सीएसआरमा थोरै उद्योग मात्र आएको जनाउँदै उनले भने, ‘चालु आर्थिक वर्षको अन्तिममा मात्र यसको नियमावली आएको हो । यसबारे धेरै उद्योगीहरू जानकार छैनन् । केही पहुँचमा आएका छन् ।’


उद्योगले प्रत्येक आर्थिक वर्षमा भएको कारोबारको रकम र उक्त आर्थिक वर्षका लागि पेस गरिएको सीएसआरअन्तर्गतको योजना तथा कार्यक्रमको प्रगति विवरण आर्थिक वर्ष नाघेको तीन महिनाभित्र सम्बन्धित उद्योग दर्ता गर्ने निकाय समक्ष पेस गर्नुपर्ने नियमावलीमा उल्लेख छ । सीएसआर निजी क्षेत्रका उद्योगहरूका लागि नाफामुखी मात्र नभई सेवामुखी पनि हो भन्ने चिनाउने अवसर रहेको खड्काले बताए । ‘यो उद्योगीका लागि व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गतको अनिवार्य दायित्व हो । आफ्नो व्यवसायको वार्षिक वित्तीय प्रतिवेदनमा अनिवार्य रूपमा सीएसआर कोष समावेश हुनुपर्छ,’ उनले भने, ‘यसका लागि उद्योगीले स्थानीय तहसँग समन्वय गरेर कार्य गर्नपर्छ, नियमावलीले पनि यही भन्छ ।’


प्राकृतिक प्रकोप रोकथाम तथा उद्धार, सामुदायिक स्वास्थ्य, नेपाली कला, पिछडिएका क्षेत्रमा, सामुदायिक विद्यालय तथा विश्वविद्यालयमा, प्रदूषण नियन्त्रण, सामाजिक विकृति विसंगतिविरुद्धका अभियान तथा सन्देशमूलक वृत्तचित्र निर्माण तथा प्रसारण, ग्रामीण निर्माण आयोजनालगायतमा खर्च गर्नुपर्ने नियमावलीमा भनिएको छ ।


खड्काका अनुसार कुनै उद्योगको वार्षिक नाफाको एक प्रतिशत करोडौं रुपैयाँ हुने भएकाले त्यो कुनै सामाजिक कार्यमा खर्च गर्दा ठूलो काम हुन्छ । सीएसआर अन्तर्राष्ट्रियस्तरको कानुन भएकाले उद्योगका लागि खर्चको राम्रो बाटो हो । ‘यो ऐनले उद्योगीहरूमा सकारात्मक प्रभाव छ, उद्योगहरू पनि सामाजिक कार्यमा केही गर्न चाहेका हुन्छन्,’ उनले भने, ‘यो त्यसका लागि हो र यसले सर्वसाधारणमा राम्रो छाप पनि पर्छ ।’


व्यावसायिक सामाजिक जिम्मेवारीका लागि छुट्याएको वार्षिक रकमको कम्तीमा २५ प्रतिशत रकम उद्योगबाट प्रभावित क्षेत्रमा र यसको ७५ प्रतिशत नियमावलीले तोकिएको क्षेत्रमा खर्च गर्नुपर्छ । व्यावसायिक सामाजिक जिम्मेवारीका लागि छुट्याएको रकमबाट आफ्नो उद्योगलाई प्रत्यक्ष मुनाफा हुने गरी खर्च गर्न वा कार्यक्रम सञ्चालन गर्न भने पाइँदैन ।


प्रकाशित : मंसिर ४, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?